मोटा प्रहरीको तौल घटाउन दैनिक दौडाउन थालियो
१८ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानको तौल सन्तुलन गराउन दैनिक दौडाउन सुरू गरेको छ ।
जिल्लामा आएको दोस्रो दिनदेखि नै नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले यस्तो अभियान सुरू गरेका हुन् ।
एसपी काफ्लेले दाङ आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको बताए । उनले भने, ‘बिहान म पनि सधैँ दौडिन्छु र मोटा प्रहरी सबैलाई अनिवार्य दौडाउन लैजान्छु ।’
बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाएर फिट भएपछि पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने एसपी काफ्लेले बताए ।
जागिर खाने कोही प्रहरी अत्याधिक मोटाएर राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थामा रहेको उनले बताए । एसपी काफ्लेले भने, ‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो ।’
दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन् ।
डिउटीमा रहेका प्रहरी बाहेक अरू सबै एक घन्टा दौडिन सुरू गरेको डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । ‘शारीरिक रुपमा फिट हुन सबै दौडिने भन्ने छ । केही दिन अलि गाह्रो भए पनि हिजोआज एक–आधा घण्टा दौडिएर पिटी गर्दा आनन्द आउँछ ।’ डिएसपी रिजालले भने ।