५ कार्तिक २०७८, शुक्रबार

दैलेखको पिपलकोटमा स्वास्थ्य चौकी तोडफोड गरी लुटियो औषधि र ल्यापटप



१९ साउन, दैलेख। दैलेख जिल्लाको आठबीस नगरपालिका–५ पिपलकोटस्थित स्वास्थ्य चौकी तोडफोड भएको छ । दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटप, औषधि लगायतका सामग्री चोरी गरिएको छ ।

आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेका अनुसार स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी फेरि तीनवटा ढोका फोडेर सामग्रीहरू तोडफोड गर्नुका साथै चोरी गरिएको छ । वडाध्यक्ष आलेले भने, ‘स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, मापी डट्पेन चोरी भएको छ ।’

आलेका अनुसार स्वास्थ्य चौकीको ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तोडफोड गरी झण्डै ३ लाख बराबरको क्षति गरिएको छ । आलेले भने, ‘सोमवार राती नै स्वास्थ्य चौकी तोडफोड भएको हुनसक्छ। स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको छ, आज विहान कामदारहरू आएर निर्माण सामग्रीहरू निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तोडफोड हुनुका साथै सामान चोरी भएको थाहा भएको हो ।’

उक्त स्वास्थ्य चौकीमा ३ जना अहेव, २ जना अनमी, १ जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत रहेको अहेव जीवनकुमार बस्नेत जानकारी दिएका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइसकिएको दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको