२ कार्तिक २०७८, मंगलवार

अल्टिमेटम दिन गएका एमाले तेस्रो धारका नेताहरूलाई ओलीले भनेः तमासा नगर्नुस्



५ भदौं, काठमाडौं। नेकपा (एमाले)को एकता प्रक्रियामा लागेका तेस्रो धारका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् ।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिने अल्टिमेटम दिएका छन् ।

तेस्रो धारका यी नेताहरूले आउँदो बुधवारसम्म ओलीले सहमति कार्यान्वयन नगरे आफ्नो दल रोज्नेछन् । साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्यसहित माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता प्रक्रियामा रहेको छ ।

शुक्रवार महाराजञ्जमा बसेको एकता पक्षधर नेताहरूको बैठकले बुधवारसम्म ओलीले सहमति कार्यान्वयन नगरे विद्रोह हुने निष्कर्ष निकालेका हुन् । नेता घनश्याम भुसालले रातोपाटीसँगको अन्तरवार्तामा पार्टी एकता पक्षधरहरूले एमालेमा ठूलो विद्रोह हुने चेतावनी दिइसकेका छन् ।

तर अध्यक्ष ओलीले आफू निकटका नेताहरूसँग अगाडि बढिसकिएकाले १० बुँदे कार्यान्वयनको अल्टिमेटम दिएर आफू नतर्सिने बताएका छन् । तेस्रो धारका एक नेताले भने, ‘ओली इमान्दार देखिनु भएको छैन । सहमति कार्यान्वयन गर्नुपर्ने हाम्रो मागलाई उहाँले पछि नफर्कने भन्दै जवाफ दिनुभएको छ । हामीलाई आफ्नो कित्ता रोज्न स्वतन्त्र भन्दै जता लागेपनि आफूलाई फरक नपर्ने जवाफ दिनुभयो । अझ हामीलाई तमासा नगर्नुस् सम्म भन्नुभयो ।’

यदि ओलीले सहमति कार्यान्वयन गर्न इमान्दारिता नदेखाए समयमा माधव नेपालको नयाँ दलमा जाने सम्भावना पनि देखिएको छ । यसो हुँदा साविक एमालेमा २ सय ३ केन्द्रीय कमिटीमा नेकपा (एकिकृत समाजवादी) दल दर्ता प्रक्रियामा रहेका ५८ जना र तेस्रो धारका ५७ केन्द्रीय सदस्य १ सय १५ केन्द्रीय सदस्य पुग्नेछन् । जुन केन्द्रीय कमिटीको बहुमत हुन गई चुनाव चिह्न र पार्टीको आधिकारिकता आफूहरूले पाउने समेत केहि नेताको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको