२ कार्तिक २०७८, मंगलवार

लुम्बिनीमा नयाँ प्रदेश सरकार बनाउन आज ३ बजेसम्म समय



२८ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासँगै नयाँ सरकार बनाउन दिइएको समय बिहीबार अपरान्ह ३ बजे सकिँदैछ ।

पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिएका छन् ।

बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूमा आह्वान गरेका छन् ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । उक्त गठबन्धनबाट माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव थियो । केसी मुख्यमन्त्री हुने गरी आज दाबी पेश गर्न लागिएको छ ।

गठबन्धनका तर्फबाट ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ । एमालेका पक्षमा लुम्बिनीमा ३८ सांसद छन् । लुम्बिनीमा सरकार गठनका लागि ४१ सदस्य भए बहुमत पुग्छ ।

अल्पमतमा परेपछि नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर बुधबार राजीनामा बुझाएका थिए ।

पोखरेलले राजीनामा दिएका थिए । उनीविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यो प्रस्ताव छलफलका लागि प्रदेश सभामा पेश समेत भइसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको