१ आश्विन २०७८, शुक्रबार

काउण्ट डाउन सुरु भएको जागिरे जीवनको चर्चा


जीत बहादुर शाह
२९ श्रावण २०७८, शुक्रबार

मेरो पुगनपुग अट्ठाइस वर्षे जागिरे जीवनको काउण्ट डाउन सुरु भएको छ । त्यो पनि महिनामा होइन कि दिनमा । त्यसपछि मैले दशबजे अफिस जाने हतारो गर्नु पर्ने छैन र निजामति पोशाकमा सजिनु पनि आवश्यक हुने छैन । जीवनमा पार गरेका विभिन्न घुम्तीहरुमध्ये अवश्य नै यो घुम्ति अलि बढी घुमाउरो हुनेछ । कारण करिव तीन दशकको उर्वर जीवन खर्चिएको अवधिलाई बिर्सन त्यत्ति सजिलो हुने छैन । तथापि मैले यतिबेला हेलेन केलारको एउटा भनाइ सम्झिरहेको छु – ‘जीवनमा जब खुसीको एउटा ढोका बन्द हुन्छ, त्यत्तिबेलै खुसीको अर्को ढोका खुलिसकेको हुन्छ तथापि कतिपय मानिसहरुले लामो समयसम्म खुसीको बन्द भएको ढोकालाई नै हेरिरहेका हुन्छन् । त्यसकारण पनि उनीहरुले आफ्नो निम्ति खुलेको खुसीको अर्को नयाँ ढोका नै देख्न सक्दैनन् ।’ मैले सोचेको छु, हेलेन केलारको यही प्रेरक भनाइलाई नै आधार बनाएर मैले यसपछिको बाँकी जीवन जिउने हिक्मत गर्नेछु ।

मलाई निख्खर सम्झना छ, कतिपय कार्यालय र जिल्लाबाट अर्को कार्यालय वा जिल्लामा सरुवा भएर जाँदा पनि नमीठो अनुभूति हुने गर्थ्यो। किनभने छोड्न लागेको जिल्ला र कार्यालयसँग नजाँनिदो तरिकाले मीठो माया बसिसकेको हुन्थो भने सरुवा भएर जाँदै गरेको नयाँ जिल्ला र कार्यालय भनेको अपरिचित आफन्त जस्तै हुन्थ्यो । कतिपय अवस्थामा त मुटुलाई ढुङ्गाले थिचेर पनि बाटो लाग्ने काम गरिन्थ्यो । घरपायकको र त्यो पनि मलाई मन पर्ने सहजिकरणको अवसर प्राप्त भइरहने शैक्षिक तालिम केन्द्र, बाँकेबाट जुम्ला सरुवा हुँदा त पीडाले मेरो आँखाबाट आँसु खसेको क्षण अहिले पनि ताजै छ । तथापि जुम्ला गएपछि थाहा भयो, विधाताले मलाई अझै जीवनमा थप खुसी र थप सफलता दिनको लागि जुम्ला पठाएका रहेछन् । हेलेन केलारले भने जस्तै मेरो खुसीको अर्को नयाँ ढोका खुलेको देखें र भोगें पनि । पुगनपुग तीन वर्ष जुम्लामा बस्दा समेत अझै पनि त्यही बसिरहुँ जस्तैगरी ह्रदय जुम्लातिरै तन्किरह्यो । मैले निष्कर्ष निकाले कि मैले जुम्लामा काम गर्ने अवसर नपाएको भए यो देशलाई पढेपनि बुझ्न नसकी मेरो जीवन सकिदोरहेछ ।यो पङ्तिकारको नेतृत्वमा त्यतिबेलाको जुम्लाको जिल्ला शिक्षा कार्यालयको टिमले गरेको राम्रो कामको मूल्याङकन गरी त्यत्तिबेलाको शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले निजामति सेवा पुरस्कारका लागि यो पङितकारको नाम सिफारिस गरेको पनि याद छ र त्यत्तिबेलाको शिक्षा मन्त्रालयको प्रशासन महाशाखाको सहसचिव प्रेमकुमार राईले समेत पुरष्कार घोषणा हुनु दुई दिन अघिसम्म तपाईको नाम छ है भनेको पनि याद छ । त्यसपछि भने यो पङ्क्तिकारको नाम काटिएछ र अरु कसैको थपिएछ । यसका साक्षी उल्लिखित तीन जना पात्रहरु अहिले पनि जिउदै छौं । नाम काटिए पनि सम्भावित पुरस्कार पाउनेमा मेरो नाम सूचिकृत हुनुमा जुम्लाको योगदान भएको कुरालाई अहिले पनि सम्झिरहेको छु । त्यो बेलासम्म निजामति पुरस्कार त्यत्ति बिवादास्पद भइसकेको थिएन पनि । अब भने केही घटनाक्रमले गर्दा बिवादास्पद भएको छ । अब त्यस्ता अस्वस्थ र आग्रहपूर्वाग्रहबाट आक्रान्त प्रतियोगिताहरुमा रेटिनु पर्ने पनि छैन भन्ने कुरामा पनि यो पङक्तिकार सहर्ष ढुक्क हुने अवसर मिलेको छ ।

जागीरे जीवनको अधिकांस समय सेवा प्रवाहको फ्रण्टलाइनमा काम गर्ने अवसर मिल्यो । नागरिक समाज र सेवाग्राहीसँग प्रत्यक्ष रुपमा अन्तरसंवाद र परिचय गर्दैै जागीरे जीवनमा समर्पित भएर काम गरियो । आफूले काम गरेको पेशा र क्षेत्र आफ्नो कारणले सुधार गर्न नसके पनि आफ्नो कारणले अस्तव्यस्त नहोस् भन्ने कुरामा बहुतै संवेदनशील भएर पाइला बढाइयो । तथापि संघीयता पछिका सरकारहरु शिक्षालाई प्राथमिकता नदिएर ध्वस्त पार्ने क्रममा सुरिएको हुँदा यो पङ्क्तिकारको केही जोर चलेन । यसको बारेमा सम्बन्धित पदाधिकारीहरुसँग भेटेर पनि कुरा गर्‍यो यो पङ्क्तिकारले । सम्बन्धित क्षेत्रको सुधारका लागि कलम पनि निरन्तर चलाइरह्यो यो पङ्क्तिकारले । तथापि निर्णायक तहमा काम गर्ने उच्च पदस्थहरुको ध्यानाकर्षण हुन सकेन । निदाएकालाई ब्युझाउन सकिन्थ्यो तर निदाएको बहाना गर्नेहरुलाई ब्युझाउन गाह्रो भयो । कतिपय फ्रण्टलाइनका सेवाग्राही र मेरा पाठकहरुले त यो अस्तव्यस्त अवस्थाको निम्ति जिम्मेवार तपाई पनि हो भन्न समेत बाँकी राखेनन् । त्यो पनि सहेर बसियो । अब भने त्यो स्थितिको सामना गर्नु पर्ने छैन ।

जागीरको पछिल्लो समयमा राष्ट्रिय परीक्षा बोर्डमा काम गरिरहँदा उच्च तहका पदाधिकारी र नीतिगत व्यवस्थाका कारणले सेवाग्राहीबाट मनग्गे माया पाउन नसकेको अनुभूति भइरहेको छ । सेवाग्राहीको समस्या र पीडालाई देख्दा आफै मर्माहत हुनु पर्ने अवस्था छ । उनीहरु रुँदा आफू हाँस्न सकिएको छैन । उनीहरुसँगै रुनु पर्ने भएको छ । बिचरा विद्यार्थीहरु एउटा मामूली कामको लागि पटकपटक कार्यालयमा धाउनु पर्ने हुन्छ । मैले काम गरिरहेको परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयहरु भनेका सिफारिस कार्यालयहरु हुन् । यी कार्यालयहरुलाई विद्यार्थीहरुको प्रमाणपत्रमा एक थोप्ला वा अक्षर सुधार गर्न र सच्याउने अधिकार छैन । माथि सिफारिस गर्दा हप्तौं होइन, महिनौं लाग्ने गर्दछ । विद्यार्थीहरुले सोच्छन् कि यही अफिसकै कारणले मैले दुःख पाएको छु, यिनै कर्मचारीकै कारणले मैले दिनदिनै धाउनु परेको छ र काममा ढिलाई भइरहेको छ । वास्तविकता भने अर्कै छ । उच्च निकायले यस्ता अधिकारहरु तल दिन पनि चाहदैन । सबैतिरबाट माथि नै जाने भएपछि समयमै काम गर्न पनि भ्याउदैन ।

नेपाल सरकारको यो रबैयाले सवैभन्दा बढि अप्ठ्यारो कर्णाली प्रदेशका विद्यार्थीहरुलाई भएको छ । अङक पद्धतिमा नतीजा प्रकाशन हुने विद्यार्थीहरुको प्रमाणपत्रमा सानो त्रूटी देखियो भने पनि सम्बन्धित विद्यार्थी राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमै जानु पर्छ । एउटा हुम्लाको विद्यार्थी त्यही कामका लागि केन्द्रीय राजधानी धाउनु पर्‍यो भने उसले कम्तिमा कञ्जूस्याइ गर्दा पनि पचासहजारको बजेट बनाउनु पर्छ । काठमाडौं गएर काम उत्तिखेरै हुदैन । हप्ता दिन बस्नु पर्ने हुन्छ । दुःखजिलो गरेर सम्बन्धित तह उत्तीर्ण गरिसकेपछि पनि प्रमाणपत्रको लागि यत्ति सास्ती व्यहोर्नु पर्ने हो भने विद्यार्थी र अभिभावकको अवस्था के होला ? सरकार र परीक्षा बोर्ड प्रतिको उसको धारणा कस्तो बन्ला ? विद्यार्थीका आँशु देखेर कतिपटक त म आफै पनि रोएको छु । नीतिगत रुपमै सुधार गर्नका लागि नेताहरुलाई अनुरोध गरेको छु, राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेका गोष्ठी, फोरम र वेभिनारहरुमा यस्ता कुराहरु राखेको पनि छु । तथापि केही सुधार भएको छैन । यस्ता सवालहरुमा यो पङ्क्तिकार नाङ्गाको देशमा धोवी जस्तै आफै बेकुफ भएको छ ।

जागिरबाट बाहिरिए पछि भने यसरी नै निरन्तर बेकुफ हुनु पर्ने छैन ।जागीर खाने तरिका नजानेरै जागीर खाने काम सम्पन्न गरिदैछ जस्तो लाग्छ मलाई । गाउँमा जन्मेको सिधासाधा गरीव किसानको छोरो परियो । बाबाआमाले दिएको संस्कार अनुसार नै काम गरियो । सरकारले मुस्कान सहितको सेवाका कुरा गरेपछि त झन् मक्खै परेर काम गरियो । तथापि वास्तविकता त्यस्तो रहेनछ । त्यस्तो काम आकाशबाट नियाल्दा पूजनीय पनि नहुदोरहेछ । पहिचानयोग्य पनि नहुदोरहेछ । त्यस्ता कर्मचारीलाई माथिले नचिन्दा रहेछन् । यसका लागि त आफूलाई कुमार प्रवृत्तिमा भन्दा पनि गणेश प्रवृत्तिमा ढालेर काम गर्नु पर्दोरहेछ । यो कुरा यो पङ्क्तिकारलाई धेरै पहिलेदेखि नै बोध त थियो तथापि आफूलाई त्यस्तो प्रवृत्तिमा परिवर्तन गर्न सकिएन । त्यसकारण यसले सेवाग्राहीको माया र सद्भाव पाए पनि उच्च तहबाट न त पुरस्कार पायो न त प्रोत्साहन नै । तथापि सबैभन्दा ठूलो कुरा सेवाग्राहीको सेवा नै रहेछ । रातमा मस्तसँग निद्रा दिने र ब्युझिदा मुस्कान दिने पनि त्यही रहेछ । त्यसका लागि यो पङक्तिकारले कहिल्यै पनि प्रतिस्ठाको क्षेत्रमा गरीविको महसुस गर्नु परेन । आफू गरीव भएर मलाई यो गर्व गर्ने संस्कार दिनु भएकोमा मलाई जन्म दिने मेरो बाबाआमा प्रति आभारी छु ।

सारमा सरकारी जागीर खाने भनेको मालिक भएर स्वतन्त्रतापूर्वक जीवन जिउने भनेर खाने पेशा होइन । सेवा, सुविधा पर्याप्त पाए पनि उसले कतै न कतै स्वाभिमान गुमाएको हुन्छ । जव स्वाभीमान गुम्छ । व्यक्तिलाई पीडा महसुस हुन्छ । निदाउने बेला गुमेको स्वाभीमानको झझल्को आयो भने, न त निद्राले साथ दिन्छ न त मनमा शान्ति र अनुहारमा कान्ति नै हुन्छ । हाम्रा धेरै उच्च पदस्थ कर्मचारीहरु सुविधा सम्पन्न जस्ता देखिए पनि उनीहरुको लागि मनमा शान्ति र अनुहारमा कान्ति दुर्लभ हुने गर्दछ । त्यो शान्तिविहीन र कान्तिविहीन जागिरे जीवन मैले बाँच्नु परेन । यसैमा मलाई गर्व छ । यसका लागि धन्यवाद मलाई माया र हौसला प्रदान गर्ने पूजनीय नागरिक समाज र सेवाग्राहीलाई । यो जागिरे जीवन पछिको बाँकी उन्मुक्त जीवनका लागि समेत पूजनीय नागरिक समाज र सेवाग्राहीलाई मैले मेरो जीवनको अमूल्य सम्पत्तिको रुपमा सम्मान गर्ने कुरामा मभित्र एक रत्ति पनि सन्देह छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको