२ कार्तिक २०७८, मंगलवार

विश्व खेल जगतलाई नौलो सन्देशः प्रतिस्पर्धी घाइते भएपछि एक खेलाडीले एक्लै स्वर्ण पदक लिन मानेनन्



१९ साउन, काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा कतारका एक खेलाडीले विश्व भातृत्व र उच्च मानविय भावना प्रकट गरेका छन् । कतारका खेलाडी मुताज एस्सा बारशिमले आफूले स्वर्ण पदक पाउनुका साथै आफूसँग प्रतिस्पर्धा गरिरहेका इटलीका खेलाडी गियानमार्को ताम्बेरीलाई पनि स्वर्ण पदक दिलाएका घटनाले विश्व खेल जगतलाई नयाँ खालको सन्देश दिएको छ ।

अल जजीराका अनुसार ओलम्पिकमा पुरुष हाइजम्प प्रतिस्पर्धामा यस्तो खाले घटना भएको हो । कतारका बारशिम र इटलीका ताम्बेरी दुवै जनाले २.३७ मिटर जम्प गरेर एकसाथ पहिलो स्थानमा हाँसिल गरे । त्यसपछि निर्णायकहरूले २ जनामध्ये एक विजेता छान्नुपर्ने भयो । त्यसपछि खेल अधिकारीले उनीहरूले दुवैलाई थप ३–३ जम्प गर्न भनेता पनि पछि गरिएका तीनवटै जम्पमा दुवै खेलाडी २.३७ मिटरको उचाइभन्दा माथि जान सफल भएनन्।

तीन थप जम्प गर्ने क्रममा पनि विजेता छनौंट गर्न नसकेपछि अधिकारीहरूले उनीहरुलाई थप १–१ जम्प गर्न भनेका थिए । तर ३–३ जम्प गर्ने क्रममा तेस्रो जम्पका क्रममा इटलीका खेलाडी ताम्बेरीले खुट्टामा चोट लागेर अर्को जम्प गर्न नसकेपछि नाम फिर्ता लिए । त्यसपछि एक राम्रो जम्प गरेर स्वर्ण पदक जित्ने सुनौलो मौका कतारी खेलाडी बारशिमले पाए ।

प्रतिस्पर्धी खेलाडी बाहिरिएपछि बारशिमले खेल अधिकारीसँग ‘मैले पनि नाम फिर्ता लिए के हुन्छ ?’ भनेर सोधे । अधिकारीहरूले नियमको अध्ययन गरेर उनले पनि नाम फिर्ता लिए दुवैलाई स्वर्ण पदक दिइने बताए । यो थाहा पाएपछि बारशिमले पनि नाम फिर्ता लिएपछि नियमअनुसार दुवै खेलाडीलाई स्वर्ण पदक दिइयो । यसरी जापानको टोकियो जारी ओलम्पिक खेलको एक प्रतिस्पर्धामा २ जना खेलाडीले संयुक्त रुपमा स्वर्ण पदक जितेका हुन् ।

बारशिमले आफ्नो ऐतिहासिक निर्णयपछि भने, ‘खेलमा जित्नु नै सवैथोक हुँदैन । हामीले आउने पिढीलाई सन्देश दिएका छौं कि कसरी खेल्नुपर्छ । कसरी आफ्ना प्रतिद्वन्द्वीलाई पनि सम्मान गर्नुपर्छ र जो हकदार छन् उनीहरुसँग सफलता बाँड्नुपर्छ ।’ ताम्बेरीले खुसीमा बारशिमलाई अंकमाल गरे र दुवैले ओलम्पिक स्टेडियम परिक्रमा गरेर आफ्नो भावना व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको