१० आश्विन २०७८, आईतवार

नेपालगञ्जदेखि सुर्खेतको सडक रेखांङ्कन गर्ने दलवीर सिंह कामी मारिए वा आत्महत्या गरे ?


सुनिल उलक
२० श्रावण २०७८, बुधबार


नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, ‘सतीले सरापेको देश’ । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार सुनाउन दरवार पसेका भीम मल्ललाई राजाको आदेशमा सैनिकले ढोकामा नै काटेका थिए । यो समाचार सुनेर बिक्षिप्त बनेका उनको पत्नीले सती जाने बेलामा सरापेका थिए, ‘नेपाल दरवारमा भलो चाहनेको यस्तै गति होस ।’

भीमसेन थापाको दुखद अन्त पछि पनि उनकी श्रीमतीले यहि बाक्य दोहोर्याएको भनिन्छ । हुन पनि यो देशको इतिहास पल्टाएर हेर्यौ भने हामीले यस्तै इतिहासका प्रमाणहरु पाउँछौ । चाहे भीमसेन थापा होस वा बहादुर शाह दुबैले देशको लागी धेरै गरे तर देशले यि दुबैको दुखद अन्त पनि देख्दै नदेखे झै गरे । यि कथा वा भनौ इतिहासका पाना सयौ वर्ष अगाडिको थियो । तर यहाँ केवल ४८ वर्ष अगाडि देशको लागि महत्वपूर्ण एक ब्यक्तित्वको गुमनाम मृत्यु भयो । अझ भनौ हत्या भयो तर कसैलाई कुनै चासो नै भएन । सुर्खेतको इतिहासका प्रमुख ब्यक्तित्व वा भनौ सुर्खेत शहर बसाउन ठूलो भूमिका खेल्ने एक बिशेष ब्यक्तिको मृत्यु भयो ।

बिसं २०३० बैशाख २० गते बिहानै बादेपिपलको वागेश्वरी विद्यालय नजिकैको चौतारोमा शव झुण्डिएको अवस्थामा भेटिएको थियो । धेरैले हत्या गरेर झुण्ड्याइएको भनिए पनि कुनै छानविन नै भएन, यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । दलवीर सिंह कामी सुर्खेतबाट बादेपिपलमा भेरी नदी माथि पुल बनाउने काममा गएका थिए । उनको आत्महत्या गर्नै पर्ने कुनै कारण नै थिएन । तत्कालिन जिल्ला पञ्चायतमा सव-ओभरशियरका जागीरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए । सामाजिक काम भन्दा अरु उनलाई कुनै चिन्ता नै हुदैनथ्यो । तर उनले शत्रुहरु भने मनग्गे कमाएका थिए । पढेलेखेका नभए पनि उनको चर्चा निकै हुन गर्दथ्यो । राजाले नै उनलाई भेटेपछि त उनको भेटघाट अञ्चलाधिश र सेनाका गुल्मपतिसम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरु भित्र भित्रै जलेका थिए ।

अनपढ भए पनि राजाले नै उनलाई जिल्ला पञ्चायतको सव-ओभरशियरको जागीर दिलाए पछि उनको काम पुलको रेखांकन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो । सुर्खेतबाट नेपालगञ्ज जोड्ने सडकको रेखांकन पनि उनले नै गरेका थिए । भनिन्छ यहि सडकको विषयमा उनको केही ब्यक्तिहरुसंग विवाद भएको थियो । केही ब्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखांकन परिवर्तन गर्न दवाव दिएका थिए । तर दलवीरले सो सडकको महत्व दुरी तथा खर्चको विविध कारणले ति ब्यक्तिहरुको दवावमा काम गर्न अस्विकार गरेका थिए । यसको केही समय पछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । धेरैले यस किसिमको मृत्यु हुँदा यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए । तर यसको कुनै छानविन नै गरिएन । शायद अर्को पक्ष निकै पहुचवाला थिए वा उनीहरुको हैकम बढी थियो होला । तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्युलाई चुपचाप बन्द गरियो ।

बाबुको मृत्युको समय दलवीरको जेठी श्रीमती तिरको छोरा कानपुरमा थियो । कान्छी तिरको जेठो छोरा श्यामलाल भर्खरै सेनामा भर्ति भएका थिए । केवल एक महिना मात्र भएको हुँदा तालिममा थिए । राजा विरेन्द्रको सुर्खेत भ्रमणमा आदित्य शम्शेर जवरा सुर्खेतमा रहेको ४ नं बाहिनीपति हुनुहुन्थ्यो । राजाको स्वागतको लागि मञ्च सजाउने काम तथा राजालाई चढाउने बिशेष उपहार पनि तीन महिना लगाएर दलवीरले नै बनाइदिएका थिए । जसले गर्दा बाहिनीपति आदित्यशम्शेरले दलवीरको छोरा श्यामलाल उमेरले सानै भए पनि सेनामा भर्ना गराइदिएका थिए । २०२९ को चैतमा श्यामलाल सेनामा भर्ति भए । २०३० को बैशाखमा दलवीरको अप्रत्याशित मृत्यु भयो । केवल ५२ वर्षको उमेरमा नै यो संसारबाट बिदा लिनुभयो ।

बिसं १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं ४) मा जन्मनु भएका दलवीर सिंह कामी पेशाले आरन चलाउने तथा फलामका सामानहरु बनाउने गर्दथे । बुबाको साथ दैलेखबाट सुर्खेत झरेका थिए । सुर्खेतमा त्यति बेला औलोको प्रकोप थियो । सुर्खेत झरे पछि पदमपुरमा बस्न थाले । बाबुको साथ आरन चलाउने उनि दिमागले तेज थिए । कुनै पनि नयाँ बस्तुहरु बनाउन तम्सन्थे । दैलेखमा नै पहिलो बिबाह गरेका दलवीरको एक छोरा र एक छोरीसहित श्रीमती दैलेखमा नै रहेका थिए । आफू कामको सिलसिलामा सुर्खेत रहँदा सुर्खेतमा नै मोतीसरासंग दोश्रो बिबाह गरे । दोश्रो बिबाह पछि तीन छोराहरु र एक छोरीको जन्म भयो । उता दैलेखमा पनि अर्को एक छोरीको पनि जन्म भयो । यसरी चार छोरा र तीन छोरीका बाबु बनेका थिए ।

अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका दलवीरको आफ्नै आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । बिभिन्न सामग्रीहरु बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो । उनको काम प्रति लगन र मेहनती थियो । हरेक साल जसो वर्षातमा उर्लदो भेरी नदीलाई देखेका उनलाई गाउँलेको समस्या नजिकबाट नियालेका थिए । बिसं २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । उनलाई त्यस नदीमा एउटा पुलको आबश्यकता लाग्यो । उनले आफ्नो शीप र ज्ञानको उपयोग गर्दै आबश्यक सामग्रीहरु आफैले तैयार गर्न थाले । लामो फलामे साङला बनाए, छोटा तार तथा अन्य सामग्री सहित पुलका सामग्री तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसंग तारहरु बाँधे ।

सुर्खेतको रानीघाटमा पहिलो पुल बनाए । यसको केही समय पछि २०२० सालको शुरुवातमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो । सुर्खेतको रामघाटमा पनि अर्को पुल बनाए । यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । चिगाड खोलामा पनि अर्को झोलुङ्गे पुल तैयार बनाए । हरेक पुल बनाउँदा स्थानिय जनताहरुले पनि उनलाई साथ दिन्थे तथा हौसला पनि दिन्थे । पुल तैयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । स्थानिय जनताहरु खुशि भए ।

२०२० सालमा राजा महेन्द्रको सुर्खेत सवारीको कुरा उठ्यो । सडक यातायातले नजोडिएको सुर्खेतमा राजाको आगमनको लागी विमानस्थल बनाउने तैयारी भयो । सेनाले पनि साथ दिने तथा जनताहरुले पनि जनश्रमदान गर्ने कुरा उठ्यो । राजाको सवारी भनेपछि सबै एकसाथ लागे । सडक सञ्जालले नजोडिएको सुर्खेतमा जमिन सम्याउनको लागि रोड रोलर ल्याउन सकिने कुरै भएन । त्यसपछि रोलर बनाउन दलवीर आफै लागे । उनको आफ्नै दिमाग र मेहनतले सुर्खेत विमानस्थल सम्याउने रोलर तैयार भयो । मोटो सिमलको रुख काटेर त्यो सिमलको मुढालाई अगाडिबाट केही मानिसले तान्ने र केही मानिस त्यस मुढामा तौल बढाउन चढ्न मिल्ने बनाए । यसरी आफ्नै किसिमको रोलर तैयार गरेका थिए । यो रोलरले जमिन सम्याउन निकै सहयोग पुर्यायो । उनले बनाएको यो रोलरलाई शाही नेपाली सैनिक गुल्मले धेरै पछिसम्म पनि सुरक्षित सम्हालेर राखेको थियो । विमानस्थलको माटो ओसारपसार गर्न पनि भैसीको छालालाई सिलाएर ठूलो ठूलो थैला बनाएर त्यसमा माटो भरेर ओसार्ने काम गरिएको थियो ।

राजाको सुर्खेत भ्रमणमा सेनाका गुल्मपतिले राजालाई दलवीरको कामहरु तथा उनले तैयार गरेको रोलर तथा झोलुङ्गे पुलहरुको बारेमा सुनाइएछ । यस किसिमको अनौठो प्रतिभा भएका स्थानिय बैज्ञानिकको बारेमा राजाले जानकारी पाए पछि राजाले दर्शनको लागि दलवीरलाई बोलाइयो । राजाको दर्शनभेटमा राजा महेन्द्रले रु ४०० बख्शिस दिए । राजाको दर्शनभेट तथा बख्शिस पाए पछि दलवीरमा अझ बढि उत्साह थपियो ।

उनको प्रतिभा र लगनशिलता देखेर राजाले सुर्खेतको बिकासमा सहयोग पुग्ने भन्दै दलवीरलाई जिल्ला पञ्चायतमा जागीर दिलाइदिए । केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेश पछि उनको काम र शिप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले उनलाई सव-ओभरशियरको जागीर लगाइदिए । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो । सबै काममा केवल पढाइले मात्र हुदैन । अनुभव र ज्ञान पनि हुनुपर्छ । यो दुबै दलवीरको साथ थियो । थिएन त केवल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सव-ओभरशियरको रुपमा जागीर पाए ।

यसको केही समय पछि नेपालमा अमेरिकी पिसकोर भोलेन्टियरहरुको आगमन हुन थालेको थियो । पिसकोरको आगमनको क्रममा २०२४ सालमा अमेरिकी बिद्यार्थी एलेन फेयरबैंक सुर्खेतमा आइपुगे । पुल सम्बन्धी ज्ञान भएका एलेन सुर्खेतमा पुगे पछि दलवीरको साथीको रुपमा संगै काम गर्न थाले । एलेनसंग रहँदा नै जिल्ला पञ्चायतका सव-ओभरशियर जागीरे भए पछि उनको निरिक्षणमा दैलेख जिल्लाको ढुङ्गेश्वर खोलाको झोलुङ्गे पुल, दैलेखकै चुप्रामा लोहोरी खोलाको झोलुङ्गे पुल, दैलेखकै छामघाट खोलाको शिरस्थानको झोलुङ्गे पुल, रावतकोटको किटुलामा पर्ने छामघाट खोलाको झोलुङ्गे पुल, दैलेखको सिमानामा पर्ने लोहोरे खोलाको झोलुङ्गे पुल तथा दैलेखकै चोर खोलमा बनाइएको झोलुङ्गे पुल पनि बनाइएको थियो । छामघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए ।

सुर्खेतमा अमेरिकी नागरिक एलेनले चार वर्ष दलवीरसंग बिताए । दलवीरको क्षमता देखेर एलेन पनि निकै चकित भएका थिए । एक पटक एलेनको टाइपराइटर बिग्रेर निकै दुख दियो । दलवीरले म एक पटक हेरिदिन्छु भने । एलेनलाई लागेको थिएन दलवीरले टाइपराइटरको मर्मत गर्न सक्छ भन्ने । दलवीर एकैछिन टाइपराइटरमा घोत्लिए । त्यसपछि एउटा दाँती देखाउँदै भने यसको एउटा दाँत भाच्चिएको छ त्यसैले काम गरेको छैन । त्यसपछि आरनमा गएर उस्तै नयाँ दाँती बनाएर टाइपराइटरमा फिट गराइदिए । टाइपराइटर नयाँ जस्तै काम गर्न थाल्यो । बिहान ९ बजे पछि जागीरको तैयारीमा लाग्नु पर्ने हुँदा गाँउघरका बिग्रेका सामानहरु उनले बिहान ६ बजे देखि ९ बजेसम्म बनाउन बस्दथे । पछि अर्का पिसकोर भोलेन्टियर बब डेभिस आएका थिए । उनको साथ पनि दलवीरले पुल बनाउने काममा रहे ।

जिल्ला पञ्चायतमा जागीरे रहँदा उनकै निगरानीमा सुर्खेत देखी दैलेख हुदै जुम्लासम्मको मोटर बाटोको रेखांकन पनि भयो । सुर्खेत नेपालगञ्जको मुख्य सडकको रेखांकनको काम पनि पुरा गरेका थिए ।

यसरी जागीरे भए पछि दैलेख र सुर्खेको बिभिन्न स्थानमा पुगिरहनु हुन्थ्यो । फुर्सदमा घरमा रहदाँ पनि वहाँ केही न केही बनाउने काममा लागिरहन्थे । फलामका सामग्री देखी लिएर सुनका गहनासम्म बनाउन जानेका थिए । सेनाको बन्दुकदेखी लिएर सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स पनि बनाउन जानेका थिए । आधुनिक इलेक्ट्रिक सामानहरुको साथै घडी, रेडियो र सेनाको बिग्रेको आवा सेट पनि वहाँले बनाइदिने गर्नुहुन्थ्यो ।

एकपटक दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रेर उडाउन सकिएन । त्यस दुर्गम स्थलमा कोही इञ्जिनियर वा दक्ष मेकानिक्स भेट्ने सम्भावना थिएन । सेनाका उच्च पदस्थ सैनिक अफिसरले बहुप्रतिभा भएका दलवीरलाई सम्झिए । उनलाई ताराघाटमा बोलाए । दलवीरको बुद्धिमत्ताले वा दक्षताले वा संयोगले हेलिकोप्टर चालु भयो । उडान गरेर सुर्खेत गुल्ममा ल्याइयो । यसपछि सैनिक गुल्म भित्र हेलिकोप्टर पनि बनाउन सक्ने दलवीर भनेर नाम कहलियो ।

नयाँ नौलो काम गरिरहनु हुने दलवीरले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएर चलाएर देखाएका थिए । ज्वाला दल गुल्म, दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरेमा पनि दलवीरलाई नै खोजिन्थ्यो । दलवीरको हात परे पछि सबै जसो सामग्री बन्थ्यो पनि ।

दलवीरको श्रीमती मोतीसरालाई एलेनले दिदी बनाएका थिए । भाइको अचानक देहान्त भएपछि रोइरहेकी मोतीसरालाई एलेनले सम्झाउदै भनेका थिए, तपाइ भाइ गुमेकोमा चिन्ता नगर्नु म तपाइको भाइ जस्तै हो । अबको तिहारमा मलाई भाइटीका लगाइदिनु । नभन्दै मोतीसराले एलेनलाई टीका लगाइदिए । दिदी भाइको नाता कायम रह्यो । चार वर्ष सुर्खेतमा संगै बिताएका एलेन पिसकोरको तालिम पछि पनि दुइ पटक नेपाल आए । सुर्खेतमा दिदीको घरमा बसे । मिठो नमिठो जे पाक्यो खाए । दिदी मोतीसराको देहान्त पछि भने एलेन नेपालमा फर्केर आएका छैनन् ।

राजा महेन्द्रको स्वर्गारोहण पछि नयाँ राजा बनेका राजा विरेन्द्रको पश्चिम नेपाल भ्रमण हुने भयो । जुम्लामा हेलिकोप्टरमा पुगेका राजा सुर्खेतमा केही समय बिताउने गरि सवारी हुने भयो । त्यसबेला सुर्खेत गुल्मका बाहिनीपति हुनुहुन्थ्यो आदित्यशम्शेर जबरा । आदित्यशम्शेर राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पनाति हुनुहुन्थ्यो । वहाँको बुबा मृगेन्द्रशम्शेर राणाकालमा शिक्षा विभागका डाइरेक्टर हुनुहुन्थ्यो भने बाजे बबर शम्शेर २००७ साल पछि पहिलो रक्षा मन्त्री बनेका थिए । आदित्य शम्शेर पछि राजा विरेन्द्रका एडिसीको रुपमा कार्यरत रहेका थिए । साथै आदित्यशम्शेरका छोरा गौरवशम्शेर शाही नेपाली सेनाका सेनापति भए ।

नवराजाको सुर्खेत बसाइ हुने भएपछि गुल्मका बाहिनीपति आदित्यशम्शेर चिन्तित थिए । बाहिनीपति आदित्यशम्शेरले दलवीरलाई स्वागतद्वारको सजावत, स्वागत मञ्चको सजावत तथा राजालाई चढाउने उपहारको जिम्मा पनि दलवीरलाई दिए । दलवीरले पनि सजावतको सम्पूर्ण काममा सहयोग गरे । साथै राजालाई दिइने उपहार दलवीर आफैले तीन महिना लगाएर बनाइदिए ।

राजाको फिर्ती सवारी पछि बाहिनीपति आदित्य शम्शेरले दलवीरलाई बख्सीस दिए भने साथमा भर्खरै हुर्कदै गरेका छोरा श्यामलाल सुनारलाई सेनामा भर्ना गराइदिए । छोरो सेनामा भर्ति भएपछि दलवीर अत्यधिक खुशी भए । यसरी अत्यधिक खुशियालीको क्षण लामो रहन पाएन ।

जागीरकै काममा २०३० सालको बैशाखमा सुर्खेत देखि पूर्वमा पर्ने बादेपिपलमा भेरी नदी माथि झोलुङ्गे पुल बनाउन निस्केका दलवीर बिसं २०३० बैशाख १९ गते राती सुतेका थिए । बिहानै साथीहरुले हेर्दा ओछ्यानमा दलवीर थिएन । अचानक बिहानै हराएका दलवीरको खोजी भयो । खोज्दै जाने क्रममा बादेपिपलको नजिकै रहेको वागेश्वरी विद्यालय अगाडिको चौतारोमा झुण्डिएको अवस्थामा मृत शव भेटियो । निकै हल्लाखल्ला भयो । धेरैले आत्महत्या हुनै नसक्ने यो कसैले गरेको हत्या हो भने । पर्याप्त प्रमाणहरुको अभावका कारण छानविन भएन । भर्खरै सेनामा जागीर खाएका श्यामलाल छुट्टी लिएर बुबाको कृया गर्न आइपुगे । साना साना भाइहरुलाई कसले सम्हाल्ने भन्ने चिन्ता थियो ।

सधै सरकारी काम भन्दै भागिरहने दलवीरको कुनै राम्रो गृहस्थ थिएन । न त पक्की घर न त पर्याप्त खेत नै थियो । दुखकष्टले दुइछाक टार्दै छोराहरु र श्रीमतीको लालनपालन गरिरहेका दलवीरको परिवारमा अचानक बज्रपात आइपर्यो । कसैले सल्लाह दिए, राजालाई बिन्तीपत्र चढाउने ।

दलवीरकी श्रीमती मोतीसरा सुनारले लेख्न जान्नेको सहयोगमा राजामा बिन्ती पत्र चढाए । छिट्टै नै राजाको आदेश अञ्चलाधिश कार्यालय आइपुग्यो, ‘दलवीरको परिवारलाई निशुल्क घडेरी र घर बनाउन खर्च दिनु ।’ तत्कालिन अञ्चलाधिस ऋतुवर्ण तुम्बाहाम्फेले दलवीरका श्रीमती मोतीसरा सुनारलाई बोलाएर तत्कालिन जिल्ला पञ्चायतका सभापति तुलसीप्रसाद सापकोटालाई राजाको आदेश अनुसारको काम गर्न लगाए । सभापति तुलसीप्रसाद सापकोटाले सुर्खेतका सबै अड्डा प्रमुखहरुको अगाडि २०३१ सालको बैशाख १५ गते जिल्ला बैठकपछि घडेरी र घर बनाउने खर्च पाउनु हुनेछ । सरकारको आदेश अञ्चलाधिश सुनाउनु भएपछि तपाइहरुले जसरी नि पाउनु हुन्छ भनिएको थियो । तर त्यो घडेरी र घर बनाउने रकम कहिल्यै पाइएन । अनपढ मोतीसराको जाली ल्याप्चे लगाउन लगाएर ति सभापति वा अन्यले घडेरी र रकम कुम्ल्याए या दिने सुरसार नै गरेनन् थाहै भएन । दुखमा आसु बगाउदै मोतीसराले छोराहरु हुर्काए । सरकारबाट घडेरी र पैसो पाउने आशा बोकेका मोतीसराको पनि २०५९ सालमा मृत्यु भयो ।

अहिले दलवीरको जेठी श्रीमतीबाट जन्मेको जेठो छोरा र जेठी छोरीको पनि निधन भइसकेको छ । कान्छी श्रीमतीबाट जन्मेका माहिलो र कान्छो छोराको पनि निधन भइसकेको छ । जेठो छोरा कानपुरमा गएको उतै बिबाह गरेका र उतै देहान्त पनि भएको हुँदा उताको नाति नातिनीहरु बारे कुनै जानकारी छैन । तर सुर्खेतमा बसोबास गर्ने कान्छी तिरको जेठो छोरा श्यामलाल तर्फबाट दुइ नाति र एक नातिनी माहिलो छोराबाट दुइ नातिनी तथा कान्छो छोरा तिर्थराजबाट चार नातिनी र एक नाति रहेको छ ।

दलवीर सिंह कामीलाई सुर्खेतको हिरोको रुपमा प्रस्तुत गरिदिएको छु । कतैबाट पनि कुनै सहयोग नपाएका तथा उनको योगदान सबैले बिर्सिए पनि मैले पचास वर्षपछि दलवीर सिंहको जीवनगाथा प्रस्तुत गरेको छु । वहाँको परिवारलाई अब घर घडेरी चाहिएको छैन । तर वहाँलाई मृत्युपरान्त सम्मान गर्न पर्छ वा पर्दैन सुर्खेतवासी वा दैलेखवासीले एक पटक सोचौ र मनन गरौ । सकिन्छ भने एक पटक सम्मानका गरौ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको