३१ आश्विन २०७८, आईतवार

हृदयविदारक तस्वीर, बच्चालाई फकाउन ज्यान गुमाइसकेकी आमाको काखमा राखियो



भदौं, काठमाडौं । सामाजिक सञ्जाल सानातिना घटनालाई बाहिर ल्याउने सशक्त माध्यम बनेको छ । यही सञ्जालमा रिस, आवेग, आक्रोश हुन्छन् । अनि समवेदना पनि । सामाजिक सञ्जालका तस्वीरले कहिले पुलकित बनाउँछ । कहिले भावविह्वल ।

यस्तै तस्वीर अहिले सामाजिक सञ्जालमा निक्कै चर्चामा छ । जहाँ एक बच्चालाई आमाको काखमा राखिएको छ । त्यो पनि बच्चालाई भुलाउन देह त्याग गरेकी आमाको काखमा ।

यसो सुन्दा काल्पनिक झै लाग्ने यो तस्वीर रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका– ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाको हो । उनको काखमा भएको बालक उनकै छोरा ३२ महिने किरण बटलाको हो ।

उनीहरु बिहीबार बेलुका साढे ५ बजे राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर नेपालगञ्ज हिँडेका थिए । बिरामी छोराको उपचार गर्न । आफ्ना श्रीमानले उपचार गर्न बोलाएपछि नाबालक छोरालाई काखी च्यापेर उनी बस चढेकी थिइन ।

छोराको उपचार गर्न नेपालगञ्ज जाने तयारी गरेकी उनले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन । उनले आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिन आफन्त र छरछिमेकलाई अनुरोध गरेको बताएकी थिइन दलबहादुरलाई । तर अब कहिल्यै नआउने गरी उनी बिदा भइन् ।

मुटुको बिरामी उनमा प्रेसर हाइ र लो हुने समस्या पनि थियो । सायद यही समस्याले यात्राकै क्रममा उनले दम तोडिन ।

अहिले श्रीमान दलबहादुर भावविह्वल छन् । ३२ महिने छोराले आमा पुकारिरहेको छ ।

यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको