२ कार्तिक २०७८, मंगलवार

अफगानिस्तानबाट चार्टर्ड जहाजमा काठमाडौं आइपुगे १२७ नेपाली



१ भदौ, काठमाडौं । तालीबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ रहेका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन् ।

अफगानिस्तानमा रहेका उनीहरू कुवेत गएर त्यहाँबाट जजिरा एयरलाइन्सको चार्टर्ड विमानमार्फत् मंगलबार(आज) बिहान १० बजेर १६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ ।

उनीहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनु पर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ ।’

परराष्ट्र मन्त्रालयले वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपालीहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग समन्वय गरिरहेको छ ।

अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भनेर औपचारिक अनुरोध नै पठाईएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताएकी छन् । उनले भनिन्,‘उहाँहरुले सहयोगले केहि नेपाल फर्किसक्नुभएको छ । आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं । उहाँहरू कुन–कुन शहरमा कति जना हुनुहुन्छ भन्ने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ ।’

अफगानिस्तानमा भएका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गरिदिन पनि सरकार अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको