२ कार्तिक २०७८, मंगलवार

सरकारी कर्मचारीलाई काममा फर्किन तालिवानको उर्दी



एजेन्सी । अफगानिस्तानमा सशस्त्र युद्धमार्फत सत्ता कब्जा गरेको तालिवान विद्रोहीले सम्पूर्ण सरकारी कर्मचारीलाई क्षमा दिदै ‘पूर्ण बिश्वासका साथ’ काममा फर्किन अनुरोध गरेको छ । आईतबार विद्रोहीले राजधानी कब्जा गरेपछि काम छोडेर अन्यौलमा बसेका कर्मचारीलाई विद्रोहीले यस्तो आग्रह गरेका हुन् ।

‘सबै कर्मचारीलाई आममाफी दिइएको छ । तपाईहरु पूर्ण विश्वासका साथ आफ्नो दैनिक कार्यमा फर्किनु पर्छ,’ तालिवान विद्रोहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विद्रोहीले अफगान सत्तालाई नियन्त्रणमा लिएपछि सरकार तथा पश्चिमी संगठनसँग आबद्ध संस्थाहरुमा काम गर्ने कर्मचारी त्रसित बनिरहेका बेला तालिावानहरुले उनीहरुलाई निडर भएर काम गर्न अनुरोध गरेको हो । कतिपय संस्थाहरुमा अमेरिकी सेनाको दोभाषेका रुपमा काम गर्ने कर्मचारी छन् । तर विद्रोहीको कब्जापछि आफूमाथि कुनै बेला आक्रमण हुन सक्ने आशंकामा अधिकांश कर्मचारी काममा फर्किन सकेका छन् ।

पाशविक आक्रमण र अतिवादी हमलाका लागि तालिवान विश्वभर कुख्यात छ । तालिवानमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको छ, यद्यपी उनीहरुले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

तालिवान आबद्ध सामग्रीमाथि फेसबुकको प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले तालिवानलाई अतिवादी संगठनकै रुपमा ब्याख्या गर्दै सो समूह र उसका सामग्रीमाथि प्रतिबन्ध लगाएको जनाएको छ । सो समूहसँग आबद्ध सामग्री निगरानी गर्न र आवश्यक परे हटाउन अफगानिस्तानमा आफूहरुसँग एउटा प्रतिबद्ध समूह रहेको फेसबुकले जनाएको छ ।

तालिवानप्रतिको नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागू हुने भएको छ । पछिल्लो समय आफ्ना गतिविधिबारे सञ्चार गर्न तालिवानले इन्स्टाग्राम र ह्वाट्सएप प्रयोग गर्न थालेका छन् । त्यस्तै, तालिवानसँग सम्बन्धित सामग्रीको प्रकाशन तथा प्रसारणबारे अन्य सामाजिक सञ्जाल ट्विटर र युट्युबले पनि निगरानी बढाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको