३ कार्तिक २०७८, बुधबार

दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउन एमालेको माग




१९ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनसाथ विषेश समय लिएर बोल्दै सांसद् गणेश ठगुन्नाले घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् । साथै उनले आफ्ना नागरिकको ज्यान गएको गम्भीर घटनामा पनि शेर बहादुर देउवा नेतृत्वको सरकारले भारतसँग कुरा गर्न डराएको आरोप लगाए ।

“भारतीय पक्षबाट एउटा नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दैन । प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेको छ,” उनले भने,“गृह प्रशासनले पनि यसलाई गम्भीर रुपमा लिइरहेको छैन । भारतीय थानमा पनि पीडित पक्षले किटानी जाहेरी दिइसकेका छन् । स्थानीय प्रशासन र गृह मन्त्रालय दुवै ढाकछोपमा लागेका छन् ।”

खुलेआम एउटा निर्दोष नेपाली नागरिकको ज्यान गएको भन्दै घटना अत्यन्तै दुःखद् भएको उनले बताए । “प्रत्यक्षदर्शी स्वयम् नदीको दुवैतर्फ भएका उनीहरुले तार फुकालेर महाकाली नदीमा बगेकोसम्म देखेको र निजका आफन्तहरुले भारतीय थानामा किटानी जाहेरी समेत दिइसकेका छन्,” उनले भने ।

उनले नेपाल सरकार गृह मन्त्रालय र स्थानीय प्रशासन प्रत्यक्ष घटित घटनालाई पनि ढाकछोप गर्न र भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको भन्दै असन्तुष्टि जनाए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको