२ कार्तिक २०७८, मंगलवार

भैंसी किन्न आउँदा बास मागे, लुटेर भागे



२३ साउन, दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ रावतकोटमा भैँसी किन्ने बहाना आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन् ।

बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ ।

सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएको थप उपचार सुर्खेतमा भइरहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

उनीहरूलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । सेतेको परिवार उपचारपछि फर्किएपछि मात्र के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

प्रहरीका अनुसार औषधि खुवाई लुटपाट गर्ने तीन जनाको अज्ञात व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाएको छ । स्थानीयले विभिन्न बहानामा लुटपाट गर्ने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको