२ कार्तिक २०७८, मंगलवार

आज भ्वोइस अफ नेपालको फाइनल, कसले मार्ला बाजी ?



२३ साउन, काठमाडौं । फ्रेन्चाइज रियालीटी गायन प्रतिस्पर्धा भ्वोइस अफ नेपाल सिजन–३ को अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम राजुबाट तारा श्रीस मगर, टिम प्रमोदबाट किरण गजमेर र टिम तृष्णाबाट ज्वाला राई यसअघि नै छनौट भइसकेका छन् ।

टीम दीपबाट उत्कृष्ट चारमा छानिएका दार्जिलिङमका आर्यन तामाङ भोटीङ राउण्डमा गोविन पुनलाई पछि पार्दै भ्वोइसको फाइनलमा प्रवेश गर्न सफल भएका थिए । सबैभन्दा कम उमेरका आर्यनलाई भ्वोइसको कान्छो भाइको नामले पनि चिन्ने गरिन्छ । झट्ट हेर्दा पनि निकै आकर्षक व्यक्तित्व भएका आर्यनको गायकी उमेरको तुलनामा निकै परिपक्व र खारिएको छ । शास्त्रिय संगीतको अध्ययन गरेका आर्यन सेमी क्लासिकल गीतहरू निकै सिर्जनशिल तवरले गाउन सक्छन् । पछिल्ला केहि एपोसोडमा उनले आफ्नो विधाभन्दा फरक पपशैलीका गीतहरूमा पनि उत्तिकै मिठो प्रस्तुती दिएका छन् । नेपालका अलावा उनले सिंगो सिक्किम र दार्जिलिङको भोट पाउनेछन् । यसकारण पनि भ्वोइसको ट्रफी आर्यनले उचाल्न सक्छन् भन्नेमा पनि ठुलो जनसर्थन रहेको पाइन्छ ।

त्यस्तै टिम प्रमोदमा सुरूदेखिनै आफ्नो प्रभाव जमाएका किरण गजमेर भोटीङ राउण्डमा सिक्किमका रवि गहतराज लाई पछि पार्दै फाइनलमा प्रवेश गरेका थिए । भ्वोइसको ब्लाइण्ड अडिशनमा ‘देखेर तिमिलाई’ बोलको गीत गाएर चारवटै जजको मन जितेका किरण सुरूमै चर्चाको शिखरमा पुगे । आकर्षक व्यक्तित्वका धनी किरण स्टेजमा निक्कै खुलेर प्रस्तुती दिन्छन् । उनलाई भ्वाइसमा नेपाली बाबु उपनामले पनि बालाइन्छ । उनले सेमी क्लासिकल, सफ्ट रक, पप र लोकशैलीका गीतहरू गाइसकेका छन् । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्ने किरणले पनि नेपालका अवाला आफ्नो समुदायबाट एकमुष्ट भोट पाउने देखिन्छ । अमेरिकाबाट भ्वोइसमा प्रतिस्पर्धा गर्न नेपाल आएका किरण भ्वोइस ट्रफी उचाल्न उपयुक्त प्रतिस्पर्धी हुन् भन्नेमा पनि निक्कै ठुलो जनसमर्थन रहेको छ ।

त्यस्तै टिम राजुबाट उत्कृष्ट चारमा छानिएकी तारा श्रिस मगर भ्वोइस अफ नेपालको इतिहासमै फाइनलमा प्रवेश गर्ने पहिलो महिला प्रतिस्पर्धी हुन् । उनी भोटीङ राउण्डमा सोनाम शेर्पालाई पछि पार्दै फाइनलमा प्रवेश गरेकी थिइन् । रक विधाका गीत गाउने तारा श्रीस मगर लाइभ राउण्डमा सालैजो गाएपछि एकाएक चर्चामा आइन् । त्यसयता ताराले निरन्तर आफ्नो समुदायको संस्कृति झल्किने भेषभुषामा विभिन्न लोकशैलीका प्रस्तुतीहरू दिएकी छन् । एकमात्र महिला प्रतिस्पर्धी भएकाले ताराले भ्वोइसको ट्रफी उचाल्नुपर्छ भन्नेमा पनि ठुलो समर्थन छ । यसकारण ताराले आफ्नो समुदायको अलावा महिलाहरूबाट सान्त्वना भोट पाउने सम्भावना बढि छ ।

त्यस्तै टिम तृष्णाबाट ज्वाला राई उत्कृष्ट चारमा छानिएका छन् । उनी भोटीङ राउण्डमा अफ्रिता खड्कीलाई पछि पार्दै फाइनलमा पुगेका हुन् । ज्वालाले सुरूदेखि नै प्लेब्याक शैलीका गीतहरूमा बढी प्रस्तुती दिएका छन् । स्टेजमा निर्धक्क प्रस्तुती दिने ज्वालाको गायकी पनि निकै मिठो छ । उनलाई भ्वोइसमा चुलबुले भाइको नामले बोलाइन्छ । मिठो प्रस्तुती र चक्लेटी व्यक्तित्वका कारण ज्वालाले पनि आफ्नो समुदायको मात्र नभएर धेरै नेपाली भोट पाउन सक्छन् । यसकारण ज्वाला भ्वाइसको ट्रफी उचाल्न उपयुक्त प्रतिस्पर्धी हुन् भन्नेमा पनि धेरैको समर्थन् छ ।

एउटै समुदायको प्रतिनिधित्व गर्ने भएकाले ज्वाला र ताराको भोट बाडिने अड्कालबाजीहरू पनि आएका छन् । र यसको प्रत्यक्ष फाइदा किरण र आर्यनलाई पुग्ने भएकाले विजेता बन्ने सम्भावना बढि छ भन्ने बुझाई पनि छ ।

जे होस् किरण, तारा, ज्वाला र आर्यन चारवटै प्रतिस्पर्धी आफैमा अब्बल छन् । आफ्नो टीमको विजेता भइसकेकाले जसले भ्वोइसको ट्रफी उचाले पनि अन्याय हुनेछैन । चारैजना प्रतिस्पर्धीलाई शुभकामना । खुल्ला स्टेजमा भव्य तवरले गरिने भ्वोइसको फाइनल भने कोरोना महामारीका कारण यसपाली भ्वाइसकै स्टेजबाट प्रत्यक्ष प्रशारण गरिदैछ । हिमालय टेलीभिजनमा आज साँझ ८ बजेबाट फाइनल लाइभ प्रशारण हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको