५ कार्तिक २०७८, शुक्रबार

पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न



२० साउन, दिल्ली । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। खनालले केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार गराइरहेका थिए।

आज सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्व प्रधानमन्त्री खनालको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ।

पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘उहाँ होसमा आइसक्नु भएको छ । अलिअलि खाने कुरा खाने र बोल्न पनि थाल्नु भएको छ ।’ भट्टराईका अनुसार खनाल केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ ।

खनाललाई स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते भारतको राजधानी दिल्ली लगिएको थियो। अत्याधिक ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

तस्बिरः सुनिल दाहाल


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको