३१ आश्विन २०७८, आईतवार

गाउँबाट सिमकोट पुग्न थाल्यो ताजा तरकारी




३ भदौ, हुम्ला । वर्षाको सिजन शुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न गाउँबाट दैनिक ताजा तरकारी भित्रने गरेको छ । गाउँघरमा कृषक तरकारी उत्पादन गरेर विक्रीका लागी जिलला सदरमुकाम सिमकोटमा ल्याउने गरेका छन् ।

सिमकोट आसपासका गाउँ ठेहे,लाङ्दु,याङचु, मजा,छिप्रा नल्ला लगायतका गाउँबाट दैनिक दिन ताजा तरकारी आउन गरेको छ भने खपत पनि राम्रो हुने गरेको कृषकहरुले बताएका छन् । गाउँबाट विक्रीका लागी फर्सी, काउली, कन्दा, कमै, खुर्सानी, आलु, टमाटर लगायतका तरकारीले सिमकोटमा बजार पाएको छ ।

यो समय सिजन भएकाले विसजनको भन्दा मुल्य कममा तरकारी विक्री हुने भए पनि आफूले उत्पादन गरेको तरकारीले बजार पाएको सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँ निवासी बलवान बोहराले जानकारी दिए ।

गाउँमा उत्पादन भएर सिमकोटमा पुगेको सबै तरकारीको मुल्य रु एक सय भन्दा माथिमा विक्री हुने गरेको कृषक बोहराले बताए । तरकारी विक्रीबाट आम्दानी भएको रुपैयाँले घर खर्च चलाउन सजिलो हुने गरेको उनले बताए । तरकारी विक्री गरेको आएको रकमले नुन, तेल, साबुन लगायत बालबालिकालाई स्टेशनगरीका सामग्री किन्न सहयोग पुगेको उनले बताए ।

खार्पुनाथमा बढ्यो टमाटर उत्पादन

जिल्लाको खार्पुनाथ गाउँपालिका –४ का दुई वटा गाउँले आफ्नो गाउँ मात्र होइन, छिमेकी गाउँपालिकालाई बिक्री गर्ने टमाटर उत्पादन गर्न सफल भएका छन् ।

घरघरमै टनेल बनाएर टमाटर खेती सुरु भएपछि टमाटरमा आत्मनिर्भर हुनुका साथै आम्दानी समेत बढाउन किसान सफल भएका हुन् । बिहानै सदरमुकाम सिमकोटमा टमाटर बिक्री गर्न आएका छिप्रा गाउँका प्रगति रावलले गाउँभरी उत्पादन भएको टमाटरले सिमकोटमा राम्रो बजार पाएको बताए ।

छिप्रा गाउँमा उत्पादन भएको टमाटरले आफ्नो खार्पुनाथ गाउँपालिकाको बजार क्षेत्र मात्र नभई सिमकोट गाउँपालिकालाई समेत धानेको बताए । टमाटर पाकेर लटरम्म भएपछि एक जना किसानले दैनिक २५ किलोसम्म टमाटर बोकेर सिमकोटमा बिक्री गर्न थालेका छन् ।

प्रतिकेजी दुई सय रुपैयाँ पर्ने टमाटर स्थानीय र बाह्य जातका उत्पादन गरेर बिक्री हुने गरेको रावलले बताए ।

गाउँबाट भारी बोकेर ल्याउन सक्ने क्षमताअनुसार किसानले सिमकोटमा विक्री गर्दा प्रतिदिन ६ देखि आठ हजार रुपैयाँ कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए ।

प्लास्टिकको टनेल र खुला क्षेत्रमा उत्पादन भएको टमाटर गाउँपालिकाको बजार क्षेत्रमा समेत बिक्री हुने गरेको छ । खार्पुनाथ गाउँपालिका–४ को नल्ला र छिप्रा गाउँका ३० घरधुरीले यसरी टमाटर खेतीबाट दैनिक कमाइ गर्दै आएका हुन् । दैनिक सातदेखि आठ घरधुरीले बिक्रीका लागि टमाटर सिमकोटमा ल्याउँदै आएका छन् ।

दुई क्विन्टलसम्म बिक्री भइरहेको जानकारी दिँदै उनले बर्खामा पुग्ने गरी उत्पादन भएको बताए । टमाटरबाट मात्र यी दुई गाउँमा लाखौँ आम्दानी भित्रिने गरेको छ । टमाटर अहिले दैनिक भित्रिन थालेपछि उपभोक्ताले पनि सस्तोमा किन्न पाएका छन् । सधैँ नेपालगञ्ज सुर्खेतदेखि हवाईमार्गमा आउने टमाटरको भर पर्नुपर्ने बाध्यता पनि हटेको छ । (न्युज कारखाना)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको