२० जेष्ठ २०८०, शनिबार

चिन्तन, व्यवहार र कर्णालीको रूपान्तरण


डा. कृपाराम विश्वकर्मा
२० भाद्र २०७७, शनिबार

परम्परागत नेपाली समाज विविध प्रकारका सामाजिक क्रियाकलापहरूको अनुभव गर्न पाइने ज्ञानको स्रोत हो । कर्णाली क्षेत्र इतिहास, कला, साहित्य तथा संस्कृतिको वेजोड सङ्गमको पर्याय हो भन्दा अत्युक्ति नहोला । यो क्षेत्रका नागरिकहरू देशका अन्य भुभागमा जसो उच्च अध्ययन गरेका छैनन । तर तिनीहरू सभ्य र समृद्ध भनिएको समाजका नागरिकभन्दा हरेक किसिमले अब्बल नै छन् । सभ्यता र संस्कृतिको सम्पदाको रूपमा स्थापित छन् । मानिसले मानिसलाई गर्ने शोषणका रूपहरू फरक फरक भए तापनि रुढीवादी क्रियाकलापहरूको प्रभाव देशका अन्य क्षेत्रहरूको जस्तै यहाँ पनि पाउन सकिन्छ । देशका विभिन्न स्थानमा पाठकहरूको सङ्ख्या व्यापक भए तापनि शिक्षित नागरिकहरूको सङ्ख्या अझै न्यून रहेको छ ।

सुपठित तथा सुशिक्षित, विचारविहिन र चेतना शून्य मनुवाहरूको विग्विगी देशमा रहेको छ । देशका लागि आवश्यक पर्ने महत्वपूर्ण क्षेत्रमा योगदान पु¥याउनु पर्ने शिक्षित व्यक्तिहरू केवल खानका लागि मात्र कसरत गरेको पाइनु सुखद पक्ष भने होइन । स्व–घोषित शिक्षितजनहरूमा न शिष्टता रहेको छ, नत सहयोग र सद्भाव अभिवृद्धिको चेतना । शिक्षित नागरिकहरू निश्चय पनि देश विकासका खम्बाहरू हुन्, तिनीहरूमा बढ्दै गरेको एकलकाँटे प्रवृत्ति आत्मघाती त छ नै, यस प्रवृत्तिले आम नागरिकहरूको चालचलन र सर्वजनहितमा परिश्रम गर्ने मनस्थिति सबैका लागि अति हानिकारक रहेको छ । अध्ययन एउटा कला हो । कलामा अभ्यस्त नागरिकहरूले अध्ययन गर्नु अनौठो हुँदैन । तर अध्ययनबाट व्यक्तिको चिन्तन तथा दृष्टिकोणमा परिवर्तन आउन सक्दैन भने त्यो अध्ययन व्यर्थ हो, बोझ हो । त्यसैले, समाजमा बल्झिरहेका विविध समस्याहरूको समाधान निकाल्नका लागि अध्ययनको आवश्यक हो । तर, चिन्तनको दरिद्रताले कुनै व्यक्ति तथा समाजलाई कहिल्यै पनि उचित मार्गमा जान दिँदैन, परिणाममा शुन्य नै हुन्छ ।

निर्वाहमुखी अर्थतन्त्र नै जीवन हो ?

नेपालका दुर्गम जिल्लाबाट एक पटक चुनाव जितेको मानिसले विकसित र सुविधासम्पन्न क्षेत्रमा बसोबास नगरेको सायदै होलान् । सांस्कृतिक स्तर न्यून भएका देश र जनताप्रतिको जिम्मेवारीवोध नगरेका राजनीतिक दल र दृष्टिकोण विनाका नेता तथा कार्यकर्ताहरूको कारण सिङ्गो कर्णाली प्रदेशले विविध समस्याहरूको सामना गरिरहनु परेको छ ।

आम नागरिकहरूको जीवनस्तर उकास्ने कार्यक्रममा राज्य कोषको पूर्णतः उपयोग गरेर आम नागरिकहरूलाई उत्पादनशील कार्यमा सङ्लग्न गराउनु पर्नेमा स्रोत साधनको सदुपयोग होइन, नाफा कमाउने होडबाजीमा व्यापक दुरूपयोग गर्दा आत्मनिर्भर बन्ने त परै छोडौं गुजारा गर्नसम्म पनि आम नागरिकका लागि धौ धौ भइसकेको छ । जनताको विकास निर्माणका कार्यमा समेत विभिन्न बहानामा कटौती गरिने रकमले ठुलो आकारको बजेट देखिए तापनि सेवाग्राहीले पाउने रकम भने सीमित हुन आउँछ । यसबाट न जनताले आवश्यकता महशुस गरेको काम गर्न सकिन्छ न गुणस्तरीय काम सम्पादन गर्न नै ।

अर्कोतिर नेपाल र नेपाली जनतालाई गरीब राष्ट्रको रूपमा परिचित गराउँदै तिनै गरीबजनहरूले राज्यकोषमा तिरेको रकमबाट अत्यन्त आकर्षक सुविधा डकार्नेहरू हाम्रा जनप्रतिनिधि भएपछि देश त्यत्तिकै विकसित हुने नै भयो । देश विकास र जनताको नाउँमा राज्यकोषको रकममा व्यापक अपचलन हुँदा जनताका लागि राम्रा पूर्वाधारहरूको विकास हुन सकेन । फलतः कर्णालीवासीहरू मात्र होइन, सिङ्गो देशवासीहरू आत्मनिर्भर होइन गुजारामूखी अर्थतन्त्र आत्मसात् गर्दैछन् ।

नेतृत्वमा विश्वासको सङ्कट

जसरी व्यक्तिको पहिचान सङ्कटका बेलामा हुन्छ, असल नेता तथा कार्यकर्ताको पहिचान पनि जनताको सेवा गर्ने अवसरको प्राप्तीमा हुने गर्दछ । नागरिकहरूको आधारभूत तहदेखि नै देश र जनताको हितमा कसले काम गर्छन र कसले गफमात्र दिन्छन् भन्ने कुराको मूल्याङ्कन गरिसकेका छन् । नेपालमा भएको करिव तिन दशकको व्यवहारिक अनुभवले राजनीति जनताको निस्वार्थ सेवा गर्ने एउटा मञ्चको रूपमा नभएर मनग्य पैसा कमाउन र आसेपासेहरूलाई राज्यका महत्वपूर्ण ओहदामा पु¥याउनका लागि हो भन्ने प्रमाणित गरिदिएको छ ।

नेपाली हावापानीमा हुर्किएका, आफ्नै भाइछोराहरूले नेतृत्व गरेका राजनीतिक दलहरूले नेपाली किसानजनको हितमा व्यापक क्रियाकलापहरू सञ्चालन गरेर आत्मनिर्भर गराउने छन् भन्ने भ्रममा किसानहरूको ठुलो हिस्सा रहेको छ । जनताका आधारभूत आवश्यकताहरूको परिपूर्तिका लागि प्राथमिकतामा राखेर काम गर्नुको सट्टा राज्य कोषमा ब्रम्हलुट गरेर मौकाको फाइदा उठाउनेहरू जनताका असल मित्रहरू कदापी हुन सक्दैनन । जसरी व्यक्तिको पहिचान सङ्कटका बेलामा हुन्छ, असल नेता तथा कार्यकर्ताको पहिचान पनि जनताको सेवा गर्ने अवसरको प्राप्तीमा हुने गर्दछ । नागरिकहरूको आधारभूत तहदेखि नै देश र जनताको हितमा कसले काम गर्छन र कसले गफमात्र दिन्छन् भन्ने कुराको मूल्याङ्कन गरिसकेका छन् । नेपालमा भएको करिव तिन दशकको व्यवहारिक अनुभवले राजनीति जनताको निस्वार्थ सेवा गर्ने एउटा मञ्चको रूपमा नभएर मनग्य पैसा कमाउन र आसेपासेहरूलाई राज्यका महत्वपूर्ण ओहदामा पु¥याउनका लागि हो भन्ने प्रमाणित गरिदिएको छ ।

ताक परे तिवारी नत्र गोतामे प्रवृतिले गर्दा नेतृत्वप्रति विश्वस्त हुन सक्ने आधारहरू छैनन् । झनै नेपालमा सञ्चालन गरिएको दश वर्षे जनयुद्धमा नेतृत्वले गरेको विश्वासघातले आन्तरिक र बाह्य शक्तिहरूको असली अनुहार समेत जनताले स्पष्टै चिनिसकेका छन् । आफूलाई अत्यन्तै सभ्य र सुसंस्कृत ठान्नेहरूका चेतना र प्रवृत्तिहरूको राम्ररी अवलोकन समेत जनताले गरिरहेका छन् । तिनीहरूले आफ्नो भाग्यको निर्माण अरु कसैको निगाहमा होइन आफ्नै बलबुतामा गर्नु पर्छ भन्ने कुरा समेत राम्ररी बुझिसकेका छन । समाजको रूपान्तरण र मानिसको जीवन स्तरमा परिवर्तन काम र व्यवहारले गर्ने हो, बोक्रे कुरा र उडन्ते गफले कहिल्यै गर्न सक्दैन भन्ने कुरा व्यवहारले स्पष्ट गरिसकेको छ । चिन्तनको दरिद्रताले विभेदकारी व्यवहारको जन्म दिन्छ । यसले विश्वासको सङ्कटलाई थप जटिल बनाउँछ भने समाजमा विविध प्रकारका कठिनाईहरूको समेत सिर्जना गराउने भूमिका खेलेको हुन्छ ।

विभेदः पछौटे चिन्तनको पराकाष्ठा

प्रकृति र सामाजिक क्रियाकलापहरूको संयोजनमा मानिसले नै मानिसको सेवा गर्ने हो । मानिसले मानिसलाई गर्ने विभेद एक अवैज्ञानिक चिन्तन तथा व्यवहारको निरन्तरता हो । विभेद आफैमा एक सामाजिक अपराध हो । विभेदकारी मानसिकता बोकेका र विभेदजन्य क्रियाकलाप गर्नेहरूलाई ठुलो झट्का दिन अत्यावश्यक भैसकेको छ । मानव समाजको उत्पत्तिको सामान्य जानकारी नभएकाहरूका लागि विभेदको अस्त्र समाजका कमजोर समुदायलाई थप दबाउने दाउ हो ।

विगतमा सञ्चार माध्यमहरूमा समाजमा कुरीति र कुसंस्कारका विविध आयामहरू मध्येको मान्छेले मान्छेलाई गर्ने जातीय विभेद पिछडिएको क्षेत्रमामात्र रहेको कुरा सन्नमा आउँथ्यो । जब सूचना र सञ्चारको विकास तिव्र रूपमा हुँदै गयो, कुना कन्दरामा मात्र होइन देशका उच्च प्रशासनमा बसेर तिनै अछुत र अव्यवस्थित नागरिकहरूले तिरेको करमा रजाई गर्नेहरूको चेतनामा समेत घुम्टो लागेको स्पष्ट भयो । प्रकृतिको सिर्जना मानिसभन्दा संसारमा ठुलो र उच्च कुनै प्राणी छैन । प्रकृति र सामाजिक क्रियाकलापहरूको संयोजनमा मानिसले नै मानिसको सेवा गर्ने हो । मानिसले मानिसलाई गर्ने विभेद एक अवैज्ञानिक चिन्तन तथा व्यवहारको निरन्तरता हो । विभेद आफैमा एक सामाजिक अपराध हो । विभेदकारी मानसिकता बोकेका र विभेदजन्य क्रियाकलाप गर्नेहरूलाई ठुलो झट्का दिन अत्यावश्यक भैसकेको छ । मानव समाजको उत्पत्तिको सामान्य जानकारी नभएकाहरूका लागि विभेदको अस्त्र समाजका कमजोर समुदायलाई थप दबाउने दाउ हो ।

परन्तु, इतिहासको जानकारी राख्नेहरूका लागि मानिसले मानिसलाई गर्ने विभेद एक घृणित खेल र हिनताको हतियार समेत बन्न सक्छ । कर्णालीको परम्परागत समाजमा जहाँ पाठकहरूको बाहुल्यता रहेको छ, पढेर पनि शिक्षित हुन नसकेको समाजमा यो हाडभित्र घुसेको लिस्सोको रूपमा विद्यमान छ । यस्ता विकृति र विसङ्गतिले समाजमा कसैलाई पनि आत्मोन्नतिको बाटो खुल्ला गर्दैनन । छलछाम, छक्कापञ्जा र लुटखसोटको सामाजिक चालचलन बाहेक यसले अरु क्रियाकलापहरू गर्ने क्षमता राख्दैन ।

धेरै पढेलेखेका र राजनीतिक दलको उच्च तहमा रहेका अधिकाँश मनुवाहरू नै यस्ता अपराधहरूको प्रवद्र्धकका रूपमा भुमिका खेल्छन् भने समाजका औषत नागरिकहरूको चिन्तनमा कसरी परिवर्तन हुन सक्छ ? भाषणमा ठुल्ठुला कुरा गर्ने तर व्यवहारमा शुन्य नागरिकहरू, तिनका दल र नेताहरू बास्तवमा दुच्छर स्वभावका प्रवर्तकहरू हुन् । सांस्कृतिक स्तर उच्च रहेका एकाध प्रगतिशील खेमाका राजनीतिक कार्यकर्ताहरू बाहेक प्रायः यस्ता विसङ्गतिका सिकार बनेका छन् । यसले नागरिकबीचको व्यवहार भावनात्मक एकता विनाको जोडाई सावित गरेको छ । समाजमा उच, निच, तल र माथि धनी र गरीब जस्ता पूँजीवादी निचताको प्रसारमा विशेष भूमिका खेलिरहेको छ । कथित बौद्धिक समूदायले मौन स्वीकृति जनाइरहेको स्थितिमा कसरी समाजमा शान्ति कायम रहन सक्ला ?

मानव समाजको कलङ्कको रूपमा रहेको जातीय विभेदको अन्त्य नभएसम्म विभेदकारी समाजको हेपाइमा पारिएका समूदायको उत्थान तथा विकासको कल्पनासम्म पनि गर्न सकिंदैन । मनु स्मृतिमा आधारित वर्ण प्रणाली यसको सैद्धान्तिक आधार हो, जातप्रथाको खारेजी विना समाजमा समानता र समृद्धिको कल्पना गर्नु आकाशको फल सावित हुनेछ । सती प्रथालाई निस्तेज गरे झै कानुनी रूपमा नै वर्ण प्रणालीको उन्मुलनसँग समानता जोडिएको छ र पिडितहरूले पनि यसको कारण पत्ता लगाउँदै आवश्यकता अनुसारको प्रतिकारको जरुरी पनि छ । अन्यथा, परिस्थितिले अर्कै कोल्टो फेरिसकेको हुनेछ ।

नैतिकताको खडेरीमा राजनीति

कुनै समाजको रूपान्तरण त्यस समाजका अगुवाहरूको इमान्दारिता, उच्च नैतिकता तथा सामाजिक सद्भावमा भर पर्दछ । यस परिप्रेक्ष्यमा यस क्षेत्रमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा मिलिजुली खाऔंको प्रवृतिले राजनीतिक नैतिकतामा हाँक प्रस्तुत गरेको छ । परिवर्तनको सोच राख्ने र आवश्यक कर्म गर्ने मनग्य जनशक्तिको अभावले पनि यहाँको स्थितिलाई थप गिजोलेको छ । बौद्धिक समुदायमा सार्वभौम चिन्तनको आवश्यकता छ, यसको अभावमा नागरिकहरूको भूमिका कारिन्दा बन्ने, पैसा कमाउने र गुजारा गर्ने बाहेक अरु हुन सक्दैन ।

कर्णालीका नागरिकहरूको न्यूनतम पूर्वाधार विनाको जिन्दगीको रूपान्तरणको सपना देखाउँदै राजनीतिक अवसरको फाइदा उठाउने र देशका विभिन्न सुविधासम्पन्न्न स्थानहरूमा बसोबास गर्नेहरूको पङ्क्तिमा कमी नभए तापनि आश्वासन बाँड्नेहरूको सङ्ख्या पनि त्यत्तिकै उकालो लाग्दै छ । कर्णालीको वृहत्तर विकासको उचित परिकल्पना विना जतिसुकै बाजा बजाए तापनि समस्या समाधानमा खासै गुणात्मक परिणामको अपेक्षा गर्न सकिंदैन । परम्परागत समाजका मानिसहरूले ठुल्ठुला विरामहरू होइन झिना मसिना प्रवृत्तिहरूलाई रूपान्तरण गरे मात्र पनि मानवजन्य विरामहरूबाट जोगिन सकिन्छ ।

कुनै समाजको रूपान्तरण त्यस समाजका अगुवाहरूको इमान्दारिता, उच्च नैतिकता तथा सामाजिक सद्भावमा भर पर्दछ । यस परिप्रेक्ष्यमा यस क्षेत्रमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा मिलिजुली खाऔंको प्रवृतिले राजनीतिक नैतिकतामा हाँक प्रस्तुत गरेको छ । शकाम नगर्ने, राज्य कोषको दोहन गर्ने, तर अनावश्यक आश्वासनमात्र दिने प्रवृति अत्यन्तै जटिल रोग हो, जसको उपचार त्यति सहज पनि छैन । यसले बडप्पनका कुरा गर्नेहरूका झिंगापित्ते प्रवृत्तिलाई खुइल्याई दिएको छ र बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि बनाउन दिंदैन भन्ने चरितार्थ गरेको छ ।

समाजका सचेत नागरिकहरू अल्पमतमा रहेकै कारण छट्टु तथा बदमासी गर्नेहरूले हरेक क्षेत्रमा राईंदाई गरेका छन् । हुनतः काग जहाँको भए पनि कालै हुन्छ । राजनीतिक नैतिकताको खडेरी पनि कर्णालीको अर्को ठुलो शत्रु हो । राजनीतिक प्रणालीका सम्बन्धमा व्यापक चिन्तनमनन गर्न सक्ने र यसको समाजसँगको तादात्म्यताको स्थिति आँकलन गरेर जनताका लागि आवश्यक पर्ने बौद्धिक खुराक दिने तहको अभाव पनि जथाभावी चलखेलको बाटो बनेको छ । विज्ञभन्दा महाविज्ञहरूका अगाडि एक राजनीति पाटीको झोलेको पण्डित्याई वैधानिक मानिने स्थानमा गुणस्तरीय शिक्षा भालुलाई पुराण सावित हुन्छ । परिवर्तनको सोच राख्ने र आवश्यक कर्म गर्ने मनग्य जनशक्तिको अभावले पनि यहाँको स्थितिलाई थप गिजोलेको छ । बौद्धिक समुदायमा सार्वभौम चिन्तनको आवश्यकता छ, यसको अभावमा नागरिकहरूको भूमिका कारिन्दा बन्ने, पैसा कमाउने र गुजारा गर्ने बाहेक अरु हुन सक्दैन ।

अन्तमा,

कर्णाली क्षेत्र इतिहास, सभ्यता र संस्कृतिको जिउँदो सम्पदा हो । प्राकृतिक तथा भौतिक सम्पदाहरूको योजनावद्ध उपयोगबाट यस क्षेत्रले नेपाली जनताका लागि मनग्य आर्थिक स्रोत साधनको व्यवस्थापनमा योगदान दिन सक्ने छ । धुवाँरहित उद्योग पर्यटन विकासको पर्याप्त सम्भावना बोकेको मनमोहक ताल, डाँडाकाँडा, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थलहरू लगायत प्रसिद्ध हिम शृङ्खलाहरू समेत यस प्रदेशमा रहेका छन् । राज्य स्रोतको रचनात्मक उपयोग विना जुनसुकै कार्य पनि सफल हुँदैन । कर्णालीका जनताको मजवुरीको विक्री गरेर सुविधा सम्पन्न महलमा बस्ने सपना देख्नेहरूबाट सबै होसियार रहनै पर्छ । समस्या समाधानका उपायहरू सबै नागरिकहरूको हातमा छन् । तसर्थ, हरेक नागरिकले आ–आफ्नो ठाउँबाट रचनात्मक रूपमा योगदान गरौं । नागरिकहरूको समझदारीको उपयोग गरेर मौकाको फाइदा उठाउने दलालहरूलाई खवरदारी गरौं ।

(लेखक विश्वकर्माले राजनीतिक शास्त्र अन्तर्गत Issues of Dalits for Peace Building in Post-conflict Nepal मा विद्यावारिधी उपाधी हासिल गरेका छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको