२ कार्तिक २०७८, मंगलवार

हतियारसहित वडाध्यक्ष पक्राउ




२६ साउन, धनगढी । कैलालीको कैलारी गाउँपालिका– ९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुईजना हतियारसहित पक्राउ परेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मसुरियामा प्रहरी चेकजाँचका क्रममा सोमबार राति करिब १२ बजेतिर इजाजतविनाको हतियारसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५३ वर्षीय वडाध्यक्ष चौधरीसँगै धनगढी उपमहानगरपालिका– २ का ४६ वर्षीय मोहित साह पनि हतियारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । प्रहरीका अनुसार साहले चलाएको बा.१७च १३१२ नम्बरको जिप चेकजाँचका क्रममा १२ बोर एक थान, त्यसको कार्टिक एक थान तथा पोइन्ट टुटु एक थान र त्यसमा प्रयोग हुने गोली १० थान बरामद गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर बन्दुक चौधरीको र पोइन्ट टुटु साहको रहेको खुलेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए । जिपमा धनगढी उपमहानगरपालिका– १ का रूपक मल्ल र कैलारी गाउँपालिका– ९ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । वडाध्यक्ष चौधरी यसअघि पनि वन मुद्दामा मुछिएका थिए । वन अतिक्रमणको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी महिनौँ फरार भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको