२ कार्तिक २०७८, मंगलवार

उज्यालोको खोजी



चकमन्न रात,
सुनसान मौनता
अनि जुनकिरीको सहारामा
उज्यालो खोज्दै हिँडेका छन्
केही मान्छेका पाइलाहरू
आज वस्तीतिर ।।

एउटै सपना छ,
हरेक मान्छेसँग
युगौंदेखीको सपना
अर्थात् उज्यालो देख्ने सपना
उज्यालो बाँड्ने सपना
उज्यालो साँच्ने सपना
ताकि भोली कहिल्यै बस्न नपरोस्
अँध्यारोभित्र
सधै सधै झैं गुम्सिएर काला रातहरूमा ।।

किनकि, यहाँ हरेक रात,
बलात्कृत हुन्छन रहरहरू
प्रताडित भएका छन सपनाहरू
पासोमा पारिन्छन्
स्वाभिमान र आत्मसम्मानहरू
छिर्के दाउमा हार्छ इमान्दारीता
त्याग र समर्पण
अनि किनबेच हुन्छन् मान्छेहरू
यिनै अँध्यारा रातहरूमा
र हरेक रातहरू पढिन्छन्
बिहानै समाचार बनेर ।।
के गर्नु ?
त्यही अँध्यारो हटाउन
एका बिहानै उदाउन खोज्छ
एक थान सुर्य
त्यही उज्यालोलाई पनि छोप्न
आईपुग्छन्
बादलका झुण्डहरू
अनि कसरी पूरा हुन्छ त
मान्छेहरूको उज्यालो देख्ने सपना ।।

यो रात नभइदिएको भए
नत निशाचरहरू
सल्बलाउँथे
न त अँध्यारोमा बुनिन्थे
कुटील षडयन्त्रका चक्रव्यूहहरू
त्यसैले,
बहिष्कार गर्नुपर्छ रातहरू
र भन्न सक्नुपर्छ अँध्यारो मुर्दावाद
र टिकाई राख्नुपर्छ
उज्यालो युगौंयुगसम्म
आशाको दियो बालेरै ।।

कवि रिजाल गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको