३ कार्तिक २०७८, बुधबार

ओली कम्युनिस्ट आन्दोलनको सत्यानासको लागि कसम खाएर लागेः झाँक्री



४ भदौ, काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनको सत्यानासको लागि कसम खाएर लागेको भनी आरोप लगाएकी छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा कुरा गर्दै झाँकीले भनिन्, ‘ओलीले नेकपा (एमाले)लाई पहिल्यै विघठन गर्नुभयो, नेकपा बनाउनु भयो त्यसपछि आफ्ना उद्देश्य अनुसारका केही मान्छेहरूलाई प्रधानमन्त्री, राष्ट्रपतिदेखि राजकिय अंगहरूलाई भर्तिकेन्द्र बनाउने बाहेक मूलतः कम्युनिष्ट वा वामपन्थीले गर्नुपर्ने न्यूनतम कार्यभार पनि पुरा गर्नु भएन ।’

नेतृ झाँक्रीले थप भनिन्, ‘पार्टीको घोषणा पत्र एकातिर छ, उहाँ अर्का खाले काम गर्दै जानु भयो । उहाँले हावादारी स्रोत नहुने खालका गफहरू लाउदै जानु भयो । जुन कुराले जनताका आकांक्षाहरू बेलुनजस्तै फुलिँदै अन्ततः फुटे । पानी जहाज, रेल, घरघरमा पाइपबाट ग्याँस जडान, प्रतिवर्ष १० हजार मेगावाट विजुली उत्पादन र निर्यात जस्ता गफहरू थिए । हेर्दा सुन्दर थिए तर ती आधारभूत हिसावले गर्न नसकिने काम थिए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा न्यूनतम रूपमा गर्नु पर्ने काम गर्नु भएन ।’ उनले आजको फाइनान्सियल क्यापिटालिज्मभित्र हामीले बामपन्थको आभाष दिने खालका गर्नुपर्ने कामहरू थिए त्यो केहि काम ओलीले नगरेको बताएकी छन् ।

झाँक्रीले मुलुक र समाजको एउटा सवल वामपन्थी पार्टी आवश्यकता जे थियो त्यसलाई ओलीले धरासायी बनाएको बताइन । उनले भनिन्, ‘यतिसम्म कि लगभग नेपाली समाजका टे«डिङ विजनेशमा लागेका ३ सय जति मान्छेहरू पार्टीमा प्रवेश गराउनु भयो । त्यसले गर्दा यो पार्टीले कसको चरित्रलाई बोकेको छ भन्ने प्रश्न उठ्दै थियो । कानुन संशोधन गरेर भूमाफिया र दलालहरूको पक्षमा उहाँले काम गर्दै जानुभयो । सुकुम्बासी आयोग आफ्ना मान्छेहरूको भर्तिकेन्द्र र केही जग्गाका विचौलियाहरूलाई जग्गा बाँड्ने तरिकाका लागि गरिरहनु भएको थियो ।’

ओलीका गरेका यी जम्मै कामले यो बामपन्थी पार्टी रहेन, बामपन्थी पार्टी बनाउनु पर्दछ भनेर आफूहरू लगातार यसका विरुद्ध लडेको नेतृ झाँक्रीले बताइन । उनले भनिन्, ‘तर ओलीले पार्टीभित्र न्यूनतम लोकतान्त्रिक वातावरण नबनाउने, आफू अल्पमतमा पर्दा बैठक नै नबस्ने पार्टी, विभाजित गर्ने संसद विघठन गर्ने, सरकारलाई सहि ढंगले सञ्चालन गर्न नसक्ने, ६ प्रदेशमा भएको बामपन्थी सरकारलाई विघठनको बाटोमा लिने, संविधानलाई तोडमोड गर्ने जस्ता हर्कतका कारण मुलुकको राष्ट्रियता, व्यवस्था र संविधानको रक्षाका लागि एउटा सवल बामपन्थी आन्दोलनका लागि हामी एमालेभित्र लड्नु पर्दछ भन्ने हाम्रो भनाई थियो । फाल्गनु २८ गते पछि हामीलाई लगायत १ दर्जनभन्दा बढि पटक कारवाही गर्नु भयो । हाम्रा लागि अन्तरसंघर्ष गर्ने ढोका नै बन्द गरियो । कार्यदलको १० बुँदे सम्झौंता पछि पनि अध्यक्ष ओलीले अब एकताको ढोका बन्द भयो भनी घोषणा गर्नु भयो । अन्ततः हामीले नयाँ पार्टी बनाई बामपन्थी आन्दोलनलाई नयाँ दिशा दिने निक्र्यौंल गर्यौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको