२ कार्तिक २०७८, मंगलवार

अमेरिकी हारपछिकाे अफगान द्वन्द्व : तालिवानकाे अनपेक्षित ‘कमब्याक’




काबुल/ बीस वर्ष लामो द्वन्द्वपछि अमेरिकी नेतृत्वमा विभिन्न देशबाट खटिएको विदेशी फौज द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट फर्किएसँगै अफगान सत्तामा तालिवानको ‘कमब्याक’ निश्चित प्रायः बनेको छ । तालिवानलाई निर्मूल पार्ने अठोटका साथ दुई दशकअघि काबुल प्रवेश गरेको अमेरिका रातो अनुहार लगाएर रित्तै फर्किएसँगै तालिवानको पुनः सत्ताआरोहण पनि निश्चित जस्तै बनेको हो । 
अफगानिस्तानमा आफ्नो मिसन पूरा हुन नसकेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फर्काउन चलाएको अभियानलाई वर्तमान राष्ट्रपति जो बाइडेनले  समर्थन जनाएसँगै अमेरिकाले अफगानिस्तानबाट हात उठाएको थियो । अफगान युद्धमा अमेरिकाले ठूलो मूल्य चुकाएको छ । यो अवधिमा उसले आफ्ना सयौं  सेना मात्र गुमाएन, अमेरिकाको अर्बौ डलर रकम स्वाह भएको छ । अतिवादीविरुद्धको लडाइँमा अफगान सरकारलाई सहयोग गर्न भन्दै अमेरिकी  नेतृत्वमा विदेशी गठनबन्धनको सेना अफगानिस्तानमा तैनाथ थियो । २० वर्ष लामो द्वन्द्वमा हजारौ मानिसको मृत्यु र लाखौं बिस्थापित भएका छन् ।
 
अफगानिस्तानमा अमेरिकी असफलतासँगै देशको भविष्य र त्यहाँको सुरक्षा व्यवस्थालाई लिएर सर्वत्र चिन्ता छाएको छ । पछिल्ला दिनमा विद्रोही तालिवानले गरेको शृंखलाबद्ध हमलाले पनि यस्तो चिन्तालाई थप पुष्टि गरिदिएको छ । तालिवानले देशका विभिन्न सहर नियन्त्रणमा लिने क्रम जारी छ । विद्रोहीले अफगान सरकारविरुद्ध निरन्तर धावा बोलिरहेको छ । देशको दोस्रो ठूलो सहर कान्दहारलाई नियन्त्रणलाई लिएपछि सो समूह राजधानी काबुलतर्फ अगाडि बढिरहेको छ । उनीहरुले कान्दहरको एउटा जेललाई कब्जामा लिएर सयौँ बन्दी रिहा गरेका छन् । सरकारले गरेको सत्ता साझेदारको प्रस्ताव विद्रोहीले अस्वीकार गरेको छ ।
                                                           
यसरी सुरु भयो युद्ध
सन् २००१ ११ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क र वाशिंगटनमा अतिवादीले आतंकवादी हमला गरेका थिए । करिब ३० हजारजनाको ज्यान जाने गरी भएको सो हमलाको मुख्य नायिके अन्तर्राष्ट्रिय अतिवादी समूह अलकायदका प्रमुख ओसामा बिन लादेन थिए । उनले तालिवानको संरक्षणमा अफगानिस्तानमा आश्रय लिएर विभिन्न देशमा अतिवादी गतिविधि बढाएका थिए । लादेनलाई तालिवानले अमेरिकी सरकारलाई सुम्पिन अस्विकार गरेपछि तत्कालै अमेरिकाले अफगानिस्तानमा हस्तक्षेप गरी तालिवान ‘निर्मूल’ गरी प्रजातन्त्रिक सरकारलाई सहयोग गर्ने बचन दिएको थियो । नेटो गठबन्धनले अमेरिकालाई सहयोग गरेपछि अमेरिकाले तालिवानबिरुद्धको युद्धलाई तीव्रता दियो । यसैबीच, सन् २००४ मा नयाँ सरकार गठन भयो, तर तालिवान हमल जारी रहयो । सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाले तालिवानबिरुद्धको लडाइँमा केही सफलता हासिल गरे पनि त्यो दीर्घकालीन हुन सकेन ।
 
सन् २०१४ को अन्त्यमा नेटो आबद्ध अन्तर्राष्ट्रिय फौजले आफ्नो मिसन पूरा गरी अफगान सेनालाई जिम्मा दिएर स्वदेश फर्किएपछि अफगान युद्धले नयाँ मोड लिएको थियो । नेटोको फिर्तीले तालिवानलाई केही ऊर्जा मात्र दिएन, अफगानिस्तानका थप क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन थाले । तालिवानहरु थप शक्तिशाली बन्दै गए भने अमेरिकाले पनि आफ्ना सेनालाई अफगानिस्तानबाट कटौती गर्दै गयो ।
 
तालिवानलाई युद्धबाट निर्मूल गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि अमेरिकाले उसलाई वार्ताको कार्ड देखायो । द्वन्द्व अन्त्य गर्न तालिवान र सरकारबीच वार्ताका लागि अमेरिकालाई गरेको बारम्बारको आह्वानलाई तालिवानले लत्याइदियो । बरु सरकारबाहेकका पक्षसँग वार्ता गर्ने उसले रुचि देखायो । यसबीचमा तालिवान र अमेरिकाबीच विभिन्न चरणमा भएका वार्ता विनानिष्कर्ष टुंगिए ।
 
सन् २०२० मा कतारमा अमेरिकासँग भएको वार्तापछि भने अमेरिकाले आगामी सेप्टेम्बरपछि आफ्ना सबै सेना फिर्ता गर्ने सहमति जनायो । तर, अमेरिका– तालिवान वार्ताले भने तालिवानको हमला रोक्न सकेन बरु झन् हिंश्रक बन्दैछन् विद्रोही । 
 
कसरी भयो तालिवानको कमव्याक ?
तालिवान अफगानिस्तानमा पुनः शक्तिमा फर्किएला ? अहिले यही प्रश्न सर्वत्र खडा भइरहेको छ । अमेरिकाले हात उठाएर युद्धबाट फर्किएसँगै विद्रोही सत्ता कब्जा गर्ने निश्चित प्रायः देखिएको छ । छिटोमा एक महिनादेखि ढिलोमा एक वर्षभित्र तालिवानको सत्तामा कमव्याक हुन सक्ने विश्लेषकहरुले ठोकुवा गरेका छन् । उनीहरुको ठोकुवा सही सावित भएमा अफगानिस्तानको अस्थिरता झनै लम्बिने मात्र होइन, विश्वसामु उसको लाचारी प्रष्ट देखिनेछ ।
 
लडाकूले काबुल सरकारलाई ढाल्न नसक्ने अमेरिकी राष्ट्रपति बाइडेनले विश्वास व्यक्त गर्दै आएका छन् । तर, अमेरिकी एक गुप्तचर अधिकारीले जुनमा गरेको अध्ययनमा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएको ६ महिनाभित्र तालिवानले अफगान सरकारलाई च्यूत गरिदिने उल्लेख छ ।
 
देशको दक्षिणी भागमा अवस्थित सो सहरका गल्ली गल्लीमा युद्ध भइरहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । तालिवानले अफगानिस्तानलाई पश्चिमी मुलुकका लागि मुख्य चुनौती बनेका अतिवादीका लागि आधारभूमि बन्न नदिने बताउदै आएका छन् । अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य महत्वपूर्ण सरकारी संस्थाको रक्षाका लागि अमेरिकाले ६ सयदेखि एक हजार सेना राखिने बताएको छ भने तालिवानले बाँकी सेनालाई मुख्य निशाना बनाउने चेतावनी दिएको छ । तालिवानले कुनै पनि बेला अफगान सरकारलाई अपदस्थ गरी पुनः शक्तिमा पुग्ने कतिपय विश्लेषकले आकलन गरेका छन् । त्यसअघि सन् १९९६ सम्म तालिवानले अफगान सरकारको नेतृत्व गरेको थियो ।
 
एक महिनामै मारिए एक हजार सर्वसाधारण
राष्ट्रसंघको एक प्रतिवेदनअनुसार पछिल्लो एक महिनामा अफगानिस्तानमा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ । यसै साता उत्तरी प्रान्तका हजारौ मानिस आन्तरिक रुपमा विस्थापित  छन् । सुरक्षाका लागि उनीहरु काबुलतर्फ भौतारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हालैमात्र झन्डै ७२ हजार बालबालिका राजधानी काबुल पुगेको र उनीहरुमध्ये अधिकांश सडकमै बस्ने गरेको बालबालिकाका लागि काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ । हिंसाका कारण बिस्थापितको संख्या बढ्न थालेपछि राजधानी वरपरका क्षेत्रमा अस्थायी शिविर स्थापना गरिएका छन् भने कतिपय सडकमै राता बिताउने गरेका छन् ।
अफगानिस्तानमा हिंसा चर्किन थालेपछि विभिन्न देशले आफ्ना नागरिकलाई फर्किन आह्वान गरेका छन् । अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट ठूलो संख्यामा कर्मचारी फिर्ता गर्न सेना पठाएको छ । त्यस्तै, बेलायतले स्वदेश फर्किने आफ्ना नागरिकको सहयोग गर्न भन्दै  छोटो समयका लागि ६ सय सेना परिचालन गरेको छ ।
शृंखलाबद्ध रूपमा प्रान्तीय राजधानीलाई तालिवानले कब्जामा लिएपछि सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको छ । राष्टपति असरफ घानीले सेना प्रमुख जनरल वाली अहमदजाईलाई हटाएर उनको ठाउमा जनरल हिबातुल्लाह अलीजाई नियुक्त गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको