३ कार्तिक २०७८, बुधबार

टोकियो ओलम्पिक समापनः अमेरिकाले लगातार ३ पटक ओलम्पिक गेम्स जित्दै गर्यो ह्याट्रिक



२५ साउन, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् ।

टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिकाले प्रथम स्थान ओगटेको छ । अमेरिकाले ४१ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जित्यो । त्यस्तै चीनले ३८​ स्वर्ण, ३२ रजत र १८ कास्यसहित कुल ८८ पदकसहित दोस्रो स्थान हासिल गर्यो ।

टोकियो ओलम्पिकमा अन्तिम दिनसम्म अमेरिका दोस्रो स्थानमा थियो । आइतबार अन्तिम दिन महिला भलिबल र महिला बास्केटबलमा स्वर्ण जितेपछि चीनलाई उछिनेर अमेरिका पहिलो भयो । अमेरिकाले लण्डन ओलम्पिक, रियो ओलम्पिक र यस पटकको टोकियो ओलम्पिकमा समेत शीर्ष स्थान हासिल गरी ह्याट्रिक गरेको छ । २००८ को बेइजिङ ओलम्पिकमा भने चीनले अमेरिकालाई उछिनेर पहिलो स्थान हासिल गरेको थियो ।

आयोजक राष्ट्र जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जितेर तेस्रो स्थानमा आएको छ । २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेको बेलायत चौथो र २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेको रुसी ओलम्पिक कमिटी पाँचौ भयो । ओलम्पिक खेल्न रुसमाथि प्रतिबन्ध लगाइएकाले रुसी ओलम्पिक कमिटी (आरओसी) को ब्यानरमा भाग लिएको थियो।

ओलम्पिकमा अस्ट्रेलियाले छैटौं, नेदरल्यान्डले सातौं, फ्रान्सले आठौं, जर्मनीले नवौं र इटलीले दशौं स्थान हात पारे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको