५ कार्तिक २०७८, शुक्रबार

छाडा गीत गाउदै हिंडेका दुर्गेशलाई बहिस्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय



१९ साउन, काठमाडौं । छाडा गीत गाएर पटक–पटक विवादमा तानिइरहने कलाकार दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिष्ठानको बैठकले थापालाई बहिस्कार गर्ने निर्णय गरेको हो ।

यद्यपि प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको जानकारी दिए ।

लोक गीतमा अभिनय गर्ने दुर्गेश यस्तै छाडा र अमर्यादित गीतहरू सार्वजनिक गर्दै निरन्तर लोक संगीतमाथि नै धावा बोल्दै आएका छन् । १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश चौतर्फी विवादको तारो बनेका छन् ।

गीत ल्याउनुअघि नै ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाउदै सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने दोहोरीगीत प्रतिष्ठानको ठहर थियो । आपत्तिजनक शब्दहरु फेरबदल गरेर मात्र गीत प्रस्तुत गर्न आग्रह गरेपनि अटेर गरी दुर्गेशले गीत सार्वजनिक गरेका थिए ।

गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरु र आम मान्छेले पनि आपत्ति जनाएका छन् । विधिपूर्वक गरिएको आग्रहलाई अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने निर्णयमा प्रतिष्ठान पुगेको हो ।

प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक हमालले भने, ‘हामीले उहाँलाई संस्थागत बहिस्कारको निर्णय गरेका छौं । प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’

हमालका अनुसार दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरू प्रहरीमा उजुरी दिने तयारीमा रहेको बुझिएको छ । आफूहरुको अनुरोधका कारण तीज गीतमा विकृति घट्दै गएको पनि दुर्गेशले अटेर गरेर पैसा र चर्चाका लागि विकृत गीत ल्याएकोले कारबाही गरिएको प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको