२ कार्तिक २०७८, मंगलवार

महाकवि लक्ष्मिप्रसाद देवकोटाको घर किन भत्काइयो ?



२२ साउन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित घर भत्काएपछि विज्ञहरूले असन्तुष्टी जनाए । सोही सन्दर्भमा प्रतिष्ठानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै देवकोटा घर सबलीकरण गर्न नसकिने अवस्थामा भएकाले भत्काइएको स्पष्टिकरण दिएको छ ।

विज्ञहरूले इतिहास बोकेको घरलाई भत्काउनुको साटो सबलीकरण गर्दा उपयुक्त हुन्थ्यो भन्ने धारणा राखेपछि प्रतिष्ठानले घर भत्काउनु पर्ने कारणसहितको विज्ञप्ति जारी गरेको हो ।

उक्त घरलाई यथावन् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी ‘प्रस्तावित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले देवकोटा परिवारको नाममा मोहियानी हक रहेको घर र घरले चर्चेको १२ आना १ दाम जग्गा सरकारको सहयोगमा देवकोटा परिवारलाई २ करोड ५० लाख उपलब्ध गराई संग्रहालय निर्माणका लागि हकभोगमा ल्याएको हो । घर–जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट प्रतिष्ठानमा आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार देवकोटा घर २००० सालमा बनेको हो । सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो । उक्त घर विगत १५ वर्षदेखि प्रयोगमा नआएको र २०७२ सालको भूकम्पबाट थप क्षतविक्षत भएको थियो । प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक–पटक विशेषज्ञ प्राविधिक र सरोकारवालासँग बसेर सबलीकरण गर्न सकिने–नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्रस्तावित संग्रहालय सुविधाका दृष्टिले आधुनिक र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको