१० आश्विन २०७८, आईतवार

सरकारले माग्यो विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको राजिनामा, दोहोरिएलान कुलमान ?



१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै राजीनामा दिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ऊर्जामन्त्री भुषालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा निर्देशक शाक्यको राजिनामा मागिएको हो ।

२०७७ कात्तिक २१ बाट कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा कार्यरत शाक्य २०७७ माघ २७ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसअघि उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको थियो ।

शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि राजीनामा नदिएको प्राधिकरण स्रोतले जनाएको छ ।

शाक्य कार्यकारी निर्देशक नियुक्त भएयता प्राधिकरणको नाफा आधा घटेको र विद्युत चुहावट पनि बढेको अध्ययनले देखाएको छ । अर्बौँ घाटा ब्यहोरीरहेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याउने, विद्युत चुहावट नियन्त्रण गरेर मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सफल कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा दोहोर्याउनु पर्ने आवाज जनस्तरमा अझै पनि उठिरहेकै छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको