नेकपाकै अधिकांश व्यवस्था राखेर माओवादीले ल्यायो विधान मस्यौदा
३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक व्यवस्थित विधानको मस्यौदा ल्याएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय कमिटी बैठकमा ५२ पृष्ठ लामो विधानको मस्यौदा पेश गरेका थिए ।
पार्टीको अन्तरिम विधान–२०७८ नाम दिइएको उक्त मस्यौदा बैठकबाट पारित भएपछि कार्यान्वयनमा जानेछ । विधानमा अधिकांश बुँदाहरु साविकको नेकपाकै मोडलअनुसार छन् ।
माओवादीको अन्तरिम विधानमा पनि नेकपा एमालेले अवल्बन गरेका संगठनात्मक संरचना र ढाँचाजस्तै छ । तर, माओवादीले भने वैकल्पिक सदस्यको प्रावधान भने उल्लेख गरेको छ ।
नयाँ व्यवस्था अनुसार केन्द्रीय समितिको सदस्य संख्या २९९ बनाइएको छ । उक्त समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व भने ३५ प्रतिशत अनिवार्य गरिएको छ ।
त्यस्तै माओवादीले सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।
माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहनेछन् ।
त्यस्तै उपमहानगर समिति ८१,नगर समिति ६५,गाउँ समिति ५५ सदस्यीय रहनेछन् । सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुनेछ विधानमा उल्लेख छ ।