३१ आश्विन २०७८, आईतवार

बहुदलीय व्यवस्था पुनर्स्थापना डायरीबाट


केशरसिंह माझी
५ भाद्र २०७८, शनिबार

सामन्तबादको जगमा उभिएको पञ्चायती व्यवस्थामा एक परिवारको वंश परम्परा मातहत राज्यको सम्पूर्ण शासन प्रशासन सञ्चालन भइरहेको अवस्था थियो । पञ्चायती व्यवस्थामा शाहवंशिय राजपरिवार र व्यवस्थाको गुनगान गाउनु पर्ने बाहेक अन्य कुनै पनि काम कुराहरूमा स्वतन्त्रतापूर्वक लेख्ने, बोल्ने, प्रदर्शन गर्ने, सभा समारोह गर्ने आदि छुट थिएन । यस्ता केही काम कुराहरू गर्नु परेमा स्थानीय प्रहरी प्रशासनको पूर्व स्वीकृती लिनु पर्दथ्यो अर्थात् एक प्रकारको सेन्सर प्रणाली केन्द्रदेखि स्थानिय तहसम्म अनिवार्य थियो । यदि सो अनुसार कोही कसैले नगरेमा प्रहरी प्रशासनको दृष्टिमा त्यस्तो कृयाकलापलाई ‘अराष्ट्रीय तत्व’ भनेर शान्ति सुरक्षा ऐन अन्तर्गत ९ महिना सम्मको जेल सजाय हुने गर्दथ्यो ।

‘सबै नेपाली पञ्च,सबै पञ्च नेपाली’ राजाको घोषणा भएपछि त्यही दायरामा रहेर देखावटी रूपमा भएपनि सबैले ‘पञ्चायती व्यवस्थाः अमर रहोस’ भन्नै पर्ने र ‘राजपरिवारको जय जयकार’ गर्नै पर्ने बाध्यता थियो । यस्तो वातावरणमा दलीय व्यवस्थाप्रति आस्था,विचार र भावना राख्नेहरुका लागि उकुसमुकुस भैरहेको थियो । यही उकुस मुकुसको वातावरणका बीच बीचमा साना तिना जुलुस र आन्दोलनहरू भैरहे पनि २०३५/३६ को बिद्यार्थी आन्दोलनले जन जागरणको उद्घोष गरेको थियो र त्यो आन्दोलनले राजा वीरेन्द्र २०३६ सालमा जनमत संग्रह गराउन बाध्य भएका थिए ।

‘सबै नेपाली पञ्च,सबै पञ्च नेपाली’ राजाको घोषणा भएपछि त्यही दायरामा रहेर देखावटी रूपमा भएपनि सबैले ‘पञ्चायती व्यवस्थाः अमर रहोस’ भन्नै पर्ने र ‘राजपरिवारको जय जयकार’ गर्नै पर्ने बाध्यता थियो । यस्तो वातावरणमा दलीय व्यवस्थाप्रति आस्था,विचार र भावना राख्नेहरुका लागि उकुसमुकुस भैरहेको थियो । यही उकुस मुकुसको वातावरणका बीच बीचमा साना तिना जुलुस र आन्दोलनहरू भैरहे पनि २०३५/३६ को बिद्यार्थी आन्दोलनले जन जागरणको उद्घोष गरेको थियो र त्यो आन्दोलनले राजा वीरेन्द्र २०३६ सालमा जनमत संग्रह गराउन बाध्य भएका थिए । जनमत संग्रहमा ‘बहुदलीय व्यवस्था कि ? सुधारिएको निर्दलीय पञ्चायती व्यवस्था ?’ भन्ने दुइ प्रश्नमा जनमत संग्रह गराइएको थियो । सो जनमत संग्रहमा बहुदलीय व्यवस्थाका पक्षमा व्यापक जनसहभागिता र मतदान भएपनि सरकारी पक्षको संलग्नतामा निर्बाचन परिणाममा व्यापक धाँधली गराइ बहुदलिय व्यवस्थालार्इ हराइएको घोषणा गरी सुधारिएको निर्दलिय पञ्चायती व्यवस्था जिताएर पञ्चायत इतर राजनींति गर्न दलहरूमाथि पुनःप्रतिबन्ध लगाइयो र नेताहरू माथि धरपकड अभियान सुरु गरियो। कैयौं नेता कार्यकर्ताहरू बिना कारण जेलमा कोचिए, कैयौं भारत प्रवासमा निर्वासनमा गए । तर पनि राजनीतिक दलहरूका कृयाकलापहरू भुमिगत रूपमा सञ्चालन भइरहे ।

यिनै र यस्तै उतार र चढावका बीच नेपाली काँग्रेसको अगुवाइमा २०४६ फागुन ५ गतेका दिन नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको घरमा भएको भेलामा पञ्चायत इतर बिचारधाराका नेताहरूको भेलालार्इ पञ्चायती सरकारले जति प्रयास गरेपनि रोक्न सकेन । सो भेलामा भारतीय राजनेताहरू चन्द्रशेखर, सुब्रह्मण्यम् स्वामी, नेपाली नेताहरू गणेशमान सिंह, मनमोहन अधिकारी, सहाना प्रधान लगायतले फागुन ७ गतेदेखि सत्याग्रह आन्दोलन थाल्ने उद्घोष गरे ।

२०४६ फागुन ७ गते थालिएको आन्दोलन सुरु भएपछि सरकारले पञ्चायत इतर बिचारधारा भएका नेता कार्यकर्ताहरूलार्इ देशव्यापी रूपमा धरपकड गरी जेल भर्ने र यातना दिने काम चरम उत्कर्षमा पुग्यो । यो पंक्तिकार त्यतिखेर स्थानीय प्रशासनिक निकायको एउटा सरकारी जागिरेका रूपमा दैलेख जिल्लामा कार्यरत रहेको र नेताहरूको धरपकडको सामान्य जानकारी राख्ने निकायमा कार्यरत रहँदा नजिकबाट बुझ्न केही सहयोग भयो ।

त्यसबेला सम्झना भए अनुसार दैलेख जिल्लामा खुला रूपमा पञ्चायत व्यवस्था बिरोधीका रुपमा चिनिएका बिनोद कुमार शाह, लक्ष्मी प्रसाद पोखरेल, शिवराज जोशी, रंगनाथ जोशी, हर्कबहादुर शाही, गणेश बहादुर खड्का, रंग वहादुर शाही, हिमबहादुर शाही, सुर्य वहादुर शाही र विद्यार्थी नेताहरुमा गोबिन्द कोइराला ‘बन्दी’ (व्यवस्था बिरोधी गतिबिधिमा लागेको आरोपमा प्रायः जेलमा परिरहने कारणले बन्दी उपनाम राखेका) प्रमुख पात्रहरू गिरफ्तारीमा परेका थिए । गोबिन्द कोइरालाले जेलमा नै रहेको बेला राजबन्दीहरूलार्इ बिनाशर्त रिहाइ गरियोस् भन्ने समेतको माग राखी अनिश्चितकालिन आमरण अनसन सुरु गरेको हुँदा उनलाई त्यत्तिकै छोड्न पनि नमिल्ने, मर्न पनि नदिने र बचाउन पनि गाह्रो आदि समस्याले प्रहरी प्रशासनको टाउको दुःखाइको विषय बन्न पुगेको थियो ।

सरकार नियन्त्रित रेडियो नेपाल र गोरखापत्रबाट सत्यतथ्य समाचारको प्रशारण र प्रकाशन हुँदैनथ्यो र त्यस्तो खबर थाह पाउनका लागि अल इन्डिया रेडियो र बिबिसी न्युज सुन्नका लागि पर्खिनु पर्दथ्यो । मलाइ अझै याद छ चैत्र २४ गते राती ८:१५ बजे बिबिसी हिन्दी सेवा तत्काल ख्यातिप्राप्त पत्रकार स्व. रत्नाकर भारतीले विश्व समाचारमा प्रमुख समाचारको हेड लाइनमा भनेको ‘नेपाल कि राजनींति मे अब तक खिचडी पक रही थी,आज से उवाल आ गया ।’ यो बाक्य म जस्ता तमाम नेपाली नागरिकले सुन्दा अब त पञ्चायत शासन ढल्छ कि ? भन्ने अनुमान गर्न पुगेका थियौं ।

यसै बीच काठमाडौंमा चैत्र २४ गते भएको आन्दोलनले उग्ररुप धारण गर्‍यो । पञ्चायती सरकारले दमनको नीति लियो, आन्दोलनकारीहरू माथि अन्धाधुन्ध गोली वर्षा गर्‍यो । धेरै मानिसहरू गोलीका सिकार भए १९/२० जनाको सहादत भयो, सयौं मानिसहरू घाइते र अपाङ्ग बने । सो कारणले आन्दोलन अझैं उत्कर्षमा पुग्यो । त्यसबेला नेपालमा के कस्तो आन्दोलन भैरहेको छ भन्नेकुरा अहिले जस्तो तुरुन्त थाह हुँदैनथ्यो । सरकार नियन्त्रित रेडियो नेपाल र गोरखापत्रबाट सत्यतथ्य समाचारको प्रशारण र प्रकाशन हुँदैनथ्यो र त्यस्तो खबर थाह पाउनका लागि अल इन्डिया रेडियो र बिबिसी न्युज सुन्नका लागि पर्खिनु पर्दथ्यो । मलाइ अझै याद छ चैत्र २४ गते राती ८:१५ बजे बिबिसी हिन्दी सेवा तत्काल ख्यातिप्राप्त पत्रकार स्व. रत्नाकर भारतीले विश्व समाचारमा प्रमुख समाचारको हेड लाइनमा भनेको ‘नेपाल कि राजनींति मे अब तक खिचडी पक रही थी,आज से उवाल आ गया ।’ यो बाक्य म जस्ता तमाम नेपाली नागरिकले सुन्दा अब त पञ्चायत शासन ढल्छ कि ? भन्ने अनुमान गर्न पुगेका थियौं । बाहिर जिल्लाहरूमा आन्दोलनकारीहरू जेलमा परेकाले प्रदर्शन गर्न नदिन प्रहरी प्रशासनको सकृयता जारी थियो । यसो हुँदै गर्दा चैत्र २६ गते काठमाडौंमा भएको जनआन्दोलन अझै उत्कर्षमा पुग्यो, मान्छे मारिए । अन्ततः सोही दिनको राती ११ बजे तत्कालिन राजा वीरेन्द्र नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरि बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भए ।

इतिहासको अविस्मरणिय घटनाको रूपमा दरिएको २०४६ साल चैत्र २६ गतेको यो घोषणा नेपालमा ३० बर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई राजनीतिक व्यवस्था नै परिवर्तन भएको एउटा महत्वपूर्ण दिनको रूपमा सबैको स्मरणमा रहन पुगेको छ ।

बहुदलीय व्यवस्था घोषणा भएपछिः
जसरी पिंजरामा थुनिएको चरा पिंजराको ढोका खोली बाहिर पठाउन खोज्दा बाहिरी संसार हेर्न खोज्दा अलमल परेको भान हुन्छ त्यसरी नै सुरुका दिनमा फेरि पनि केही भैहाल्छ कि ? भन्ने आशंका र मनमा उत्साह पाल्दै पंखफुक्काको दोधार जस्तै अवस्था हुँदाहुँदै पनि सदरमुकामदेखि गाउँ गाउँमा ‘लौ, बहुदल आयो है’ भनेर अहिलेको जस्तो ल्याण्डलाइन टेलिफोन, मोबाइल, एफ.एम., रेडियो, टेलिभिजन, पत्र पत्रिका र यातायातको सुविधा जस्ता आमसञ्चार लगायतका सवारी साधनहरू नभएको बेला मानिसहरूबाट नै हल्लाखल्ला भनौँ या प्रचार प्रसार गर्ने क्रम अभियानको रूपमा चल्यो । प्रायः जसो प्रत्येक गाउँ गाउँबाट क्याम्पसमा पढिरहेका विद्यार्थीहरू प्रचार प्रसार गर्न अग्रस्थानमा रहे । त्यसबेला प्रतिबन्धित अवस्थामा रहेका दलका सीमित नेताहरू आ–आफ्नो दलमा कार्यकर्ता बनाउनेदेखि गाउँ बजारमा अवीर जात्रा र आम सभाहरू गर्न व्यस्त रहे ।

भाषणकलाको विकास र रोचकताः
त्यसबेलासम्म नेपालमा भाषणकलाको बिकास भइसकेको थिएन । उच्च ओहदाका पञ्चहरू विशेष समारोहमा भाषण गर्ने, राजा, राजपरिवार र पञ्चायती व्यवस्थाको गुनगान गाउने, दलीय भावना बिचार भएकाहरूलार्इ मुठ्ठीभरका बिदेशी दलाल भन्दै सत्तोसराप र दमन गर्ने आदि जस्ता कुराहरू भाषणमा सुनेर ताली बजाउनु पर्ने हुन्थ्यो । यसरी भाषण सुन्दापनि को कस्ले के भन्छ ?, समर्थन र बिरोध गर्नेहरुले के कस्तो रवैया वा प्रतिकृया जनाए ?, को मानिसको संगत को को सित हुन्छ ? कता कता जान्छन् ? के खान्छन्,के के कुराकानीहरू हुन्छन ? लवाइखुवाइ रहनसहन, कपाल दाह्री पालेको र फालेको आदि जस्ता कुराहरू बारे हरेक कुराहरूको नोट टिपोट र प्रशासनिक गुप्तचरी हुन्थ्यो । साँच्चै भनौं भने त्यसबेलाको समाज राज्य नियन्त्रीत भएको आभाष हुन्थ्यो ।

बहुदल आएपछि गाउँगाउँमा नेतृत्व विकास भइसकेको थिएन, सीमित व्यक्तिहरूका सीमित शब्दावली सहितका भाषणहरू सुन्नु पर्ने हुन्थ्यो । यो पंक्तिकार पनि प्रशासनिक फाँटमा रहेर नोट टिपोट जस्ता कृयाकलापहरूमा व्यस्त रहनु पर्ने त्यसबेलाको परिवेश र कर्तव्यले गर्दा कुन पदको पञ्चले के कुरा भाषणमा फलाक्ने हो भन्ने बारे पहिलेदेखि नै त्यसैपनि थाह हुन्थ्यो र त्यस्तो टिपोट करिव करिव पहिले नै तयार गरी सकिन्थ्यो । हो, त्यस्तो पूर्व टिपोट र भाषणकर्ताले बोलेको विषयवस्तु ठ्याक्कै मिलेको देखेर, सुनेर नजिकका साथीहरू पनि छक्क पर्ने अवस्था थियो । तर वहुदल घोषणा भएपछि उनिहरूमा मनोवल थिएन । बोल्ने पनि विषयवस्तु नै थिएन र करिव करीव भुमिगत अवस्था जस्तोमा पञ्चहरुको अवस्था थियो ।

बहुदलिय व्यवस्थाको प्रचार प्रसार गाउँतहसम्म पुग्यो, भाषण गर्न जानी नजानी सबै उत्साहित हुने वातावरण बन्दै गयो । गाउँ समाजमा पढे लेखेका मानिसहरू औँलामा गन्न सकिन्थ्यो । गाउँ घरमा पर्याप्त विद्यालयहरू थिएनन्, हाइ स्कुलहरू जिल्ला मै १–२ ठाउँमा मात्र थिए । पढ्न चाहने बिद्यार्थीहरू घर बाहिर गएर अन्य जिल्लामा पढ्न जान त्यति सहज थिएन ।

गाउँ समाज रुढिगत बिचारधारा अन्धविश्वास, परम्परावादी सोचले ग्रस्त थियो । पढेर के गर्ने ? खेतिपाती कसले लगाइ दिने ? पढाइ खर्च कहाँबाट जुटाउने ? भन्ने चिन्तामा अभिभावकह? हुन्थे । बजार व्यवस्था र क्रय बिक्रयका आधारहरू नहुँदा आय श्रोतको अभाव हुन्थ्यो । यातायातको असुविधाका साथै रकमको अभावले समयमा औषधोपचार गर्न नसकेर सयौँ मानिसहरूले अकालमा मृत्युवरण गर्नु पर्दथ्यो । यस्तो भयावह अवस्था बिद्यमान रहेका बेला वहुदलीय व्यवस्थाको पुनस्थापना भएपछि गाउँ ठाउँमा हुने आमसभा र कोण सभाहरूमा व्यापक जनसहभागिता उर्लेको देखेपछि जनतामा एक प्रकारको जागरण र उत्साह आएको भान हुन्थ्यो ।

भाषण गर्नेहरूले शब्दको अर्थ नजान्दाः
बहुदल आएपछि हरेक भाषणकर्ताहरू मध्य पढे लेखेकाहरूले नयाँ नयाँ शब्दहरू जस्तै जन आन्दोलनका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली, जनताको माग, अपेक्षा र उपेक्षा आदि जस्ता शब्दहरू प्रयोग गर्दथे । भाषणमा प्रयुक्त यस्ता शब्दहरूको प्रयोग जान्नेहरूले सही तरिकाले गर्ने नै भए, तर भाषण सुन्ने एकोहोरा ठालुहरूलाई यी शब्दहरुको अर्थ के हो ? भन्ने भेउ नपाएर आफुले भाषण गर्ने पालोमा जान्नेहरूले भाषणमा प्रयोग गरेका शब्दहरू टिपेर आफ्नो भाषणमा अन्धाधुन्ध प्रयोग गरिदिन्थे । त्यो सुनेपछि श्रोताहरूको हाँसोको फोहरा छुट्दथ्यो ।

शब्दको अर्थ नबुझ्ने केही भाषणकर्ता त्यसबेलाका ठालुहरू ‘हार्दिक श्रद्धाञ्जली’ शब्दलाई ‘स्वागत’ को अर्थमा बुझ्दा रहेछन भन्ने कुरा यस पंक्तिकारले कैयौं आम सभाहरूमा आफैले देखेको र सुनेको हो । जस्तै जान्नेले ‘जन आन्दोलनमा प्राणाहुति गर्ने महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली र सभामा उपस्थित भएर शोभा बढाइ दिनु हुने आमावुवा, दाजुभाइ, दिदीबहिनी सबैलाई स्वागत छ’ भनेको सुनेपछि भाषणमा शब्दको अर्थ नजान्ने अर्को ठालुले भाषणको नक्कल गर्न खोज्दा ‘यस सभामा उपस्थित भई शोभा बढाउनु हुने यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जलीं’ भनिदिन्थे ।

उदाहरणका लागि कुनै एकजना पढेलेखेको मानिसले सुरुको सम्बोधनपछि जन आन्दोलनमा प्राणाहुति गर्ने ‘शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली’ भन्यो भने आमसभामा परर ताली पिटेर समर्थन जनाउँथे गर्दथे । तर त्यही शब्दको अर्थ नबुझ्ने केही भाषणकर्ता त्यसबेलाका ठालुहरू ‘हार्दिक श्रद्धाञ्जली’ शब्दलाई ‘स्वागत’ को अर्थमा बुझ्दा रहेछन भन्ने कुरा यस पंक्तिकारले कैयौं आम सभाहरूमा आफैले देखेको र सुनेको हो । जस्तै जान्नेले ‘जन आन्दोलनमा प्राणाहुति गर्ने महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली र सभामा उपस्थित भएर शोभा बढाइ दिनु हुने आमावुवा, दाजुभाइ, दिदीबहिनी सबैलाई स्वागत छ’ भनेको सुनेपछि भाषणमा शब्दको अर्थ नजान्ने अर्को ठालुले भाषणको नक्कल गर्न खोज्दा ‘यस सभामा उपस्थित भई शोभा बढाउनु हुने यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जलीं’ भनिदिन्थे । त्यसैगरी जान्ने बक्ताले ूजनताबाट आन्दोलनको सफलताका लागि अपेक्षा गरिन्छ’ भनेर कसैले बोल्यो भने अर्थ नजान्ने ठालु त्यो शब्दको प्रयोग कहाँ र कसरी गरिन्छ ? र अर्थ के हो ? भन्ने थाहै नपाइ ‘आन्दोलनको सफलताका लागि आदरणिय जन समुदायको उपेक्षा गरेको छु’ भनेर दन्काइ दिन्थे । यस्तो सुनेपछि श्रोताहरू कोही हाँस्थे, कोही गाली गर्दथे । तर पनि ताली बजाइ दिन्थे ।

यसरी, नेपालमा ३० बर्षे पञ्चायती शासनपछि बहुदलीय व्यवस्थाको पुनस्थापनापछि शासकीय स्वरुपमा आएको परिवर्तन अन्धा र हात्तीको भेटघाट जस्तै बन्न पुगेको आभाष हुन्थ्यो । जनताका आशा, अपेक्षा, चाहना र मनोकाञ्क्षाहरू एकै चोटी ह्वात्त बढेपछि सरकारका निकायहरूले परिपुर्ति गर्न निकै चुनौतिपूर्ण थियो । बदलिंदो परिवेश अनुकुलको संबिधान निर्माणका लागि आयोग बनेर देशभरीबाट सुझाव संकलन हुने क्रम चलेको बेला थियो । यसबेला मुल कानुन निष्कृय रहेको संक्रमणकालिन अवस्थामा जनचाहना पुरा गर्नका लागि प्रशासनिक निकाय सक्षम हुन सकेका थिएनन्, सामाजिक सुरक्षाको संवेदनशील अवस्था थियो । भएका सरकारी निकायहरूले सदरमुकाम बाहिर सेवा दिन असमर्थ जस्तै थिए । यस्तो बेला भर्खर जसो गठन भएका राजनीतिक पार्टीहरू, गैर सरकारी संस्थाहरू, शैक्षिक निकायहरू र विद्यार्थीहरूको भुमिका महत्वपुर्ण रह्यो । जागरण अभियानमा उनिहरू गाउँ, सहर, बजारमा स्वयम्सेवक बनेर वहुदलीय व्यवस्था स्थापना र संचालनमा महत्वपूर्ण र उल्लेखनिय भुमिका रहेको कुरामा अन्यथा अर्थ लगाउनु अन्याय हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको