२० जेष्ठ २०८०, शनिबार

वनफेदी स्केचेज : भाग–२ (आख्यान)



………. । एउटा चिन्दै नचिनेको फुच्चेले बनाएका चित्रहरु कति चाँडै मनमाथि चढेछन् । एक्कासी मभित्र प्रतिविम्बलाई बर्षौदेखि चिनेको भान भरिएर आयो । दिमागले रोकिई भन्दाभन्दै मन हुत्तिएर आयो । एक्कासी सोध्न पुगेछु , “प्रतिविम्ब चाहिँ खोई त आजकाल ?”

सोधिसकेपछि पो झल्यास्स भएँ म । सोध्नु हुन्थ्यो या हुन्नथ्योको निचोडमा पुग्नु अघि नै आकृतिको स्वभाविक हाँसो मेरा नजरभरि भरियो । अनि थप स्वभाविक बोलीमै उत्तर पनि आयो, “अहिले त ऊ मामाघर गाको छ । पढाई पनि बन्द छ, त्यसैले ।”

ब्याग तानेर विस्तारै बिमा कम्पनीको ब्रोसर निकालेँ र उनीतिर लम्काएँ । उनले उही स्वभाविक ढर्रामा त्यसलाई तानिन् र हेर्न थालिन् । अघिसम्मको आकर्षणको त्यो अध्याय बन्द गर्नु थियो मलाई । अनि अर्को अध्याय थाल्नु पनि थियो अब मलाई । म त ग्राहकको संख्या बढाउन हिडेको मान्छे । खडेरी परेको बैंक खातालाई कमिसनरुपी कुलाले सिञ्च्याउन भिडेको मान्छे ।

“यो पढ्नुहोस् है । थप स्किमहरूको बारेमा भोलि बताउँला ।” यति भन्दै मैले चिया चुरोटको पैसा तिर्न पचासको नोट लम्काएँ । डबल चिया खाएकाले आज पैसा फिर्ता पनि लिनु परेन । हामीबीच थप सम्वाद पनि भएन । भिझेर चिप्लो भएको सडकमा थामिएर बाइक कुदाउँदै ओरालो झरेँ म । डोजरहरू फेरि धमाधम काममा भिड्न थाल्दै थिए ।

चित्र नं. ९

ओसिलो रातमा भावुक मन शीतल जुनसँग अन्ताक्षरी खेलेर बसिरहेछ । जुनले उसको पालामा मेरा पुराना यादहरु बटुलेर मीठो मान्दै गीतहरू गाउँछ । म भने तत्कालका पीडाहरु भुलाउने गीतहरू फर्काउँछु । जुनले गाएर मलाई सम्झाइरहेछ, आजका तीता पीडाहरु भोलिका मीठा यादहरु बन्छन् । आजका मुटु बिझ्ने काँडाजस्ता कुराहरू भोलि मनका हत्केला सजाउने सुन्दर चुराहरू बन्छन् ।

जुनका शीतल शब्द र सुरहरु एकाएक दृश्यमा देखिन थाल्छन् । हेर्दाहेर्दै ती जोडिन्छन् र बदलिन थाल्छन् मेरै अतितका चित्रहरूमा । म सम्झनाको आडमा अढेस लागेर तिनै चित्रहरू हेरिरहन्छु ।

चित्र नं. ९.१

मुटुका नसानसा जोडेर प्रेममा मस्त एउटा जोडी । भान हो या भ्रम ? दुवैलाई लाग्थ्यो, एकैछिन पर पर्दा पनि प्राण चलिदिन्छ । कुनै दिन छुटिनु पर्ला ? त्यो त कल्पनाको क्लेशसम्म पनि थिएन । सानो देशको ठूलो शहर । साना मान्छेका ठूला सपना । तिनै सपना भेट्न अनेक कर्म भरिएको ठेली बोकेर यता र उता खाएको ठक्करमा पनि खुसीखुसी बाँचिरहेका । माया थियो र सबैथोक पुगिसरी थियो । अभाव थियो तर त्यसको अनुभूति थिएन । बरु प्रत्येक भोलि अझ राम्रो गर्ने उमंग मनभरी थियो ।

तर कुनबेला हो, उसको तिर ठूला सपनाको सानो झोलीमा भ्वाङ परिदियो । अनि उसका ठूला सपनाहरू यो सानो परिधिमा अडिन नमान्ने भए । नौ हजार किलोमिटर परका कंगारूहरूका आँखाहरूमा उसले आफ्ना सपनाहरू छछल्किएको देख्न थाली । भित्री मनमा उत्साह नभए पनि म उसले बनाउन थालेको नयाँ बाटोमा घिस्रिन थालेँ । ऊ जिद्धि थिई । सानासाना जिद्धिहरुमा त हार्ने बानी मेरो । उसँगै आइएल्सको कक्षा लिन थालेँ । भर्खर इन्टर्नसिप सकाएको बैंकमा पाएको जागिरको अफरलाई लत्याएँ । पढाई सकेर उतैका गगनचुम्बी कर्पोरेट भवनमा चट्ट परेर सँगै जागिरमा जाउँला भन्दै उसले देखाएको सपनालाई पत्याएँ ।

रिजल्ट आयो । मन नदिई पढेकाले होला मेरो भिसा लाग्ने गरिको स्कोर आएन । अब ऊ एक्लै जाने भई । कोर्ट म्यारिज वा मन्दिरे विवाह गर्ने पनि समय अब थिएन । सब एक्कासी भइरहेको थियो । टाढिनु पर्ने पिरले उसको पनि अनुहारमा पहिरो ल्याएको चाल पाएर मैले एकपटक भनेँ, “यतै पढ न, हुन्न ? दुवैजनाले मास्टर्स गरेर दुःखसुख नेपालमै केही गरौँला ।”

“यहाँ पढेर के हुन्छ बेबी ? अर्को एक्जाममा राम्रो स्कोर आइहाल्छ नि तिम्रो । पाँच–सात महिना त हो नि बेबी ।” उसले बेबी भनेर मलाई सधैँ सिधै बच्चै बनाउँथी । अनि म उसैलाई सर्वेसर्वा मान्थेँ, हजुरको जो आज्ञा रानी ।

विमानस्थलमा विदाईको अँगालो छुट्ने बेलासम्म त टिलपिल माया र त्यसलाई टम्म ढाक्ने वाचाको बाक्लो तह थियो दुवैको मनभरी । सुरुसुरुमा सासै नफेरेर पनि समय निस्किन्थ्यो दुवैतिर । तर समयले वेफुर्सदीका कसिँगर, काँडा र सिन्काहरु हाल्दै मायाको त्यो तह फटाउँदै लग्यो । ऊ कंगारूहरूसँगको दौडमा व्यस्त र मस्त भई । म यता चिप्लेकिरा झैँ घस्रिन थालेँ । ऊ साथ हुँदा त पढ्न नसकेको आइएल्सको के बाल भयो र मलाई अब ?

चित्र नं. ९.२

कैयौं महिनासम्म पाटनका साँघुरा गल्लीभित्र हरियो पर्दाले छोपिएका मन्चहरूमा ऐलाको तालमा रैला गर्दै मैले आफूलाई भुलाउने प्रयत्न गरेँ । बन्चरोले हानेर मुटुलाई थुप्रै फ्याक् पारे झैँ चोटैचोटमा पाइरहन्थेँ आफूलाई । उज्यालो दुनियाँमा भन्दा चुरोटको धुँवाले भरिएको धमिलोभित्र सुरक्षित पाउन थालेँ आफुलाई । हरियो पर्दाभित्रका अनेक अनुहार र पात्रहरूसँगको उठबसले गर्दा होला, लाग्न थाल्यो संसार पीडैपीडा र धोकाले भरिएको थुप्रो हो । जहाँ टेकेपनि धोका माथि पाइला पर्छ । जसलाई भेटेपनि धोकाका आँखाले चिर्थोछन् । सुरक्षित एकमात्र ठाऊँ हरियो पर्दाभित्रको यही मनमौजी मन्च हो ।

समयले खोपेको चोट समयले नै पुर्दो रहेछ । समयलाई समात्ने सपनाको सानो सोपान चाहिँ हामीसँगै हुनुपर्ने रहेछ । आधा काटिएर कतै मिल्क्याइए पनि मेरा सपनाका जराहरु मनभित्र जीवितै रहेछन् । उनै सपनाले मलाई बौराए । बचाए । फुक्काफाल दैनिकीको बानीलाई सुहाउँदो बिमा कम्पनीको जागिर पाएँ । अनि बेलाबखत उसकै झझल्कोले सताएर ऊजस्तै देखिने कति आकृतिहरूमा प्रेम अंकुरणको असफल प्रयास गर्दै आएँ ।

गाउँदागाउँदै थाकेछ जुन पनि सायद । अतितका आकृतिहरूको चाङ भत्किएर दृश्य फेरि वर्तमानमा आइपुग्यो । मैले जुनलाई एकटकले हेरिरहेँ । अनि पैतालाले धरतीलाई पनि दबाएर छोइरहेँ । सोचेँ, घामसँग छुट्नुपर्दाको पीडाले कति राप र तापमा थिए होला कुनै बखत जुन र धरती । तर आज दुवै शीतल छन् । त्यही शीतलताले त धरतीमा जीवन छ ।

अनि घामको तापलाई जुन र धरतीले कहिल्यै सराप्दैनन् । उही तापले त धरतीमा जीवन छ ।

चित्र नं. १०

प्रकृति आफ्नै नियममा चलिरहेछ । बदलिने त हाम्रो मनभित्रको सोचको संरचना त रहेछ । हिजोको भन्दा आज बेग्लै आभासको ओज बोकेर वनफेदी आइपुगेँ म । आकृतिको मुहार र मुस्कानमा कुनै बदलाव छैन । आओस् पनि कसरी ? स्वभावगत आउने भाव त थिए ती । बुझ्नेले आफू अनुकुल बुझेर मात्र के हुने थियो र ?

भित्रकै टेबलमा पसेर चियाको चुस्कीसँग चुरोटको सर्को लगाइसकेपछि मैले बोलीलाई स्वभाविक बनाएर सोधेँ, “अनि हेर्नु भो त मैले हिजो दिएको ?”

“हेरेँ । तर गरेर पनि खै के ?” हेर्दा आशाले भरिपूर्ण देखिने आकृतिको मुहारबाट निराशाले बाँधिएको बोली निस्कदाँ कति असुहाउँदो सुनियो ।

“गर्नुपर्छ । गरेको खेर जाने होइन क्यारे । बिमालाई जिन्दगीको अर्को नाम मान्छन् बाहिरी देशमा त । यहाँ बल्ल चलन चल्दैछ । जसले पहिले जान्यो, उसले बाजी मार्यो ।”

“यस्ता कुरा म बुझ्दिन आ । बिमा नै जिन्दगीको अर्को नाम हुँदो हो त….. ।” बोल्दाबोल्दै उनी टक्क अडिइन् । झर्दाझर्दैको झरी बिच आकासमै रोकिए झैँ अचम्म लाग्यो मलाई । उनको अनुहारको दुविधालाई देखेर थप सोध्न पनि सकिनँ । परिस्थितिको परिच्छेद बदल्न सजिलो होस् भनेर मैले फेरि एउटा चुरोट मगाएँ ।

“यत्तिका चुरोट किन खानुभएको ? आफैँ बिमाको मान्छे भएर हो ?”

“हो नि । बिमा भए यी यस्ता रहरहरुलाई रोकिराख्नु पर्दैन । निर्धक्क हुन पाइन्छ ।” खुबै स्मार्ट जवाफ दिएझैँ दंग थिएँ म ।

“तपाईं त बिमाको आडमा आफ्ना रहर मेट्नुहुन्छ । साँच्चै भोलि तपाईंलाई केही भए, तपाईंका प्रियजनले तपाईंका लागि देखेका रहरहरु बिमाले पुर्याइदिन्छ हो ?”

उनको यो वाक्यले सर्को लाउन लग्दै गरेको मेरो दाइते हात हावामै अडियो । फर्काएर एस्ट्रेमा चुरोटलाई अड्याएँ । आँखामा झल्झली बाऊ, आमा र दाजु नाँच्न थाले । भर्खर सल्केको सग्लो चुरोटको शरीरलाई मुन्टाएर किचिदिएँ एस्ट्रेकै आङमाथि ।

“मैले त जिस्किएर पो भनेकी । तपाईँले त अहिल्यै चुरोट छोडेजस्तो गर्नुभो नि ।” उनले फेरि उही मुस्कान फर्काएर भनिन् । मसँग उत्तर दिने कुनै वाक्य भएनन् । केवल उनको झैँ मुस्कान फर्काएँ । उनले त्यहाँभित्रका भावना र उनीप्रतिको कृतज्ञता बुझिन् कि बुझिनन् कुन्नि ?

“अब मैले मात्र भनेर हुँदैन । आमासँगै कुरा गर्नु न है ।” मौनतालाई उनैले चिर्दै भनिन् । मलाई भने उनैले निर्णय गरुन् अनि सपरिवार वा नभए आफ्नो र प्रतिविम्बका लागि भए पनि कुनै एउटा स्किम लिइहालुन् भन्ने थियो । बरण्डाबाट उठ्न त जाँगर नचलाउने आमैले मेरो कुरो सजिलै के मान्थिन् होला ?

“तपाईले नै भर्ने हो सबै फारम । सोध्नुपरे आमालाई एकपटक तपाईँ नै सोध्नुहोस् न ।” आमैसँग कुरा गर्नुपर्ने अवस्था भरसक नआओस् भन्ने मेरो चाहना थियो ।

“हैन, हजुर नै जानुहोस् माथि ।” यसपाली मतिर हेर्दा पनि नहेरी टिभीमा एकोहोरिएकै अवस्थामा उनले भनिन् ।

म अटेर गरेर एकछिन बसिरहेँ । यसै पनि आज मलाई आमैसँग कुरा गर्ने कुनै मुड थिएन । किचिमिचि भएको चुरोटलाई हेरेँ । भरिएको थुकलाई घुटुक्क निलेँ । तर किन हो अर्को मगाउने चाहना मुखबाट व्यक्त गर्न सकिनँ । के बोलौँ, के सोधौँ भएर सकसक भइरहेको थियो । फेरि अस्तिको झैँ, दिमागले रोकिई भन्दाभन्दै मन नसमालिएको परिस्थिति आइलाग्यो । सोधेँ, “तपाईंको श्रीमान कुन देश जानुभएको हो नि ?”

भूगोलको एउटा देश टाँसिएको स्वभाविक उत्तर फुत्त आउँछ भन्ने थियो । तर अवस्था भिन्नै बन्यो । उनले रिमोट उठाएर हात अररा पारेर दाब्न थालिन् । टिभीको भोल्युममा अनियन्त्रित उछाल आयो र परिवेश नै कर्कश ध्वनिले घन्किन थाल्यो । मलाई ग्लानीले गर्लम्मै थिच्यो । किच्चिएको चुरोट झैँ अनुहार बनाउँदै म उठेँ । पचासको नोटलाई चुइगमको बट्टाले चेपेर काउन्टरमा राखिदिएँ । मेरा यी सब क्रियाप्रति जानीजानी उपेक्षा गर्दै छिन् उनी भन्ने दृश्यले प्रस्टै बताउँथ्यो ।

ओरालो झर्दै गर्दा देखेँ, डोजरहरू रोकिएका थिए । पहेँलो टोपी र हाफ् ज्याकेट लगाएका सडक विभागका इन्जिनियरहरू ट्राइपड बोकेर यता र उता कुदिरहेका थिए । सडकका मोडहरूमा सबै नापो मिल्नु पर्छ । तर मनका मोडहरूमा के मिल्नुपर्ने हो खै ? नमिलेरै होला मेरो जहिल्यै बिग्रिरहन्छ । भत्किरहन्छ ।

चित्र नं. ११

बुढी आमै आफ्नै पाराको दुनियाँमा मस्त थिइन् । म साँघुरो भर्याङका सोह्र सिँढीहरू पार गरेर उनको छेऊ पुगेँ । अलिक पर अडेस लागेर लोकगीत बजिरहेको मोबाइलमा मग्न उनले म आएको चालै पाइनन् । अलिक बेस्सरी खोकेपछि झस्किदै मतिर हेरिन् र लम्केर मोबाइल तान्दै युट्युब अफ गरिन् । अपरिचिति मान्छे एक्कासी अगाडि देखा पर्दा उनको अनुहार विचित्रको देखियो । केहि छिन्को दोधारे अवस्थालाई चिर्दै उनले भनिन्, “केलाई आउनुभो कुन्नि ? ऊ त्यो मुढा तानेर बस्नु है ।”

बसेपछि पो देखेँ, एकजोर बैशाखी आमैका खुट्टाका समानान्तर भएर पल्टिरहेका थिए । मेरो मनको मुल्याङ्कन एकपल्ट फेरि गुल्टियो । मनभरी सहानुभूतिको मुस्लो मडारिरहेको भए पनि मलाई बोल्न आएन । यस्तो बेला के बोल्ने हो ? यस्तो अवस्था आइपर्दा जहिल्यै म आफैंभित्र जेलिन्छु । केही बेर यताउता आँखा डुलाएर त्यो जालोबाट बाहिरिने समय लिएँ । अनि घाँटी सफा गर्दै भनेँ, “म बिमाबाट हो आमा । तपाईसँग सल्लाह गर्न भनेर आएको ।”

बिमाको नाम सुन्ने बित्तिकै आमैको मुहारमा एकैसाथ अँधेरो र उज्यालो दुवै भरिएर आयो । कसैको मुहारमा यस्तो खालको मिश्रित अभिव्यक्ति मैले अहिलेसम्म देखेको थिइनँ । उनी खुसी भएकी हुन् वा दुःखी ? मैल ठम्याउनु अघि नै उनी बोलिन्, “बाबु आइपुग्नु भो ? केके कागजात चाहिन्छ भन्थे के रे ?”

“हजुरहरुको नागरिता र बाबुको चाहिँ जन्मदर्ताको कागज चाहिन्छ । साथमा तीनतीन वटा फोटा भए पुग्छ आमा ।”

“अनि छोराको कागज ?”

“उहाँ यहाँ हुनुहुन्न त्यसैले अहिले पर्दैन । पछि नै गरौँला ।”

“यहाँ त के, ऊ त कहिँ पनि छैन ।” हरे ! आमैका आँखा अघि रसाइसकेछन् । म फेरि अर्को ग्लानीको गोली लागेर फ्याट्टै मर्छु कि झैँ भएँ । अलिकपरको सिरानी उचालेर आमैले एउटा कागज निकालिन् र मतिर लम्काइन् । हेर्नासाथ बुझेँ , दुवईको एक बिमा कम्पनीले स्थानीय एजेन्टमार्फत पठाएको हकदार प्रमाणित गराउने कागज रहेछ । थप पढ्न सकिनँ ।

“सासै त उतै गयो गयो, लासै पनि आउन सकेन बाबै । यस्तो बेला सम्भव छैन भनेर उतै जलाएछन् । छोरोको साटो बिमा आउँछ आमै भनेर बाबुजस्तै मान्छे आए अस्ति । छोरै नभएपछि संसारै दिए पनि चाहिँदैन भनेको फेरि बुहारी र नातीको मुख सम्झेँ..,” आमै स्याँस्याँ गर्दागर्दै भक्कानिएर ढल्न लागिन् । पानीको लोटा तान्न लम्किएका उनका हात लुगलुग कामे । सकिनन् । मैले उठेर लोटा तान्दै उनको हातमा थमाइदिएँ । फर्कदा ढोकाभित्र देखेँ, उनका आँखामा हरदम पर्ने गरी एउटा हँसिलो र पुष्ट युवकको फ्रेमयुक्त फोटो मालाको घेरोभित्र बसिरहेको । छेऊमा सानो दियोले उसका आशायुक्त आँखाहरूमा उज्यालो भरिरहेको ।

म धेरबेर त्यहाँ अडिन सकिनँ । त्यो अवस्थिति अनि आफूभित्र भरण गर्न नसक्ने त्यो भावनाबाट म चाँडोभन्दा चाँडो भाग्न चाहन्थेँ । कागज लोटाले थिचेर आमैका छेऊमा राखेर पछि आउला भन्दै म तल झरेँ । आकृति उही भावमा टिभीतिर एकोहोरिएकी थिइन् । म आएको चाल पाएर रिमोट उठाइन् । तर आज भोल्युमको मिटर माथि हैन तल पो झर्यो ।

“के भन्नु भो त आमाले ?”

म अघिकै भावनाले थिचिएर अवाक् मुद्रामा उभिइरहेको थिएँ ।

“थाहा थियो आमाले मैकहाँ फर्काउनुहुन्छ । खै ल्याउनुहोस् फारम ।”

मैले झोलाभित्रबाट पहिलो चरणमा भरिने परिचयात्मक फारम झिकेर उनलाई दिएँ । त्यत्रो पीडालाई मनभित्र पुरेर कसरी त्यो मुस्कान छर्न समर्थ भइन् उनी ? मैले सोच्न भ्याउँदा नभ्याउँदै उनले कागज भरेर मलाई फकाईन् । फारममा उनको नाम देखेर चित खाएँ म ।

आकृति ! मनमा जे सोचेँको थिएँ त्यही नै उनको सच्चा नाम हुनु संयोग मात्र थियो या प्रारब्ध ?

चित्र नं. १२

रातभर आँखाहरूले परेली र नानीबिचमा आकृति अनि उनको अव्यक्त पीडा र परिस्थितिको चित्र टाँसिरहे । निन्द्रा पनि आज मेरा लागि खटिनु परेन भने झैँ गायब भयो । बिहानीपख ङिच्च गरेर देखा पर्दै थियो , मैले स्वागत गरिनँ । सुन्निएका आँखासँगै ओछ्यान छाडेँ ।

आज किन हो मेरो मनको निक्र्यौल र मुल्याङ्कन सदा झैँ मनगढन्ते नभएको आफैँलाई महसुस भइरहेथ्यो । लाग्दै थियो, यो महसुस यस्तो हो जसले मलाई ग्लानीको गोरेटे हैन उत्साहको मुलसडकमा उभ्याउने छ । म निभिसकेको प्रेमको दियो फेरि बालेर एउटा अदम्य साहसका साथ आकृतिको अघि उभिनेछु । त्यो मेरो साहसका अघि परिवार र समाज केही समय लगाएर भए पनि झुक्ने नै छ । यस्तैयस्तै निक्र्यौल गर्दै म फेरि वनफेदीको आँगनमा आइपुगेँ ।

तर वनफेदीको परिवेश मैले सोचेअनुरुपको पटक्कै थिएन । डोजरहरूको अलिअलि हल्लाई र हल्लाबाहेक सधैँ शान्त रहने ठाउँ आज कर्कशलाग्दो कोलाहलले थर्किरहेको थियो । डिलमा उभिएर हल्ला गराउने खेलाडी भिडिरहेको मैदानतिर हेरेँ । डोजरहरु पनि थकाई मार्दै मान्छेकै भिडन्त नियालिरहेका थिए ।

पहेलो ज्याकेट र सेतो मास्क लगाएका दुइटा इन्जिनीयर पट्याइएका ट्राइपड बोकेर भयभीत मुद्रामा उभिएका थिए । हेर्दै हिर्काउला जस्ता ज्याद्रा मान्छेहरूले उनीहरुलाई नजिकबाट घेरेका थिए भने अरू आम मान्छेहरू दर्शक बनेर अलिक दुरीमा घेरा बनाएर उभिएका थिए ।

“हेर्नुस्, यताबाट बाटो लान यहाँको माटोले दिदैन । यसलाई घुमाएर तलबाटै लानुपर्छ ।” अलिक पाको इन्जिनियरले आफ्नो मुख खोल्यो ।

“जान्ने किन ? हाम्रो माटो, हाम्रो बाटो । अलिअलि पढेर आएको फुइँ यहाँ देखाउने ?” एउटा ज्याङ्गो मान्छेले बोल्ने इन्जिनियरलाई हातै लाएरै ठेल्यो । भीड पनि यतैबाट लाने हो, ल ल काम थालि हालौँ भन्दै हल्ला गर्न थाल्यो ।

“माटो चिनेर काम गर्नुस् भन्ने सुझाव मात्र हो ।” पाको इन्जिनियर पछि हट्दै माथि उक्लिन थाल्यो । तन्नेरी इन्जिनियरले उसलाई पछ्यायो ।

“हाम्रो ठाउँमा आएर हामीलाई हाम्रै माटो चिनाउने ? बाटो कता लाने, कता घुमाउने हामीलाई थाहा छ ।” हर्ताकर्ता देखिने अर्को मान्छेले निचोड निकाल्यो । भीड तितरबितर भयो । डोजरहरू फेरि घर्रघराउँदै माटो कोट्याउने काममा लागे ।

आज आकृतिलाई भ्याइनभ्याई थियो । तलको भीड अहिले यहाँ लागेको थियो । ती इन्जिनियरहरू पनि कुनाको टेबलमा बसेर चिया सुप्र्याउँदै थिए । चुरोटको धुवाँ फ्यालिरहेको तन्नेरी इन्जिनियर निकै आवेगमा देखिन्थ्यो भने पाको इन्जिनियर अलिक समजमा । बाहिरै उभिएर एकैछिन दृश्य निहालिरहेँ । चिया उमालिरहेकी आकृतिसँग एक फेर आँखा जुधे । मुस्कानको एकै पेग पनि ममा मादकता भर्न काफी भयो ।

त्यही मादकताको मातमा म ओरालो झरेँ । नयाँ दिशामा खटिरहेका डोजरहरूले कोतरेर निकै माटो निकालिसकेका थिए । मेरो मनले आकृतिको मनलाई कोतरेर माया निकाल्न कहिले सक्ने होला खै ?

चित्र नं. १३

घडीको घण्टा सुइले निकै फन्का मारिसकेछ । खोंचबाट उठेको कुइरो पनि अब पातलिन थाल्दै थियो । चुरोटको धुवाँसँग मिसिएर बन्नुपर्ने चित्रहरू पनि त सकिन लागेका थिए । घाम पनि डाँडामुनि लुक्नलाई हतारो गर्दै थियो । अब बाटो पक्कै क्लियर भो होला । गरिनुपर्ने व्यवस्था भइसक्यो होला । म फेरि ओरालो झर्न थालेँ ।

फेस कभरवाला पुलिस अहिले काटिएको रुखको ठुटोमा आनन्दले बसेर पानी पिइरहेको थियो । त्यो अघिकै थियो या ड्युटि फेरिएको अर्को थियो मैले ठम्याउन सकिनँ । म उसको छेऊमा आइपुगेपछि सजग गराउने लवजमा ऊ चिच्यायो, “विस्तारै जानुहोस् है ।”

म अलमल परेँ । विस्तारो हैन, चाँडो जानु भन्नुपर्ने हो उसले त । गति बढि हुँदा भाइरसले पनि नभेट्दो हो नि । यस्तै दोधारमा म तल झरिरहेँ ।

नियतिले मेरा निक्र्यौलहरूको नजितालाई सधैँ लोप्पा खुवाइदिन्छ । वनफेदीको जुन चित्र छाउनुपर्ने हो आँखामा त्यो आएन । मैले आत्तिएर बाइकको ब्रेक मारेँ । माटो र ढुंगा मिश्रित गेगरहरूले पोतिएको सडकमा बाइक चिप्लियो र अलिक परसम्म बगेर रोकियो । हठात् ओर्लिएँ । आर्मीको एउटा टोली ढुंगा, माटो र हिलो पन्छाउँदै मान्छेका भताभुङ्ग अंगहरू सेतो प्लास्टिकमा बेर्दै थिए ।

मैले आँखा मिचेँ । आफैँलाई चिमोटेँ । यो सबै सपना भइदियोस् प्रभु । तर हैन, म विल्कुलै विपनामा थिएँ । सम्म मिलेको यही चिया बगानको काखैमा त थियो नि वनफेदी गाऊँ । तर आज ? तलबाट च्यातिएर फुटेको ठूलो भड्खालोले चियाका आधा बुट्यानसहित सोहोरेर खोई कहाँ पुर्यायो वनफेदीलाई ?

कानमा सनन आवाज बज्दै थियो । हिलोमाथि टेकेर अन्दाज लाउँदै म आकृतिको घर भएको स्थानमा पुगेँ । हरियो टिनको एउटा पाप्रो बाहेकको चिनिने अरु जिनिस केही बाँकी थिएन । एक्कासी छाती गह्रौ भएर आयो । मुटुभित्र चस्काका सुइराहरु घोपिन थाले । जीऊ थर्थराएर आयो । पसिना चिट्चिटायो । अलिअलि रिंगटा पनि लाग्न थाल्यो । विस्तारै हरियो टिनमाथि बसेँ ।

हरियो टिनको मुनि केही चेपिएको देखेँ । विस्तारै तानेँ । त्यो प्रतिविम्बको चित्रकलाको कपी रहेछ । थोरै हिलोले छोएको मात्र थियो । बाँकी सग्लै रहेछ । कापी पल्टाउँदै उसका एकएक चित्रहरू हेर्दै गएँ र अपुरो चित्रमा आएर रोकिएँ ।

प्रतिविम्ब ! तिमीले कुन भावको र कुन रंगको चित्र कोर्न लाग्दै थियौ ? अब यसलाई कसरी पुरा गर्ने हौ ? तिमीले बनाउने गरेका निश्चल सपनायुक्त सुन्दर ती चित्रहरू र नियतीले बनाएका बिडम्बनायुक्त विरूप यी चित्रहरूको समायोजन गर्नु पर्छ है तिमीले । चाँडै भेट्नेछु म तिमीलाई ।

(मिलन संग्रौला च्याट गर्ल कथा संग्रह र पर्पला उपन्यासका लेखक हुन्)

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको