३१ आश्विन २०७८, आईतवार

माधव नेपालनिकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त



४ भदौ, काठमाडौं । सरकारले नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकट निरन्जन झालाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बिहीबार झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा रेल्वे कम्पनीको महाप्रबन्धकमा भट्टराईलाई नियुक्त गरेका थिए ।

सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन् । उनले त्रिभुवन विश्विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

जनकपुर–जयनगर रूटमा रेल सञ्चालनका लागि झालाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए ।

सरकारले दल विभाजनसम्बन्धी आध्यादेश ल्याएलगत्तै नेता नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) गठन गर्न निवेदन दिइसकेका छन् । नेता नेपालले नयाँ पार्टी दर्ताको लागि आयोगमा निवेदन पशे गरेसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ । बिहीबारकै मन्त्रिपरिषदले नेपालनिकट नेता यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपालले जनकपुर–जयनगर रूटमा चलाउन भारतबाट दुइटा रेल किनेको छ । झन्डै एक वर्षअघि रेल आए पनि चलाउने जनशक्ति नहुँदा अहिलेसम्म रेल सञ्चालनमा आउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको