२ कार्तिक २०७८, मंगलवार

प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्थानीयले सडकमै रोपे धान




४ भदौं डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका स्थानीयले सडकमा धान रोपेका छन् । सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै स्थानीयले विरोधस्वरूप सडकमै धान रोपेका हुन् ।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेको स्थानीय युवा सुरत तमोलीले बताए ।

उनकाअनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाब स्वरुप धान रोपिएको हो । ‘नेता सुते धान उठे, बन्दैन सडक फल्दैछ बास्मती’ भन्ने नाराका साथ उनीहरूले विरोध स्वरुप सडकमा धान रोपेका हुन् ।

धान रोप्ने समयमा स्थानीय महिलाले फागसमेत गाएका थिए । भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुईपटक आह्वान गरेको बोलपत्र स्थगित गरिसकेको छ ।

बजेट विनियोजन भई टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेका थिए । डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दुर्घटनाको उच्च जोखिम उच्च छ ।

सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा दैनिकजसो जाम लाग्ने गरेको छ। जसका कारण हिँडडुल गर्न समस्या हुने स्थानीय बताउँछन् । सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो ।

सडक विस्तारका लागि टेण्डरसमेत भइसकेको अवस्थामा बागबजारका केही व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्दा दायर गरेका थिए । (न्युज कारखाना)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको