३१ आश्विन २०७८, आईतवार

२० वर्षको भाले मरेपछि गरियो दाहसंस्कार, कपाल खौरेर नुन बारे शिवले



२३ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा निवासी शिव सुवेदीले लामो समय पालिएको कुखुराको भाले मरेपछि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

१९ वर्ष १० महिना पालेको भाले गएको साउन १६ गते मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए । उनका अनुसार गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर भालेको दाहसंस्कार गरिएको हो ।

‘हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गर्यौँ ।’ उनले भने, ‘कपाल खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ ।’

भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाजसमेत भावुक बनेको उनले बताए । भाले २० वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीको भनाई छ ।

यति लामो समय भाले पाल्ने सुवेदीको कुनै योजना पनि थिएन । उनका बुबा ‘रिटायर्ड’ सरकारी शिक्षक थिए । बुबाको पेन्सन घरमै आएर दिने शिक्षक थिए, घोराहीका डेमकान्त अधिकारी । तिनै अधिकारीलाई खुवाउन त्यो भाले पालिएको थियो ।

तर, त्यो भाले पालेको पाँच–सात वर्षसम्म पनि अधिकारीलाई खुवाउने कुनै अवसर परेन ।

त्यति वेलासम्म भाले १४ वर्ष पुगिसकेको थियो । भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने निधो गरे ।

भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जालमा चर्चा पायो । त्यही बखत उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने पनि योजना बनाए । ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ,’ उनले भने, ‘तर, धेरैले खर्चिलो हुन्छ, सकिँदैन भनेपछि त्यो प्रक्रिया नै अगाडि बढाउन पाइनँ ।’

(स्रोतः नेपालिज टाइम्स्)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको