२ कार्तिक २०७८, मंगलवार

एमाले युवा संघमा पैसाको प्रभावः अध्यक्षले २ लाख, महासचिवले डेढ लाख वार्षिक लेबी



२५ साउन, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र महत्वपूर्ण जिम्मेवारीमा पैसाको प्रभाव बढी देखिन्छ । मोटो रकम लेबी स्वरूप बुझाउन सक्ने मानिसले ठुलो जिम्मेवारी पाउने र आर्थिक रूपमा कमजोर, सैद्धान्तिक, वैचारिक क्षमता भएकाहरूले जिम्मेवारी नपाउने गरेको पाइन्छ । हिजोको गर्भिलो इतिहास भएको राष्ट्रिय युवा संघ आधारभूत वर्गबाट टाढिदै सिमित मानिसको वरिपरि घुमिरहेको छ ।

हाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षले वार्षिक २ लाखसम्म लेबी बुझाउने निर्णय गरिएको छ । त्यस्तै उपाध्यक्षले वार्षिक १ लाख, महासचिवले डेढ लाख, केन्द्रीय पदाधिकारीलाई ७५ हजार र केन्द्रीय सदस्यहरुलाई ५० हजारसम्म लेबी तोकिएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघको नेता बन्न मोटो रकम तिर्नुपर्ने नियम लागू भएपछि संगठनभित्र निम्न वर्गका नेता कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको छ । राष्ट्रिय युवा संघका एक नेताका अनुसार केन्द्रीय कमिटीमा बस्ने भए यति रकम बुझाउनुपर्छ भनेर मोलतोल गर्ने गरिएकाले विपन्न समुदायका युवाहरु नेतृत्वमा आउनै नसक्ने अवस्था छ । पैसा तिर्नेहरूले मात्रै महत्वपूर्ण पदिय जिम्मेवारीमा बस्न पाउने हो भने धनीमानी वा डनहरुमात्रै नेता बन्ने स्थिति आउने भन्दै असन्तुष्ट पक्षले गुनासो गरेको छ ।

२०६९ फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा सम्पन्न युवा संघको आठौं महाधिवेशनबाट अध्यक्षमा महेश बस्नेत निर्वाचित गरेयता ९ वर्षमा महाधिवेशन नै नगरी राष्ट्रिय युवा संघ नेपालको ७ वटा अध्यक्षहरू बनाएर नयाँ रेकर्ड नै कायम गरेको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले महाधिवेशन नै नगरी टीके अध्यक्षका भरमा युवा संघ चचाउँदै आएको छ ।

महेश बस्नेत मन्त्री भएपछि निरुदेवी पाल अध्यक्ष भएता पनि सर्वस्वीकार्य बन्न नसकेछि राजीव पहारी अध्यक्षलाई बनाइयो । महाधिवेशन गर्ने जिम्मेवारी पाएका पहारीले ३ वर्षमा पनि महाधिवेशन गर्न नसक्दा रमेश पौडेललाई अध्यक्ष बनाइयो । त्यसै बीचमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएर नेकपा बनेपछि नाम परिवर्तन गरी बनाएको राष्ट्रिय युवा संघको अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ भए ।

२०७७ फाल्गुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्रलाई पूर्ववत २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काई दिएपछि पार्टी अध्यक्ष केपी ओली समुहको नाम परिवर्तन गरी बनाइएको राष्ट्रिय युवा संघको अध्यक्ष बच्चनबहादुर सिंह र वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधव नेपाल समुहको युवा संघका अध्यक्ष नरेश शाही भए । यस बीचमा अध्यक्ष बच्चनबहादुर सिंह र अर्का अध्यक्ष नरेश शाही २ वटा समानान्तर कमिटी बनाई गतिविधि गरिरहेको अवस्थामा आठौं महाधिवेशनपछि सातौं अध्यक्षका रूपमा किरण पौडेलले जिम्मेवारी सम्हालिरहेका छन् ।

विधान अनुसार युवा संघको अधिवेशन प्रत्येक तीन–तीन वर्षमा हुन पर्ने भनिएता पनि दुवै पक्षले विधानको धज्जी उडाएका छन् । बुटवल महाधिवेशन ताका युवा संघको सदस्यता नै नलिएका र प्रतिनिधि नै नभएका थुप्रै मानिस युवा संघ पदाधिकारी र महत्वपूर्ण जिम्मेवारीमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको