१ आश्विन २०७८, शुक्रबार

कृषि र कुर्सीको विज्ञान


जीतबहादुर शाह
२१ श्रावण २०७८, बिहीबार

एकाविहानै लामो समयको अन्तराल पछि एकजना मित्रको फोन आयो । नम्बर देख्ने बित्तिकै खुसी लाग्यो । फोन उठाएँ । भलाकुसारी भयो । विद्यालय उमेरमा हामी मिल्ने साथी थियौं । म उनको घरमा जान्थे, उनी मेरो घरमा आउथें । भान्सामा खानेकुरा केही नभएपछि बारीतिर गएर चनाको झाङै उखेलेर बारीको डिलमा बसेर गफिदै खान्थ्यौं । बदामबारीमा गएर पनि बदाम खनेर काचै खान्थ्यौं । काँक्रा र दूधे मकै झन मन परेको परिकार थियो । काँक्राका झाङ र मकैको बोटमै गएर काक्रा, मकै खान्थ्यौं । उनीसँग फोनमा भलाकुसारी हुने क्रममा विद्यालय उमेरमा उनी र म मिलेर गरेका यस्तै यस्तै सन्दर्भहरु सम्झनाको तरेलीमा सवार भए । मैले मित्रसँग यस्तै कुराहरुको उठान गर्दा मित्रले जवाफमा भने – ‘ती कुराहरु अव स्मृतिपटलमा मात्र बाँकी भए । हामीले बदाम, चना, केराउ, काँक्रा र दूधे मकै खाने ती बारीहरु त बाझिएका छन् । यसरी बाँझिएका छन् कि यी पाखाहरुमा पहिले हराभरा खेती हुन्थ्यो भन्ने हो भने अहिलेको पुस्ताले विश्वास गर्नसमेत गाह्रो हुने स्थिति आइसकेको छ ।’मैले पनि मेरो गाउँको त्यही कथा दोहोर्‍याएँ ।

मेरो गाउँ पनि उनको पहिलेको गाउँ जस्तै थियो पहिले । मेरो गाउँ पनि उनको अहिलेको गाउँजस्तै भएको छ अहिले । कतै कतै बारीका डिलका भग्नावशेषहरु देखिन्छन् । त्यो भन्दा बढी त्यहाँ पहिले बारी र खेत भएका प्रमाणहरु केही देखिदैनन् अचेल । बस्ती पनि भग्नावशेषमा रुपान्तरण भएको छ । मानिसहरु रुपान्तरणका कुरा गर्थे । नजाने, उनीहरुले भनेको रुपान्तरण पो यही हो कि ! बस्तीहरुमा बालबालिका र बृद्धबृद्धाहरु भेटिन्छन् । युवाहरु भेटिदैनन् गाउँमा । खाडीतिर गएका छन् । आफ्ना खेतबारी बाँझा बनाएर अबका गाउँका मानिसहरु सिमापारीबाट बिसादी सहितको उत्पादन ज्यूनार गर्छन् । हरिया मकै, दूधे मकै, काँक्रा, चना, बदाम आदि भेटिदैनन् अब । बारीहरु त जङ्गली झार र तितेपातीको घारीमा परिणत भएका छन् । जे होस् मेरो गाउँ रुपान्तरण भएको छ । नजाने, हाम्रा लिडरहरुले गर्ने भनेको रुपान्तरण यही पो हो कि !धेरैपछि आज मलाई मेरो अन्तर्दृृष्टिले भनिरहेको छ कि खेत र बारीमा पसिना बगाउने मानिसहरु कोही खाडीतिर लागिरहेका छन् भने कोही राजनीतितिर लागि रहेका छन् । राजनीतिको अन्तीम मक्सद भनेको कुर्सी रहेछ । जसरी र जे गरेर भएपनि कुर्सि । सिद्धान्त र दर्शन पनि जोगी हुनका लागि होइन कि कुर्सी पाउनका लागि प्रयोग गरिने अस्त्रहरु रहेछन् । कुर्सी पाउने सवालमा कतै आफूले बोकेको दर्शन र सिद्धान्त बाधक भयो भने कृषि र खेतबारीको काम छोडेजस्तै दर्शन र सिद्धान्त पनि तामेलीमा थन्किदा रहेछन् ।

हाम्रै अगाडि विभिन्न सिद्धान्त र वादका पिता होलान् जस्तै गरी व्याख्या गर्ने नेताहरु स्वयम् नै तिनले व्याख्या गरे भन्दा ठीक विपरित ध्रुवतिरको यात्रारम्भ गरिरहेका छन् । त्यसैले यसबाट प्रष्ट हुन्छ कि मुख्य कुरा कुर्सी हो । अरु जे गरे पनि गर् तर कुर्सी छोड्ने काम नगर् भन्ने सिद्धान्त नै मूल सिद्धान्त र मूल दर्शन रहेछ । यसको सारभूत निस्कर्ष नै अरु सब छोड् तर कुर्सी नछोड् भन्ने रहेछ ।अक्षर अर्थात वर्णका हिसावले कृषि र कुर्सी मिल्दा जुल्दा भए पनि त्यो बाहेक अरु सबै हिसावले फरक रहेछन् कृषि र कुर्सी । यिनीहरुलाई सञ्चालन गर्ने विज्ञान नै फरक हुदोरहेछ । कृषिले पसिना र पौरख खोज्दोरहेछ । कृषिले आफैप्रति अहोरात्र खटेर आफूलाई नै ध्यान दिने मालिक खोज्दोरहेछ । आफैलाई मलजल गरोस् र आफै जन्मेको माटोलाई उर्वर बनाओस् भन्ने चाहदोरहेछ । कुर्सीको विज्ञान भने त्यो भन्दा धेरै फरक रहेछ । यसमा त आफूलाई साथ दिएका र आफूलाई माथि उठाएका मानिसलाई बिर्सिएर अमूक शक्तिको पछि लाग्नु पर्दोरहेछ । बाहिर एउटा बोल्ने र भित्र अर्को गर्ने सवालमा माहिर हुनुपर्दो रहेछ । पसिना र पौरख भन्दा पनि यसमा तिकडम र छलकपट नभइ नहुने कुरा रहेछ ।

कृषिमा एकाहोरो माटो र पानीतिर लागेजस्तै कुर्सीमा त्यस्तो ग¥यो भने त मानिस बरबाद हुँदोरहेछ । परिवेश अनुसार यसमा प्राथमिकता क्रमलाइ बदल्न सक्नु पर्ने रहेछ । दल, गुट र फ्लोर त बदलेको बदल्यै गर्नुपर्दोरहेछ । अक्षर पनि उस्तै छन्, कृषि र कुर्सी उस्तै उस्तै हुन् भनेर कृषिको विज्ञान कुर्सीमा प्रयोग गर्‍यो भने त त्यो मानिस कुर्सीमा कहिल्यै नपुग्ने गरी सधैंका लागि बइत बग्दोरहेछ ।कृषिको नियम र विज्ञान संसारभरि एउटै हुने गर्दछ । कृषिलाई हुर्कनका लागि सबैतिर हावा, पानी र माटो चाहिन्छ । पवित्र मनले पसिना बगाउने मानिस चाहिन्छ । कुर्सीको नियम र विज्ञान भने देश र समाज अनुसार फरक फरक हुने गर्दछ । सभ्य, शिक्षित र विकसित मुलुकमा भने कृषि र कुर्सीको नियम केही हदसम्म मिल्दोजुल्दो हुनेगर्दछ । दुवैले पौरख र मेहेनत खोज्ने गर्दछन् । स्याहारसुसार र चाकरी पनि दशथरिको होइन कि एउटैको चाहदा रहेछन् । अर्थात कृषिले बालीनालीको मात्र स्याहारसुसार गर्ने कृपक खोजेजस्तै कुर्सीले पनि जनताप्रति समर्पित भइरहने नेता खोज्दोरहेछ । हाम्रो जस्तो अल्पविकसित र शिक्षामा पछि परेको मुलुकमा भने अघिपछि जता लागेपनि र जे गरेपनि चुनावको समयमा मासुचिउरा, बिजुलीपानी, सवारीका लागि इन्धन र हल्काफुल्का पकेट खर्चको जोहो गर्ने नेता खोजिदोरहेछ । त्यस्ता अल्पविकसित देशका नेताहरुले नेता भइसकेपछि अरु केही गर्नु पर्दैन, ऐनकानून र नियमहरु पनि बनाउनु पर्दैन । आफ्नो कार्यकालभरि अरुको खेदो खन्दै बसे पुग्छ । आफूले केही गर्न नसके पनि अरुले गरेको राम्रो कामको तर्ककुतर्क गरेर नराम्रो प्रमाणित गर्न सके पुग्छ ।

कुर्सीप्रतिको अनावश्यक मोह र कुर्सीको दुरुपयोगका कारण कृषि प्रधान देशको रुपमा नेपालले कमाएको इज्जत अव गुम्ने खतरा बढेको छ । कृषिसम्बन्धी तथ्याङक र विवरणहरुको अध्ययन गर्दा हरेक वर्ष मुलुकले ४० अरव रुपैयाँ भन्दा बढिको खाद्यान्न आयात गरेको देखिन्छ । १ अरव जतिको फलफूल आयात गरिन्छ । २ अरव भन्दा बढिको दुग्धजन्य पदार्थको आयात गरिन्छ । २ अरव भन्दा बढिको माछा तथा मासुजन्य पदार्थको आायात गरिन्छ । १२ करोड भन्दा बढिको त चिया आयात गरिदोरहेछ । यसरी हेर्दा हामीले वर्षेनी छ खरव भन्दा बढिको कृषिजन्य खाद्यपदार्थ आयात गरिरहेको अवस्था छ । जबकि आर्थिक वर्ष २०३५।३६ मा नेपालले २४ करोडको चामल निर्यात गरेको देखिन्छ । त्यसैताका उत्तर कोरियामा हाम्रो मुलुकले गहुँ निर्यात गरेको अभिलेख भेटिन्छ । अव भने हामी सबै कृषि भन्दा पनि कुर्सी खेतीतिर तानिएर होला, कृषि प्रधान मुलुक त थाहै नपाइ कृषि किनेर खाने मुलुकमा परिणत भइसकेछ । सायद यो पनि एकप्रकारको रुपान्तरण नै होला ।कुर्सीमा बस्नेहरुले सोच्नु पर्ने हो कि देश क्रमशः सङकटग्रस्त हुदैछ । मुलुकका उर्वर फाँटहरु बाँझा हुदैछन् । युवाशक्ति विदेश पलायन भइरहेको छ ।

मुलुक विदेशी सहयोग र रेमिट्यान्सले बाँच्नु पर्ने अवस्था छ । हरेक तीन वर्षमा विदेशी ऋण दोब्बर हुदै गएको अवस्था छ । आफ्नो कार्यकाल सकिन लागिसक्दा पनि विधायकहरुले कानून बनाउन सक्दैनन् । कानून नभए पछि सुशासन कायम हुने पनि कसरी ? अव के भयो अद्यावधिक हुन बाँकी छ, केही वर्ष अघिसम्म इथोपियामा शिक्षासम्बन्धी कानून थिएन । त्यहाँको शिक्षा मन्त्रीले जे बोल्यो त्यही कानून हुन्थ्यो । हामीकहाँ पनि अब करिव करिव त्यस्तै होला जस्तो छ । आँखाले देख्नेहरु जिउदै छन् । सरकारले विदेशीले मन दुखाउछ कि भनेर बोल्न मिल्दैन भन्छ । आफ्नो देशको सरकारको कुर्सीमा बस्नका लागि यहाँका नेताहरु शक्ति राष्ट्रको शरणमा पर्दछन् । स्थिति यस्तो भएपछि अब बाँकी नै पो के रहयो र ?कुर्सीको अनावश्यक छिनाझप्टी बढ्न थालेपछि कृषिको महत्व र उत्पादन घट्न थालेको हो । कृषिको उत्पादन र महत्व घट्नु भनेको श्रमप्रतिको श्रद्धाभाव घट्नु हो । स्वाभिमान र आत्मनिर्भरतामा खडेरी पर्नु हो । त्यही भएर त युवाहरु यहाँ सामान्य काम पनि गर्दैनन् तर बाहिर गए भने भाँडा माझ्ने काम समेत गर्दछन् । किनभने यहाँ काम गर्ने भन्दा पनि खुराफाँति गर्नेहरुको बोलवाला छ । त्यही भएरै मानिसहरु सिर्जनशील नभएर खुराफाँती स्वभावका भएका छन् । टोलटोलदेखि बालुवाटारसम्म खुराफाँति गर्ने दलालहरुको बिगविगी छ । दलाल भनेकै अरुको रगत र पसिनामा बाँच्ने जूका हो । जूकाले आफू कर्म गर्दैन तर कर्म गर्नेहरुलाई पासोमा पार्ने काम गर्छ । त्यस्तैखाले मानिसहरु कुर्सीको निम्ति नजीक र कुर्सीका निम्ति बाञ्छनीय योग्यता भएका अन्तर्गत पर्दछन् ।

कृषि र कुर्सी दुवैका लागि अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षालयहरु आफै दलालीमा संलग्न छन् । शिक्षालयमा विद्यार्थीहरु भर्ना भएको अभिलेख छ । कक्षा हुदैन । शिक्षक र प्राध्यापकहरुको सर्टिफिकेट र नियुक्ति राखिएको छ तर हाजिरी छैन । सर्टिफिकेट र नियुक्ति वापत अलिअलि प्रतिसत पाउछन् । कतिपय शिक्षा दिने भनी स्थापना भएका कलेजहरुका शिक्षा त होइन दलाली पाराले सर्टिफिकेट भने दिने काम हुन्छ । जन्मकालदेखि नै वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षाको माग गरिरहेकैहरु सत्तामा पुगेपछि त झन् यस्तो हरिविजोग भयो कि सिक्नु नपर्ने तर सिकेको सर्टिफिकेट पाइने । उल्टो तिनै नसिकेर पनि पाएका सर्टिफिकेटहरुका सामू सिकेर पाएका सर्टिफिकेटहरुले घुडा टेक्नु पर्ने । वास्तविक कृषक पाखा लाग्नु पर्ने । कृषि फर्म मात्र दर्ता गरी कागजपत्र मिलाएको तथाकथित कृषकले अनुदान र सम्मानको अवसर प्राप्त गर्र्ने । थुक्क बुद्धि ! यस्तो भएपछि कृषि उपज बेची खाने देश कृषि उपज बेसाइ खाने नभएर के हुन्छ त ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको