३१ आश्विन २०७८, आईतवार

मेसिनबाट काम, भुक्तानी भने मजदुरको दररेटमा



५ भदौ, सुर्खेत । सरकारी कोषको दुरुपयोग कसरी हुन्छ भन्ने एउटा प्रतिनिधि घटना सुर्खेतमा देखिएको छ । मेसिनले गरेको काममा पनि व्यक्तिलाई भुक्तानी दिएसँगै यो तथ्य बाहिरिएको हो ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७८ का अनुसार कर्णालीमा विकास निर्माणमा काममा मेसिनको प्रयोग गरेर मजदुरले काम गरेको रकम लिने गरेको पाइएको हो । कर्णाली प्रदेश कृषि विकास कार्यालयले विभिन्‍न निर्माण उपभोक्ताहरुले आयोजनाका काममा मेसिनबाट काम गराएर मजदुरको बराबर भुक्तानी लगेका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार जिल्ला कृषि विकास कार्यालय दैलेखले दर विश्लेषण अनुसार मेसिन लगाई १ घनमिटर माटो खन्ने कार्यका लागि ६२ रुपैयाँ र मानिसबाट खन्ने कार्यका लागि प्रति घनमिटर ३१४.१५ पैसा दररेट कायम गरेको थियो ।

त्यस विपरीत कार्यालयले विभिन्‍न निर्माण उपभोक्ता समितिबाट गराई १४ हजार २४४ घनमिटर माटो तथा चट्टान खन्ने काममा भएको थियो । तर सो कामको भुक्तानी गर्दा मानिसबाट खनेको गणना गरेर प्रति घनमिटर २५२।१५ पैसाका दरले ३५ लाख ९२ हजार बढी मेसिनबाट खनेको आधारमा बिल भुक्तानी दिएको पाइएको छ ।

त्यस्तै, जिल्ला कृषि विकास कार्यालय मुगुले तीन उपभोक्ता समितिमार्फत मेसिन लगाएर मानिसबाट काम गराएको बिल ५७ लाख ३२ हजार भुक्तानी दिएको पाइएको छ ।

जुम्लामा कृषि विकास कार्यालयले मानिसबाट माटो खन्ने कार्यका लागि ४४८ प्रति घनमिटर तोकेको र मेसिनबाट काम गराउँदा पनि सोही रकमका आधारमा भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जुम्लाका विभिन्‍न कृषि आयोजनामा २५ हजार ३१ घन मिटर माटो खन्‍ने कार्यका लागि मेसिनबाट खनेर मजदुरले पाउने रु.४४८ दरले भुक्तानी रु. १ करोड १२ लाख १३ हजार भुक्तानी लगेका हुन् ।मेसिनबाट काम गर्दा प्रति घनमिटर रु.२६० दरले भुक्तानी दिने जिल्लाको दररेट रहेको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को उपनियम ९७ को (६) मा उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मुल्यांकन, बिल, भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात समुदायको बैठकबाट अनुमोदन गराई सम्बन्धित सार्वजनिक निकाय पेस गर्नु पर्ने व्यवस्था छ । तर, सो कार्यालयले त्यसो नगरेर श्रमिकबाट काम गराएको नक्कली कागजात बनाएर मेसिनबाट काम गरेको बिल भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको