२ कार्तिक २०७८, मंगलवार

३३ वर्षिया डा. रश्मी शर्मा सबैभन्दा कान्छी सहसचिव



३० साउन, काठमाडौं । डा. रश्मि शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २५ जना सहसचिवहरूमध्ये सबैभन्दा कान्छी सह-सचिव (११ औं तह) हुन् । शर्माले लोक सेवामार्फत् गत वर्षमात्रै सहसचिवमा नाम निकालेकी हुन् ।

शर्माको जन्म बुबा मुकुन्दप्रसाद शर्मा र माता मायादेवी शर्माको कोखबाट वि.सं. २०४४ असार १० मा बाग्लुङको जैमिनी नगरपालिकामा भएको थियो । उनका बुवा–आमा दुवै बुढानिलकण्ठ स्कुलमा अध्यापन गराउँथे । ४ कक्षासम्म प्राथमिक स्कुलमा पढेकी डा. रश्मीले बुढानिलकण्ठ स्कुलको क्वार्टरमा बुवाआमासँगै बसेर पढ्न र हुर्कने मौका पाइन् ।

डा. रश्मी शर्मालाई बुढानिलकण्ठको उत्कृष्ट शैक्षिक वातावरणको लाभ मिल्यो । उनी पढाईमा निकै अब्बल भएका कारण २०६० सालमा एसएलसीमा डिस्टिङसन ल्याई उत्तीर्ण भइन् । त्यसपछि उनले प्लस टु पनि बुढानिलकण्ठ स्कुलमै विज्ञान विषय लिएर पढ्न थालिन् । वि.सं. २०६३ सालमा उनले बुढानिलकण्ठबाटै प्लस टु पनि डिस्टिङसनमा उतीर्ण गरिन् ।

सानैदेखि पढाईमा तीक्ष्ण रश्मिले एमबीबीएसको इन्ट्रास दिएर छात्रवृत्तिमै नाम निकालिन् । उनी एमबीबीएस पढ्न २०६३ साल फागुनमा नेपालगञ्ज मेडिकल कलेज गइन् । त्यहाँबाट २०६९ भदौंमा एमबीबीएस उत्तीर्ण गरेपछि सरकारसँगको करार सम्झौताअनुसार उनी सेवा गर्न बाग्लुङ गइन् ।

त्यसै बीचमा बाग्लुङको धौलागिरी अस्पतालमा करार सेवामा एक वर्ष बिताएपछि २०७० साल पौषमा लोकसेवाको परिक्षा दिइन् । लोकसेवामा उनले आठौं तहमा नाम निकालिन् । पहिलो पटकमा लोक सेवामा नाम निकालेकी डा. रश्मीले मेडिकल अधिकृतका रुपमा सरकारी सेवाका लागि बाग्लुङको कुश्मीशेरा प्राथमिक स्वास्थ्य चौकीमा काम गर्न थालिन् । त्यहाँ बस्दा डा. रश्मीले हेल्थ क्याम्पका क्रममा पूरै बाग्लुङ जिल्ला घुम्ने अवसर पाइन् ।

त्यसपछि डा. रश्मीले वि.सं. २०७३ सालमा एम.डी.का लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा इन्ट्रान्स दिई छात्रवृत्तिमै नाम निकालिन् । उनले २०७६ सालको जेठमा छाला रोगमा एमडी सकेर २०७७ बैशाखदेखि साउनसम्म चार महिना भरतपुर अस्पतालमा काम गरिन् ।

भरतपुर अस्पतालमै काम गर्ने क्रममा ११ औं तहको लोकसेवाको परिक्षा दिई २०७७ भदौं डा. रश्मीले नेपाल सरकारको ११ औं तहमा नाम निकालिन् । अहिले उनी ११ औं तहको छालारोग विशेषज्ञका रुपमा वीर अस्पतालमा सेवारत छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको