१० आश्विन २०७८, आईतवार

जुम्लामा जन्मिएकी ओलम्पियन देवु थापा प्रहरी निरीक्षकमा बढुवा



२० साउन, काठमाडौं । सन् २००८ को बेजिङमा जुडो खेलाडीका रुपमा सहभागिता जनाएकी ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । २०४८ सालमा प्रहरी सेवामा जवानबाट प्रवेश गरेकी थापा तीन दशकपछि इन्स्पेक्टरमा बढुवा भएकी हुन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

ओलम्पियन थापा २०५७ हवलदार, २०६२ मा असई र २०६३ मा सईमा बढुवा भएकी थिइन । थापा दक्षिण एसियाली खेलकुद (साग) मा जुडोबाट रजत र कास्य पदक विजेता हुन् । उनी जुडोकी प्रशिक्षक तथा रेफ्री समेत हुन् ।

थापा १० औं सागमा रजत पदक जितेपछि असईमा बढुवा भएकी थिइन् । जुम्लामा जन्मिएकी थापाले २०५२ मा जुडो खेलाडीका रुपमा खेल जीवनमा पाइला टेकेकी थिइन् ।

खेलकुद र प्रहरी सेवासँगै अघि बढेकोमा गर्व महसुस भएको बताउँदै थापाले भनिन्, ‘आज खेलकै कारण यहाँ छु । जवानबाट प्रवेश गरेर इन्स्पेक्टर हुन्छु भन्ने कल्पना पनि गरेको थिइन् । खेलाडी भएकै कारण यो सम्भव भएको हो । फर्केर हेर्दा कुनै पश्चाताप छैन् ।’

प्रहरीको टोलीको प्रशिक्षक थापा २ सन्तानकी आमा हुन् । उनले साग, एसियाली खेलकुद र ओलम्पिकमा जुडो खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको