३१ आश्विन २०७८, आईतवार

नेपालका नामसिंह थापाको सम्झनामा रोमाञ्चक ओलिम्पिक यात्रा



बिबिसी । प्लाटुन कमान्डर सार्जेन्टले कान समात्दै मेरो हातमा बक्सिङ पञ्जा राखिदिए र सिधै रिङमा पुर्‍याए । रिङ वरिपरि ठुलो भिड चिच्याइरहेको थियो ।

यो सन् १९६० को कुरा हो । म १४ वर्षको थिएँ र ब्रिटिश गोर्खाको ‘ब्वाइ इन द ब्वाइज’ कम्पनीमा भर्ना हुन मलाया (मलेसिया) पुगेको थिएँ ।

मैले पहिलो पटक बक्सिङको नाम सुनेको त्यहीँ नै हो । पल्टनमा त्यो खेल अनिवार्य थियो, जुन खेल्न नपरोस् भनेर म भागीभागी हिँडेको थिएँ । त्यो दिन पक्राउ परिहालेँ ।

कहीँ घण्टी बजेको जस्तो आवाज के सुनेको थिएँ मेरो विपक्षीले लगातार मलाई मुक्का बर्साउन थालिसकेका थिए ।

केही मुक्का भेटेपछि मैले सहन सकिनँ । अनि दुवै हात अन्धाधुन्ध घुमाउन थाले ।

अन्तिममा त मैले नै पो जितेछु । मुढे बलले काम गरेछ । यसरी एकाएक म त्यो दिनको हिरो भएँ। अनि बक्सिङमा रस बस्यो ।

मेरो नाम नामसिंह थापा फल मगर हो ।

स्याङ्जा र पोखराको बीचको एउटा दुर्गम पहाडी गाउँ मनकामना गाविस बलेउ– ५ मा म जन्मेको हुँ ।

पानी थाप्न ४५ मिनेट हिँडेर जानुपर्थ्यो । बुटवल सहर पुग्न छ घण्टा लाग्थ्यो ।

गाउँमा गाईभैँसी चराएर हुर्केको ज्यान । दुख त जन्मेदेखि सिकेको हुँ ।

ज्यान बनाउन केही गर्न पछि पर्दिनथेँ, पल्टनमा पुग्ने रहर जो थियो । पाखुरा बलियो बनाउन भनेर ढुङ्गा बोकेर अभ्यास गर्थेँ ।

त्यसरी दुखेर बनेको ज्यान पो हो त । अनि कसैले त्यसै कहाँ कुट्न सक्छ र यो ज्यानलाई ।

सुगेई पटानीमा दुई वर्ष लडाइँ लड्ने कला सिक्न कडा प्रशिक्षण गरेँ ।

पल्टनमा थुप्रै खेल हुन्थ्यो । क्रिकेट, हक्की, पौडी, जिम्न्यास्टिक्स, भलिबल, एथलेटिक्स आदि । मलाई भने बक्सिङ प्यारो लाग्यो ।

मलाया, पेनाङ र सिंगापुरमा बक्सिङ भिड्न गइन्थ्यो । त्यहाँ मलेसियाली, चिनियाँ, तमिल र भारतीयहरूसँग टक्कर हुन्थ्यो ।

जुनियर प्रशिक्षण सकिएपछि म ‘सेकेन्ड बटालियन सिक्स क्विन एलिजाबेथ गोर्खा राइफल’ रेजिमेन्टमा भर्ना भएँ र हङकङ पुगेँ ।

सोचेको थिएँ यता बक्सिङ खेलिन्न । तर ठिक उल्टो भयो ।

बटालियनमा बक्सिङ पहिले नै रहेछ । त्यहाँ प्लाटुन कमान्डरले मलाई बक्सिङ खेल्न प्रेरित गरे । अनि म ब्रिगेड अफ गोर्खाको मुख्य खेलाडी भएँ ।

त्यति बेला बटालियनबीच र सेनाहरूको विभिन्न निकायहरूबीच नै कडा टक्कर हुन्थ्यो ।

पहिलोपटक मैले ल्यान्ड फोर्स बक्सिङ च्याम्पियनशीपमा खेलेँ । प्रतिद्वन्द्वी रोयल ग्रीन ज्याकेट रेजिमेन्टका थिए ।

दोस्रो राउन्डमै उनलाई घुँडा टेकाएँ । त्यसपछि कति खेलियो, खेलियो । जितियो पनि उति नै ।

सिंगापुरमा हुने फार इस्ट ल्यान्ड फोर्स बक्सिङ च्याम्पियनशीप सन् १९६३÷६४ खेल्न बटालियनबाट छनोट भएँ । छानिएकामा म मात्र गोर्खाली थिएँ ।

त्यहाँका प्रतिद्वन्द्वी रोयल एयर फोर्सु, रोयल नेभी र आर्मी बटालियनकाहरू थिए ।

त्यो मेरो जीवनको उत्कृष्ट खेल मध्येमा पर्छ । उपाधि मैले जितेँ । पुरस्कारमा २५ हजार हङकङ डलर अनि अल इन्डिया बेल्ट थियो । सिंगापुरबाट हङकङ फर्किँदा त प्लाटुनमा सम्मानको ओइरो आयो ।

हङकङ कोलोनी बक्सिङ च्याम्पियनशीप जितेँ । हङकङ एमेच्योर बक्सिङ एशोसिएसनको प्रतियोगितामा त बबाल नै भयो ।

त्यहाँ चिनियाँ प्रतिद्वन्द्वीलाई हराउँदै म फाइनलमा पुगेँ ।

तर राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले मलाई हराइदियो । रिसाएका दर्शकहरूले उपद्रो नै मच्चाएका थिए ।

मलाई मोस्ट इम्प्रुभ्ड बक्सर १९६४ को उपाधिले सम्मान गरे ।

हङकङ बक्सिङ एशोसिएसनले मलाई आजीवन हङकङमा बस्न र व्यावसायिक बक्सर बन्न प्रस्ताव राख्यो ।

तर मेरो कमान्डरले प्रतिभाशाली फौजीले बक्सर बनेर जीवन बिताउन नहुने भनेर मानेनन् ।

त्यही बेला मैले आफ्नै देशबाट ओलिम्पिकमा प्रतिनिधित्व गर्ने महान् अवसर पाएँ ।

त्यो बेला हाम्रो बटालियनका बक्सिङ प्रशिक्षक विली टिङनर थिए । अस्ट्रेलियाका उनी आफ्नो देशको छ वर्षसम्मका फ्लाईवेट च्याम्पियन थिए ।

उनैले तत्कालीन राजा महेन्द्रसँग सम्पर्क गरेर हङकङमा राम्रा नेपाली खेलाडी रहेको र उनीहरूलाई ओलिम्पिक खेलाउन अपिल गरेका रहेछन् ।

राजाबाट स्वीकृति पाएपछि म लगायत चार बक्सरले ओलिम्पिक खेल्ने अवसर पायौँ ।

हामी भर्खरभर्खर चर्चित हुँदै थियौँ, ओलिम्पिक जस्तो ठूलो खेलमा गाह्रो होला भन्ने डर थियो ।

कमान्डरले हौसला बढाउँदै भनेका थिए ‘यसपालि ओलिम्पिक्समा राम्रो गर्न पनि नसके पनि तिमीहरू सन् १९६८ मा मेक्सिकोमा हुने खेलमा भाग लिन जानुपर्छ ।’

हामी ५ अक्टोबर १९६४ मा सामान बोक्ने सैनिक जहाजमा चढ्यौँ । बस्ने राम्रो सिट पनि थिएन । हामी त एकदमै गाह्रो गरी ओलिम्पिकमा पुग्यौँ ।

हाम्रो जहाज एक घण्टाको उडानपछि सैगुन भन्ने ठाउँमा तेल भर्नका लागि ओर्लियो । छ घण्टाको उडानपछि जापानको ओकिनावास्थित अमेरिकन एअर फोर्स बेस क्याम्पमा ओर्लियौँ ।

त्यो दिन हामीलाई त्यहाँको जेट फाइटर्स, मिसाइल्स, बम र मिलिटरी हेलिकोप्टरको निरीक्षण गर्ने मौका पनि मिल्यो । त्यो भ्रमणको फोटो मिलिटरी जर्नलमा छापिएको रहेछ ।

भोलिपल्ट अपराह्न चार बजेतिर हामी टोक्यो पुग्यौँ । हामीलाई ओलिम्पिक भिलेज लगियो ।

त्यहाँको व्यवस्था त गज्जबकै रहेछ । परम्परा भन्दै हामीलाई घरको तीन चक्कर लगाएर मात्र भिलेज छिराइयो ।

नेपाली झन्डा भएको घर । त्यहाँ नेपालबाट आएका दुई धावक सहितका पदाधिकारीहरूसँग भेट भयो ।

त्यहाँको व्यवस्थापन पनि एकदमै राम्रो थियो । दुई वटा कार र ड्राइभरसहित एउटा ल्यान्ड रोभर हाम्रो लागि राखिएको थियो ।

हरेक १०÷१० मिनेटमा गाडी गुडिरहने । साइकलहरू फ्रीमा चढ्न पाइने । साइकल टिप्यो, आफू पुग्नुपर्ने ठाउँमा पुग्यो र त्यहीँ छोड्यो । यस्तो सुविधा थियो । ट्रेन पनि सित्तैमा चढ्न पाइने ।

भिलेजमा फिल्म हेर्ने र क्लासिकल गीत सुन्ने थिएटर थियो । खेलकुद पसल अनि विभिन्न देशको मिल्दोजुल्दो खाना २४ घण्टै पाइन्थ्यो । हामी त छक्क पर्ने नै भयौँ ।

हामी पल्टने मान्छे । यसो बियर खान मन लाग्थ्यो । तर त्यहाँभित्र कहाँ पाउनु ? बेला बेला घाँटी खसखसाउँथ्यो ।

१० अक्टोबरमा उद्घाटन समारोह भयो । हामीले नेपालबाट ल्याएको रातो रङ्गको कोट लगायौँ । अझैसम्म त्यो कोटको माया लाग्छ ।

१६ अक्टोबर । म त्यति बेला १८ वर्षको जल्दोबल्दो बक्सर थिएँ ।

पहिलो राउन्डमै अमेरिकी खेलाडीसँग परियो । उनले १९६० रोम ओलिम्पिकमा कास्य पदक जितेका रहेछन् ।

उनी ३३ वर्षका थिए म जम्मा १८ । उनी धेरै अनुभवी खेलाडी, म यता हङकङतिर मात्रै भिडेको थिएँ ।

त्यो खेल जित्न सके मैले पनि कास्य पदक पाउने थिए । जोसका साथ मज्जाले भिडेँ । तर ती अमेरिकी खेलाडी ज्यादै तगडा थिए ।

दुई मिनेट ४५ सेकेन्ड खेलेपछि म धेरै घाइते हुन्छु भन्ने बुझेर होला रेफ्रीले बीचमै खेल रोकेर उनलाई जिताइदिए ।

१३ अक्टोबरमा भीमप्रसाद गुरुङले खेले । पश्चिम जर्मनीका खेलाडीसँग तीन राउन्डसम्म लडे तर जित्न सकेनन् ।

१४ अक्टोबरमा रामप्रसाद गुरुङको खेल हंगेरीका खेलाडीसँग थियो । उनी युरोपियन च्याम्पियन पनि रहेछन् । हंगेरीका खेलाडीले जिते ।

१५ अक्टोबरमा ओमप्रसाद पुनको खेल इथियोपिया खेलाडीसँग थियो । भाग्यवश खै कुन्नि के कारण हो इथियोपिया खेलाडी डिस्क्वालिफाई भएछन् । त्यसपछि पुन सेकेन्ड राउन्डमा पुगे ।

दोस्रो राउन्डमा भने पोल्यान्डका खेलाडीले पुनलाई नकआउट गरे । ती ज्यादै बलिया खेलाडी थिए ।

त्यति बेला ओलिम्पिकको दोस्रो चरणमा पुग्नु नै हाम्रो यात्राको उपलब्धि भयो ।

भिलेजमा नेपालबाट आएका प्रतिनिधिहरूसँग हाम्रो धेरै कुराकानी भएन ।

राम्रो खेल्नुपर्छ है भन्थे । सबै व्यस्त थिए ।

एथलेटिक्सका दुई जनासँग पनि खासै भेट भएन । उनीहरू आफ्नै ठाउँमा र हामी आफ्नो ठाउँमा अभ्यास गर्न जान्थ्यौँ ।

भिलेज बाहिर सहरबजार कस्तो छ भनेर चार जना घुम्न गएका थियौँ । तर कहाँको घुम्न पाउने नि अटोग्राफ माग्नेहरूको घुइँचो थियो ।

हामी जसरी जापान पुगेका थियौँ त्यसरी नै हर्कुलस चढेर आफ्नो पल्टनमा फर्कियौँ ।

नेपालमा तत्कालीन राजा महेन्द्रबाट हामीलाई बोलावट भएको रहेछ । तर हाम्रो टेलिफोन वा सम्पर्क नम्बर नभेटिएको भन्ने कुरा नेपाल आएर थाहा भयो ।

बेलायती महारानी एलिजाबेथसँग हात मिलाएको सम्झिएँ । तर आफ्नै राजालाई भने भेट्न पाइनँ ।

बेलायत पल्टनमा १२० मिलिमिटर कम्ब्याट गनको डिस्प्ले शो हेर्न आएकी महारानीलाई मैले त्यो देखाउन पाएको थिएँ ।

महारानीले खुसी भएर मसँग हात मिलाएर तीन मिनेट कुरा पनि गरेकी थिइन् ।

ओलिम्पिक खेलेको पाँच वर्षपछि नेपाल आएँ । सेनाका कप्तानले नेपाली सेनामा जागिर खान प्रस्ताव राखे ।

तर आफू त लाहुरे मान्छे, विदेशीको पछि लाग्ने बानी परेको थियो । जागिर खाइनँ ।

सन् १९८६ मा अवकाश पाएर म नेपाल फर्किएँ ।

बुटवलमा सानो घर बनाउँदै थिएँ, आफ्नै पल्टनका ब्रिगेडियर हेन डि गेजसँग भेट भयो ।

उनले राप्तीमा वेल फेयर अफिसरको जागिरको प्रस्ताव राखे ।

घरबाट नजाऊ भन्दाभन्दै गएँ । त्यहाँ साढे तीन वर्ष काम गरेर जागिर छोडेँ । अनि बुटवलमा सानो कुखुरा फार्म बनाएँ ।

३२ रुपैयाँमा एक क्रेट बेच्थेँ । महिनाको ६÷७ हजार कमाइ हुन्थ्यो ।

पल्टनमा कृषि, पोल्ट्री फार्मिङ, मार्केटिङ सबै सिकाउँथ्यो । त्यो ज्ञानले सजिलो भयो । तर सात जनाको परिवार पाल्न त्यतिले पुगेन । अनि काठमान्डू आएँ ।

सन् १९९३ मा फेरि हङकङ आएँ । यहाँ अवकाशप्राप्त जीवनको अर्को अध्याय सुरु भयो ।

चिनियाँहरू भूतपूर्व ब्रिटिश गोर्खा भनेपछि भुतुक्कै हुन्थे ।

त्यतिबेला फोर ग्याङ भन्ने समूह थियो । चोरीडकैती असाध्यै धेरै हुन्थ्यो । धनीहरू सुरक्षा गार्ड राख्थे ।

मैले सुरक्षा पर्यवेक्षकको जागिर पाएँ । म यतै रमाउन थालेँ । अनि कागज बनाएर यतै बस्न थालेँ ।

सन् २०१२ को लन्डन ओलिम्पिक्सका बेला पहिलो पटक ओलिम्पिक्स खेलेकाहरू सबैको निधन भइसक्यो भन्ने हल्ला चलेछ ।

म त जिउँदै थिएँ । ओम चाहिँ बितिसकेको रहेछ । भीमबहादुर बेपत्ता थियो । पछि बितिसकेको खबर सुनियो ।

जीवित म र रामप्रसाद गुरुङ मात्रै हो । बेलाबेलामा हामीबीच कुरा भइरहन्छ ।

त्यसपछि बक्सिङ सङ्घले बोलाएर सम्मान गर्‍यो । सरकारले पनि ओलिम्पियनलाई दिने सम्मान दियो । खुसी लाग्छ । ओलिम्पियन हुनुको इज्जत बुढेसकालसम्म पाइएको छ ।

यसपालि फेरी जापानमै ओलिम्पिक्स हुने खबरले विगतका सम्झना ताजा भएर आयो । जापान जाने खेलाडीहरूलाई बधाई र शुभकामना दिएँ ।

अहिले ७५ वर्षको उमेरमा मनमा एउटा रहर पलाएको छ । हामीले उति बेला सुरु गरेको यात्रामा यतिका वर्ष बितिसक्दा पनि कुनै नेपालीले पदक जित्न सकेका छैनन् ।

इच्छा छ – यो ज्यान रहँदै नेपालीले ओलिम्पिक्समा पदक जितेको हेर्न पाउँ । मनलाई शान्ति मिल्नेछ । (बिबिसीका निरञ्जन राजवंशीसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको