२ कार्तिक २०७८, मंगलवार

आफन्तबाट बलात्कृत भएपछि ‘यौनकर्मी’



२९ साउन, गोरखा। गोरखा नगरपालिकाकी सुन्तली (परिवर्तित नाम) को विगत तीन वर्षदेखि आँखा नरसाएको दिन सायदै नहोला । २०७३ चैत २३ गतेको दिन जब सम्झिन्छिन्, तब उनका आँखाबाट अनायासै आँसुका धारा बग्न थाल्छ । त्यो दिनको पीडाले उनको मनमा भक्कानो छुट्छ । तड्पिन थाल्छिन् ।

२०७३ चैत २३ गते अर्थात् सुन्तलीको जीवनको ‘कालो दिन’ । सोही दिन दाजुको स्वरूपमा आएका ‘यौन पिपासु’ ले उनलाई जबर्जस्तीकरणी गरे । सुुन्तली सम्झिन्छिन्, ‘एसईईको परीक्षा दिएर बसेको हप्ता दिन मात्रै भाथ्यो । घरमा कोही हुनुु हुन्थेन । आफ्नै दाइ (काकाको छोरा) घरमा आए । अनि … !!’’
त्यतिबेला उनी भर्खरै साढे १७ वर्ष पुगेकी थिइन् । उनी आफन्तबाट बलात्कृत मात्रै भइनन्, हरेक सम्बन्धबाट विश्वास पनि गुमाइन् । 

आफूलाई जबरजस्ती बलात्कार गरेपछि उनलाई दाइले अरु कसैलाई नभन्न भन्दै धम्की दिए । तर, उनलाई भएको असह्य पीडाको आभाष आमालाई पनि भयो । त्यसपछि मात्र बलात्कृत भएको भोलिपल्ट उनले घरका सदस्यलाई आफूमाथि भएको अन्याय सुनाइन् । 

घटना थाहा पाएको केही दिनसम्म परिवारका सदस्यले के गर्ने, कसो गर्ने भन्ने निर्णय लिन सकेनन् । बलात्कृत भएपछि सुन्तली डिप्रेसनको सिकार बनिन् । ‘आफ्नै परिवारका सदस्यबाट सोच्दै नसोचेको कुरा भएपछि बेइज्जत हुने डरले तत्काल प्रहरीकोमा उजुरी दिन बाबा–मामुले केही भन्नु भएन । म सधैँ रुने, खाना नखाने, एक्लै बस्ने गर्न थालेपछि घटनाको एक हप्तापछि प्रहरीकोमा उजुरी दियौँ,’ उनले भनिन् ।

प्रहरीमा उजुरी दिएलगत्तै पीडक पक्राउ परे । उनीमाथि जबर्जस्तीकरणीको मुद्दा चलाइयो । कानुनले सुन्तलीलाई न्याय दियो । पीडक जेल चलान भए । उनले सजाय पाएको साढे दुई बर्ष बितिसक्यो । पीडक जेलबाट छुट्ने समय नजिकिँदै छ । तर, सुन्तलीले आजसम्म न त त्यो ‘कालो दिन’ बिर्सन सकेकी छिन्, न त न्यायको अनुभूति गर्न नै । अनि बनिन् ‘यौनकर्मी’ ।

कानुनले न्याय दिँदासम्म दाइबाट बलात्कृत भएको कुरा उनका प्रायः सबै आफन्तले थाहा पाइसकेका थिए । एसईईको रिजल्ट पनि आयो, ‘बी प्लस’ ल्याएर उनले पास गरिन् । उनको सानैदेखिको सपना थियो, ‘एसईईपछि स्टाफ नर्स पढ्ने’ । बलात्कृत भएपछि भने उनको सबै सपना टुटे । उनको सानैदेखिको सपना उनका परिवारलाई थाहा थियो । तर, कसैले स्टाफ नर्स पढ्छौँ भनेर सोधेनन् । उनले पनि जिद्धि गरिनन् ।

जिल्लाकै एक सरकारी स्कुलमा म्यानेजमेन्ट पढाउने कुरा चल्यो । तर, उनलाई परिवारका सदस्यसँग घुलमिल भएर सँगै बस्ने मन मर्न थालेकाले उनले अस्वीकार गरिन् । काठमाडौँ गएर पढ्छु भन्दै कर गर्न थालिन् । उनी भन्छिन्, ‘त्यो घटना भएदेखि मलाई कसैको विश्वास र माया लाग्नै छाड्यो । एक्लै बन्दकोठामा, एकान्तमा बस्न मन पर्न थाल्यो । त्यसपछि घरकाले पनि गाली गर्ने, सधैँ यसरी हुन्न भन्दै कराउने गर्नुहुन्थ्यो । झनै रिस मात्रै उठ्थ्यो । कहिलेकाहीँ आत्महत्या गरौँ जस्तो पनि हुन्थ्यो, कोसिस पनि गरेँ कतिपटक । तर, सकिनँ ।’

केही समयपछि उनी काठमाडौं आइन् कलेजमा भर्ना भइन् । उनी थप्छिन्, ‘अनि काठमाण्डौँ गएर एक्लै बस्छु भन्ने लाग्यो र आएँ ।’ उनलाई काठमाडौँसम्म पुर्‍याउन उनका बुबा आए । डेरा खोजी दिए । र, कक्षा ११ मा भर्ना गरेर गाउँ फर्किए ।

‘काठमाडौँ आएपछि केही दिन बन्दकोठाभित्रै सुतेर बसेँ । घरबाट कलेज जाने भए जान, नभए घर फर्की भन्दै कराउन थाल्नु भएपछि जान थालेँ । साथीहरू चिनजान भयो । उनीहरूलाई मेरो विगत थाहा नभएकाले होला उनीहरूसँग म अलिक बढी नजिकिन थालेँ’, उनी भन्छिन् । 

कलेजमा पुगेपछि चिनजान भएको उनका साथीहरू कुलतमा फसेका थिए । जाँडरक्सी, चुरोट, गाँजा उनीहरूका लागि सामान्य थियो । सुुन्तली पनि बिस्तारै त्यही संगतमा परिन्, घुुलमिल हुन थालिन् । 

‘उनीहरूसँग नजिक भएपछि खा’खा केही हुन्न भनेर भन्न थाले । मैले पनि बिस्तारै सबै कुरा खान थालेँ । रक्सी, चुरोट, गाँजा खाँदा लठ्ठ भएर होला मलाई विगत याद आउँदैनथ्यो । त्यसले नछाडुन्जेल मज्जा लाग्थ्यो । अनि खाने बानी नै बस्यो । नभई नहुने हुन थाल्यो’, उनी सम्झन्छिन् । 

कुलतमा फस्न थालेपछि उनको खर्च बढ्न थाल्यो । कृषि पेसा गरेर घरपरिवार चलाउँदै आएका उनको बुबाले भने जति खर्च पठाउन सकेनन् । उनी कहिले रासन सकियो, कहिले मोबाइल बिग्रियो, कहिले प्राक्टिकल जस्ता बहाना बनाउँदै घरबाट पैसा माग्ने गर्थिन् । जसोतसो सकेजति पठाइदिन्थे । तर, पठाएको पैसा केही दिनमै सकिन्थ्यो । 

‘म यतिसम्म भएँ कि खाना नभए पनि बाँच्छु तर चुरोट, रक्सी र गाँजा नखाए बाँच्नै सक्दिँन भन्ने लाग्थ्यो । सधैँ एउटै बहाना बनाएर घरबाट कति पैसा पठाइदिन्थे र ? पैसा नहुँदा के गर्ने ? कसरी खाने ? मन पोल्थ्यो । नखाई जसरी हुन्छ नखाई नहुने हुनथाल्यो’, उनी सुनाउँछिन् ।

त्यसपछि उनको संगत केटा साथीहरूसँग बाक्लिन थाल्यो । पैसा नभएको बेला केटाहरूले नै सुन्तलीलाई रक्सी, चुुरोट, गाँजा खुवाउँथे । जब उनी नशामा हुन्थिन्, उनका केटा साथीहरूले उनीसँग शारीरिक सम्बन्ध राख्थे । उनी तयार हुन्थिन् । उनी भन्छिन्, ‘जसरी पनि मलाई त्यो नखाई हुन्थेन । पैसा अरु नभएपछि के गर्ने ?’ 
हिजोआज उनको दिनचर्या फेरिएको छ । यौन व्यवसायलाई नै उनले जीविका चलाउने माध्यम बनाएकी छिन् । उनी दैनीकजसो हिजोआज नयाँनयाँ पुरुषहरूसँग शारीरिक सम्बन्ध राख्छिन् ।  ग्राहकअनुसार शुल्क लिने गर्छिन् । 

गाउँमा घरपरिवारलाई मार्केटिङ गर्छु भनेर उनले ढाँटेकी छिन् । घर खर्च पनि बेलाबेला पठाइराख्छिन् । छोरीले मार्केटिङबाट राम्रो कमाएको र घर खर्च धानेको भन्दै उनका अनपढ बाबु—आमा दंग छन् ।

झुटो बोलेर उनले परिवारलाई खुसी बनाएकी छिन् । तर, उनी आफू खुसी नभएको अनि मनदेखि नहाँसेको भने वर्षाैँ भइसक्यो । हिजोआज जब उनी कुनै सम्बन्ध नै नभएको परपुरुषसँग पैसाको बार्गेनिङपछि ‘यौन सम्बन्ध’ का लागि तयार हुन्छिन्, उनलाई आत्मग्लानि हुन्छ । मन दुख्छ, उनी कतिपटक रोएकी छिन् । तर, ‘मर्नुभन्दा बौलाउनु ठिक’ भन्दै उनी आफ्नो मन सम्हाल्ने गर्छिन् । 

‘सायद तीन वर्षअघि ममाथि त्यस्तो हुँदैन थियो भने आज म स्टाफ नर्स पढेर पनि जागिर खाँदै हुन्थे कि होला ! के गर्नु ? सोचे जस्तो जिन्दगी हुुन्न रैछ क्यारे’, आँखाभरि आँसु टिलपिलाउँदै उनी भन्छिन् । 

उनले कक्षा ११ पास नगर्दै कलेज जान छाडेकी थिइन् । अब उनको एउटामात्रै सपना छ । आफू स्टाफ नर्स बन्न नसकेपछि बहिनीलाई बनाउने । ‘हामी दुई दिदीबहिनी हौँ । मेरो सपना मैले पूरा गर्न सकिँन । बहिनी छ, अब आउँदो वर्ष एसईई दिन्छे । त्यसलाई स्टाफ नर्स बनाउने धोको छ’, उनी भन्छिन् । 

कोरोनाको समयमा उनले केही समय ‘यौन व्यवसाय’ गरिनन् । तर, अब निरन्तरता दिने सुरमा छिन् । थप केही वर्ष यही पेसाबाट भएको कमाई अन्य पेसामा लगानी गरेपछि यो पेसा छाड्ने उनको सोच छ । भन्छिन्, ‘अब केही वर्ष यही काम गर्ने अनि होटल या कपडा पसल खोलेर बसौँ कि भन्ने सोच छ । तर, सोच्या जस्तो, भन्या जस्तो जिन्दगी हुँदैन । तर बहिनीलाई स्टार्फ नर्स बनाएर मर्न पाए हुन्थ्यो भन्ने मात्रै छ ।’ (न्युज कारखाना)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको