५ कार्तिक २०७८, शुक्रबार

चीनका धनीहरूको पैसा गरिबहरुलाई बाँडिनेः सि जिङपिङ



५ भदौं, काठमाडौं। राष्ट्रपति सि जिङपिङले चीनका धनीहरुको पैसा अब गरिबहरूलाई बाँड्ने योजना बनाएका छन्। राष्ट्रपति सि अनुचित कमाईलाई रोक्न कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि र मध्यम वर्गको विस्तार गर्न चाहन्छन् । उनले सरकारले सामाजिक निष्पक्षताको लागि धनको पुनर्वितरणका विषयमा प्रणाली बनाउन लागेको बताएका हुन् ।

फाइनान्सियल टाइम्सका अनुसार सिले धनीहरूको आम्दानीलाई सही तरिकाले विनिमय गर्न र व्यवसायीहरूलाई समाजमा अधिक योगदान गर्नको लागि प्रोत्साहित गर्नु जरुरी रहेको बताएका छन् । यसबाट देशका धनीहरूमा अतिरिक्त बोझ बढ्न गई चीन सरकारले कर र अन्य विकल्पको माध्यमबाट यो बोझ बहन गर्ने प्रयास गर्ने बताइएको छ ।

चिनियाँ राष्ट्रपति सिको बैठकमा सरकारले कर, सामाजिक सुरक्षा र वित्तिय हस्तान्तरण भुक्तानीका विषयमा काम गर्ने तय भएको बताएका छन् । यसको माध्यमबाट जनताको गुणस्तरीय शिक्षा र समावेशितामा काम गरिने उनको योजना रहेको छ ।

क्रेडिट सुइजका अनुसार चीनका एक प्रतिशत धनीहरूसँग देशको कूल सम्पत्तिको ३१ प्रतिशत सम्पत्ति रहेको छ । २ दशकअघि चिनका धनीहरूसँग देशको सम्पत्तिको २१ प्रतिशत मात्र थियो । तर पछिल्लो २ दशकमा यो १० प्रतिशतले बढेर ३१ प्रतिशत पुगेको हो । यसमाथि कोरोना महामारीले श्रमिक वर्ग, साना व्यवसायीलाई सबैभन्दा धेरै प्रभावित गरेको छ । यसबाट धनी र गरिबबीचको खाडल झनै बढेको देखिन्छ । २०१९ को तुलनामा अहिलेसम्म चीनमा धनीहरूको संख्या ५० प्रतिशतले बढेको छ ।

लगानीकर्ताहरूले सूचीकृत चिनियाँ कम्पनीबाट २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म १ ट्रिलियन डलरसम्म आफ्नो पैसा निकालिसकेका बताइएको छ । चीनका शहरमा सन् २०२० मा निम्न वर्गका जनताको आम्दानी केवल १ प्रतिशत बढेको छ । विज्ञहरूले विकासको लागि उपभोक्ता क्षेत्रमा भन्दा लगानीका क्षेत्रमा पैसा खर्च गर्नु उपयुक्त मानेका छन् । यसको लागि नयाँ वित्तिय हस्तान्तरण र सामाजिक खर्च बढाउनु आवश्यक ठानिएको छ ।

चिनियाँ अधिकारीहरूले सामाजिक उत्तरदायित्वको लागि प्रयास पहिलेभन्दा तीब्र बनाएका छन् । बेइजिङको नर्मल युनिभर्सिटीमा आर्थिक मामिलाका विशेषज्ञ ली सिका अनुसार चीनमा धनी र गरिबबीचको खाडल बढाउनमा रियलस्टेटको योगदान ७० प्रतिशत रहेको छ ।

(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको