२ कार्तिक २०७८, मंगलवार

अध्यादेशको असर : दलभित्र ‘बहुदल’




२ भदौं, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८’ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् ।
अध्यादेश जारी भएलगत्तै जसपा विभाजन भएको छ । जसपाको महन्थ ठाकुर पक्षले बुधबार नै निर्वाचन आयोगमा ‘जसपा नेपाल लोकतान्त्रिक’ दल दर्ता गरेको छ ।

आजै एमालेको माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन हाल्ने भएको छ । एमालेमा एक सय २० सांसद छन् । अध्यादेशअनुसार एमाले विभाजन गर्न २४ सांसद भए पुग्छ । अहिलेकै अवस्थामा एमालेभित्र पाँचवटा दल बन्न सक्ने सांसद संख्या छ । यसले पनि अब सिंगो र एकढिक्का पार्टीलाई असर पुग्ने देखिन्छ ।

कुनै नेतामा अध्यक्ष बन्ने महत्वाकांक्षा जागेमा उसले २४ सांसद लिएर नयाँ दल खोल्न सक्छ । त्यसैले अब एउटै दलभित्र बहुदलको सम्भावना बढ्ने देखिन्छ । हिजोका समूह र गुटका नेता अब अमूक दलको अध्यक्ष भएर प्रकट हुने अवस्था सिर्जना भएको छ ।

एमाले केन्द्रीय कार्यसमिति अहिले दुई सय तीन सदस्यीय छ । मंगलबार मात्रै एमालेले आफ्नो कार्यसमिति दुई सय ६० भएको अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई जानकारी गराएको थियो । तर, पहिलेकै दुई सय तीन संख्यालाई आधार मान्ने हो भने ४१ केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्न सकिनेछ । जबकि माधवकुमार नेपालसँग ८० केन्द्रीय सदस्य भएको मानिन्छ ।
सत्तारुढ कांग्रेसबाट प्रतिनिधिसभामा ६३ सांसद छन् । जसमध्ये दुईजना निलम्बनको अवस्थामा छन् । कांग्रेस विभाजन गर्न १३ सांसद भए पुग्छ । कसैले २४ सांसद लिएर अर्को पार्टी खोल्न सक्छ ।

कांग्रेसको मौजुदा केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय हो । अध्यादेशअनुसार १७ केन्द्रीय सदस्य लिएर कसैले नयाँ दल दर्ता गर्न सक्छ । अहिले कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, सुनिलकुमार थापा, शेरबहादुर देउवालगायतको अलग अलग समूह छन् । जसमध्ये नयाँ दल दर्ता गर्ने केन्द्रीय सदस्य जुटाउन पौडेल समूहले मात्र सक्छ । सिटौला समूहसँग अर्को दल दर्ता गर्नसक्ने सांसद र केन्द्रीय सदस्य दुवै छैनन् ।

माओवादी केन्द्रमा सभामुखसहित ४९ सांसद छन् । माओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरी गरी चारजना सांसद पदमुक्त भइसकेका छन् । उनीहरू एमाले प्रवेश गरेकाले माओवादीले कारबाही गरेको हो । यदि माओवादी पार्टी विभाजन गर्नुपरेमा सांसद १० जना भए पुग्छ । तर, केन्द्रीय समिति भने माओवादीको अझै अद्यावधिक भइसकेको छैन । तर, माओवादीमा पार्टी विभाजन गर्नसक्ने, अर्को गुट तयार पार्ने नेताको कमी छ । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह बाहिरिसकेकाले अध्यक्ष प्रचण्डलाई केही ढुक्क छ । तर, पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट छन् ।

जसपा त विभाजन नै भइसकेको छ । जसपा विभाजन गर्न सात सांसद भए पुग्छ । तर, आफूसँग १६ सांसद रहेकाले महन्थ ठाकुरले नयाँ दल दर्ता गरिसकेका छन् । जसपामा उपेन्द्र यादव र डा।बाबुराम भट्टराईको अलग अलग गुट छ । जम्मा सात सांसद मात्र चाहिने हुनाले जसपाभित्र पनि बहुदलको सम्भावना देखिन्छ । (न्युज कारखाना)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको