९ आश्विन २०८०, मंगलवार

काव्यात्मक शैलीका कथाः आदिबिम्ब


डा. मधुसूदन गिरी
३० श्रावण २०७८, शनिबार

पूर्वप्राचीन यायावर मानवको अवशेषका रूपमा राउटे जाति आज पनि विद्यमान छन् । कथाकार, अन्वेषक तथा लेखक रामकृष्ण आचार्य ‘विशेष्य’ को यो कथासङ्ग्रह ‘आदिबिम्ब’ राउटे जातिसँग सम्बद्ध कथाहरूको सँगालो हो ।

राउटेहरू आफूलाई ठकुरी भन्छन्, रास्कोटी भन्छन् र आफूलाई जङ्गलको राजा भन्छन् । ती रास्कोटी ठकुरी हुन् भने अरू रास्कोटीहरू यस क्षेत्रमा सानाठूला राजा रजौटा, चौतरिया र तिनका सन्तान हुँदा यिनीहरू कसरी जङ्गली नै रहे ? के कुनै कालका राजा रजौटा, शासक विद्रोही भाइ भतिजा र तिनको कुनै टुकडी वा समूह युद्ध वा आक्रमणका कारण परास्त भएर जङ्गल पसेका, लामो समयसम्म कन्दमूल र सिकार गरेर जीवन बिताउने जातिकै रूपमा परिणत हुँदै गएर सन्तान दरसन्तान त्यसै रूपमा विकसित हुँदै गएका हुन् ?

राउटे जातिसँग सम्बद्ध थुप्रै प्रश्नहरू आजसम्म पनि अनुत्तरित नै छन्, कसरी राउटे जाति जङ्गली यायावर जातिकै अवशेषका रूपमा शेष रहे ? राउटेहरू आफूलाई ठकुरी भन्छन्, रास्कोटी भन्छन् र आफूलाई जङ्गलको राजा भन्छन् । ती रास्कोटी ठकुरी हुन् भने अरू रास्कोटीहरू यस क्षेत्रमा सानाठूला राजा रजौटा, चौतरिया र तिनका सन्तान हुँदा यिनीहरू कसरी जङ्गली नै रहे ? के कुनै कालका राजा रजौटा, शासक विद्रोही भाइ भतिजा र तिनको कुनै टुकडी वा समूह युद्ध वा आक्रमणका कारण परास्त भएर जङ्गल पसेका, लामो समयसम्म कन्दमूल र सिकार गरेर जीवन बिताउने जातिकै रूपमा परिणत हुँदै गएर सन्तान दरसन्तान त्यसै रूपमा विकसित हुँदै गएका हुन् ? पहिले–पहिले अरू गृहस्थहरूका बालकहरू यस सङ्ग्रहको ‘राउटे पूजा’ शीर्षक कथामा वर्णन गरिएजस्तै चोरेर लगी खाल्डोमा टाउको मात्र देखाएर जिउँदै गाड्ने र तताएको तातो, रातो फलामको झिर तालुमा रोपेर आकाशतिर रगतका सिर्का छरेर अर्थात् नरबलि दिएर राउटेहरूले कुल देवताको पूजा गर्थे भन्ने किंवदन्ती कति सत्य हो ? अनुसन्धेय नै छ किनभने राउटेहरू आफ्नो गोप्यता भङ्ग गर्दैनन् ।

समग्रमा राउटेहरू सबै दृष्टिले आदिम कविला युगमै छन् । यिनै राउटेहरूको आदिम अवस्थादेखिको मानवशास्त्रीय अध्ययन र इतिहासभन्दा आजको लवाइ, खुवाइ, रहनसहन, जीवनशैली, वेशभूषा, विवाह, व्रतबन्ध, खानपान आदि संस्कार, संस्कृति र तिनका विश्वास मात्र होइन तिनीहरूको आर्थिक व्यवस्थापन एवम् त्यस क्रमका कविला मुखियाका आर्थिक शोषण, उत्पीडनका तथ्यहरू पनि यी कथामा आएका छन् । तिनको सामाजिक व्यवस्थापन अर्थात् एक प्रकारको शासकीय संरचनाको झझल्को पनि छ । दैलेखको दुल्लु वरिपरि बडलम्जी, छड्ने, गल्लापानीको जङ्गल, सिलुखाना, रातीमाटा, नाउलाखोला, गडाजिउला, पाँचिला स्थानतिरको परिवेशका पारिवेशिक बिम्बहरूको चित्रण आदि वर्णन स्थानीयता, स्थानीय रङ्ग, गन्ध उतार्दै त्यही सेरोफेरो र नजिकको जङ्गलका फलकमा राउटेहरूका शाब्दिक चित्र कोर्ने प्रयत्न यस सङ्ग्रहका कथाहरूमा राखिएको छ ।

अधबैंसे मुखियाले १२ वर्षकी बालिकालाई बिहे गर्नु, छोरा नभए स्वर्गको ढोका बन्द हुन्छ भन्ने सोच हुनु र त्यसैका निमित्त चिन्तित हुनु र प्रयत्न गर्नु, मुखिनीले गर्भ धारण गर्दा खुसी भएर छोरो होस् भनी मुखियाले भगवान्सँग प्रार्थना गर्नु तर छोरी जन्मिँदा मुखिया भित्रभित्रै कुँडिनु, त्यति मात्र होइन दोस्रो सन्तान पनि छोरी नै जन्मिँदा मुखिया रिसले आगो भई ‘छोरीलाई घाँटी निमोठेर मारिदेऊ’ भन्नु जस्ता पुरुषप्रधान पितृसत्तात्मक सोचले पुरातन सामन्ती संस्कार र परम्पराका कुनै पराजित भएर जङ्गल पसी जङ्गली भएका राजा, महाराजाका सन्तान हुन् भन्ने प्रमाणित हुन्छ ।

राउटे समाजभित्र पस्न सबैलाई प्रतिबन्ध छ । उनीहरू आफ्नो समाजभित्र बस्तीभित्र कसैलाई आउन दिँदैनन् । यसैले आजको आवश्यकता त्यहाँभित्रका लुप्त गुप्त कुराहरूको खोजी गर्नु रहेको छ । यी कतिपय पुरातन सामन्ती सोच र संस्कृतिलाई कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ले चित्रण गर्ने प्रयत्न गरेका छन् । ‘मुखिनीको मृत्यु’ नै यसको प्रथम साक्ष्य हो । अधबैंसे मुखियाले १२ वर्षकी बालिकालाई बिहे गर्नु, छोरा नभए स्वर्गको ढोका बन्द हुन्छ भन्ने सोच हुनु र त्यसैका निमित्त चिन्तित हुनु र प्रयत्न गर्नु, मुखिनीले गर्भ धारण गर्दा खुसी भएर छोरो होस् भनी मुखियाले भगवान्सँग प्रार्थना गर्नु तर छोरी जन्मिँदा मुखिया भित्रभित्रै कुँडिनु, त्यति मात्र होइन दोस्रो सन्तान पनि छोरी नै जन्मिँदा मुखिया रिसले आगो भई ‘छोरीलाई घाँटी निमोठेर मारिदेऊ’ भन्नु जस्ता पुरुषप्रधान पितृसत्तात्मक सोचले पुरातन सामन्ती संस्कार र परम्पराका कुनै पराजित भएर जङ्गल पसी जङ्गली भएका राजा, महाराजाका सन्तान हुन् भन्ने प्रमाणित हुन्छ । यति मात्र नभएर असिना पानी अर्थात् झन्झावातले राउटे बस्ती आक्रान्त हुनु, आँधी, हुरी र वर्षाले राउटेका राउटी उजाडिदिनु, बस्तीमा भेल पस्नु, बस्तीमा रुवाबासी मच्चिनु, सुत्केरी मुख्यानीका टाउकामा असिनाले हिर्काउनु, चिसो पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु हुनु, मुखियाले रुँदै खाल्डो खनेर लास गाड्नु र बस्तीको कुनै सदस्यको देहान्त हुने बित्तिकै राउटीहरूमा आगो लगाएर बसाइँ जाने परम्पराअनुसार सबै बस्ती जानुजस्ता घटना शृङ्खलायुक्त यो कथा मुखिनीका शिशुका सन्दर्भमा भने मौन छ ।

केटी माग्न जाँदा केटाकेटीले एक अर्काेलाई मन पराएको हुनु नपर्ने, पुरानो नाता सम्बन्ध, मित्रताभन्दा पनि खसीको मासु, रक्सी, महजस्ता मीठामीठा कुरा कोसेली लगेर गएपछि केटी दिने कुरा पक्काजस्तै हुने राउटे समाजको परम्परा ‘राउटेको मगनी’ मा वर्णन गरिएको छ । ‘राउटेको बिहे’मा नाच्ने, मदिरा पिउने कुराको चर्चा छ, तर बिहेमा अन्य कर्मकाण्ड, विधिविधान के–कस्तो पूरा गरिन्छ, त्यो पनि आउन सके नयाँ हुने देखिन्छ । यस्तै ‘जङ्गली प्रेम’ मा पनि प्रेम विवाह र विवाहपूर्वको शारीरिक सम्बन्ध प्रतिबन्धित भएको र त्यस्तो भएमा चारपाटा मुडेर बस्ती घुमाउने परम्परा र बन्द संस्कारको चित्रण छ । त्यसै गरी ‘हाते मिटर’ मा जस्तो राउटेहरू कोसी, मदुस आदि वस्तु विनिमयबाट मुद्रा विनिमयमा उक्लिसकेको स्थितिको चित्रण छ । यति भए पनि हात र बित्ताले नाप्ने नेपाली समाजको पुरानो परम्परा आज पनि राउटेहरूमा यथावत् रहेको कुरा कपडा नाप्दा हातले नै नाप्ने अड्डी लिएको सन्दर्भबाट स्पष्ट हुन्छ ।

बिहे गरिदिएपछि दुलहादुलहीलाई नयाँ छाप्रो बनाइदिने र पति मरेपछि विधवालाई बस्तीभन्दा उल्टो दिशातिर फर्केको छुट्टै छाप्रो बनाइदिने भिन्न परम्पराको वर्णन पनि यी कथामा छ । यस्तै राउटे समाजमा नारीको दूरावस्था, महिला तथा समाजको अति पछौटेपन, परिवर्तन, प्रगति र नयाँपन नचाहने संस्कार, संस्कृति र परम्परा, बालविवाह, बाल प्रजनन, मृत्यु, राउटे समाजमा कन्याको अभाव, राउटे समाजको सामाजिक व्यवस्थापन लगायतका कुराको चित्रण, वर्णन छ । ‘बलात्कृत विधवा’ मा आफ्नी पत्नीबाट सन्तान नभएपछि ‘मइर नामक’ राउटेको मुख हेर्न नहुने भनी बस्तीभन्दा अर्कै दिशातर्फ दैलो फर्काइएकी विधवागमनको वर्णन पनि यहाँ छ । यसैमा मइरद्वारा हुक्कामा तमाखु खाएको चित्रण पनि छ, जसले गर्दा मइरले गाउँको कुनै सम्पन्न जिम्वाल, मुखियाको झझल्को पनि दिन्छ जुन स्तर उसको छैन । अर्काे तर्फ राउटेहरू हुक्का प्रयोग गर्छन् वा गर्न सक्दैनन् स्पष्ट छैन । राउटेहरूमा भाग्यवादप्रतिको विश्वास पनि छ । छाउपडी प्रथा छ । धनबहादुर राउटे पुत्र नभएर कुनै नवधनिक वर्गको बिग्रेको सहरिया गुण्डा पुत्र जस्तो पनि लाग्दछ । यस्ता पात्र राउटे समाजमा पनि जन्मनु नवीनता जस्तै लाग्ने भएको छ ।

राउटे समाजमा आधुनिक उपभोक्तावादी समाजको हावा पस्न थालेको सङ्केत पनि अनुभव हुन्छ, जसले गर्दा बिहे आदि कार्यमा मुखियाबाट ऋण लिने परम्परा, मुखियाले ऋणी र ऋणी मात्र नभएर सबलाई आफ्नो काममा दलाउने, ऋणका नाममा शोषण, उत्पीडन गर्ने जस्ता परम्पराको पनि चित्रण यहाँ पाइन्छ । नेपालको झारा टराइयुक्त अनुपयोगी सैद्धान्तिक शिक्षा तथा उच्च शिक्षणमा संलग्न आभिजात्य संस्कृतियुक्त शिक्षकको हेपाहा व्यवहार ‘दर्शन र राउटे’ मा छ । आज पनि हाम्रो समाजमा निर्दाेष एकलव्यको बूढी औंलो अर्थात् सर्वस्व लिई दिएर भीखमङ्गा बनाइदिने कुलीन दरबार अर्थात् सत्ता र शक्तिका पुजारी पूज्य द्रोणाचार्यहरू जीवितै छन् ।

यसै गरी राउटे समाजमा आधुनिक उपभोक्तावादी समाजको हावा पस्न थालेको सङ्केत पनि अनुभव हुन्छ, जसले गर्दा बिहे आदि कार्यमा मुखियाबाट ऋण लिने परम्परा, मुखियाले ऋणी र ऋणी मात्र नभएर सबलाई आफ्नो काममा दलाउने, ऋणका नाममा शोषण, उत्पीडन गर्ने जस्ता परम्पराको पनि चित्रण यहाँ पाइन्छ । नेपालको झारा टराइयुक्त अनुपयोगी सैद्धान्तिक शिक्षा तथा उच्च शिक्षणमा संलग्न आभिजात्य संस्कृतियुक्त शिक्षकको हेपाहा व्यवहार ‘दर्शन र राउटे’ मा छ । आज पनि हाम्रो समाजमा निर्दाेष एकलव्यको बूढी औंलो अर्थात् सर्वस्व लिई दिएर भीखमङ्गा बनाइदिने कुलीन दरबार अर्थात् सत्ता र शक्तिका पुजारी पूज्य द्रोणाचार्यहरू जीवितै छन् । जो सधैँ हाम्रो समाजका पिछडिएका राउटेहरूलाई हेर्ला गर्छन्, अपमान गर्छन्, घृणा गर्छन्, तिनका आराध्य नायकको पतन भइसक्दा पनि ती अझै दम्भ गर्छन्, अभिजात वर्गीय कुलीनताको सेखी झार्छन्, तर ती पूज्य द्रोणाचार्यलाई थाहा हुँदैन, जुन शिष्यका निमित्त आज युगौँयुगसम्मको आरोप, अपमान सहेर दागयुक्त बन्नु प¥यो त्यही शिष्यले आफ्नो सत्ता स्वार्थका निमित्त पूज्य गुरुको सिंगै शरीर छलपूर्वक वाणैवाणले छियाछिया पारेर न बाँच्न सक्ने न मर्न सक्ने बनाइदिन्छ । समाजशास्त्रीय विमर्श गर्दा आज हाम्रो पूर्व सभ्य छ, शिष्ट छ, मर्यादित छ तर पश्चिम नेपाल यो चिप्ले सभ्यताबाट प्रायः टाढै छ । थोरै पश्चिमे छन् जो त्यसमा पनि अनुकूलित हुन सक्छन् तर धेरैजसो चिप्लो मुखको धमिलो पेट भन्छन् । जति नै असभ्य भए पनि ती छलकपट र धोका जान्दैनन् । अझ कतिपय शिक्षक त घमण्डी मात्र होइन पथभ्रष्ट, अक्षम, अहङ्कारी पनि भएको यथार्थ ‘अनौठा मान्छे अनौठो गुण’ कथाले पनि प्रस्तुत गरेको छ । त्यसरी नै राउटेहरू जङ्गलमा छँदा जनयुद्ध गर्ने जनसेना र तिनका नायक प्रचण्डसँग भेट भएको र पछि प्रधानमन्त्री भएका बेला प्रचण्ड र माधव नेपालसँग भेट भएको, तिनीहरूसँग राउटेहरूले पैसा मागेको, प्लेन खर्च मागेर बसमा फर्केको, रक्सी पिएको, पक्की घर बनाइदिने, केटाकेटी पढ्ने विद्यालय बनाइदिने भन्दा घुमन्ते जीवन फेरेर एक ठाउँमा बस्न नचाहेको, बच्चा पढाउन नचाहेको प्रसङ्गको चित्रण पनि यहाँ छ ।

जङ्गलमा बन्दुक बोकेको भेट्दा र सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीमा बसेको देख्दा राउटेद्वारा गरिएका प्रश्नमा जनयुद्ध गर्ने पक्षप्रतिको दृष्टिकोण पनि छ, तर कार्यहरूको चर्चा छ, कारणबारे चर्चा छैन जुन कार्यकारण शृङ्खला विज्ञानसम्मत दृष्टिकोणमा अपरिहार्य हुन्छ ।

यो कार्यकारण शृङ्खला बुझ्न सक्ने द्वन्द्वात्मक भौतिकवादी चिन्तन राउटेमा मात्र होइन आज थोरैमा मात्र छ । यसैले राउटे तर्सिनु स्वाभाविक थियो ।

यस बाहेक ‘राउटे र डर’ शीर्षकको आत्मजीवनी शैलीको कथा विचार र शैलीका दृष्टिले अत्यन्त प्रभावोत्पादक छ । राउटेप्रतिका बालबालिकाको दृष्टिकोण, मनोविज्ञानको चित्रण र ती सबभन्दा अझ महत्वपूर्ण सहरका तथाकथित ठूला मान्छेप्रतिको व्यङ्ग्य तीव्र छ । ‘आदिमानव’ मा राउटे बस्तीको अशिक्षा, अन्धविश्वास, चरम गरिबी र अत्यन्त पुरानो परिवर्तन हुन नचाहने कविला युगीन जङ्गली संस्कार, संस्कृति र मनोविज्ञानको सजीव चित्रण छ ।

वाक्यको कर्ता, कर्म र क्रियाको हाम्रो व्याकरणिक संरचनाका सट्टा विचलनयुक्त वाक्य संरचनाको प्रयोग यहाँ छ । साहित्य र अझ सिर्जनामा स्रष्टाहरू यस्तो विचलनयुक्त प्रयोग प्रायः गर्छन् नै, तर त्यसको उद्देश्य हुनुपर्छ, त्यस्तो विचलन सार्थक हुनुपर्छ र त्यसले भाषिक सौन्दर्य वा प्रभावोत्पादकतादि नयाँपन दिन सक्नुपर्छ । यहाँ प्रस्तुत विचलनले भाषामा काव्यिकता प्रदान गरेको छ । यसैले यसलाई सार्थक भन्न सकिन्छ । कतैकतै कवितांश र गीत नै पनि प्रयोग गरिएका छन् भने कतैकतै उखान टुक्कादि पनि ।

समग्रमा नयाँ विषयवस्तुयुक्त यी कथाले नेपाली साहित्यमा नै नयाँ स्वाद प्रदान गर्ने छन् । नयाँ सन्तुष्टि दिने छन् । यसबाट एकातिर नेपाली कथा साहित्यमा विषयगत विविधिकरण हुने छ भने अर्काेतिर राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययन अझ संवृद्ध बन्दै जाने र बन्न प्रेरणा प्रदान गर्ने छ । अन्तमा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’का आगामी कथाहरू कथाकलाका उत्तरोत्तर अझ थप सोपान उक्लँदै जाऊन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको