१० आश्विन २०७८, आईतवार

च्वाट्टै चुडिन सक्छ तुइन



साले यो जिन्दगीको केही भर छैन सान्नानी
तर्दातर्दै
च्वाट्टै चुडालिन सक्छ तुइन
रोकिन सक्छ स्वास
बग्न सक्छ कालीमा जिन्दगी

वर्षौदेखि
सुन्दै आएका हुन् कानले
तुइन विस्थापनको सुनौलो भाषण
हेर्दै आएका हुन् आँखाले
आफ्नै छातीमा उभिएको छिमेकी बादशाह
भोग्दै आएको हो मनले
आफ्नै आँगनमा पराइ ब्वाँसाको नृत्य

सदियौँदेखि
आँखा नभएको सरकार छ देशमा
कान नभएको सरकार छ
मन नभएको सरकार छ
नसुनेपछि सरकारले हाम्रा पीडा
नदेखेपछि सरकारले हाम्रा दुःख
केही भर हुँदो रहेनछ सान्नानी
कतिखेर चुडिन्छ तुइनको डोरो
र कालीमा हेलिन्छन्
हाम्रा सुन्ने कान, हेर्ने आँखा र भोग्ने मन

चुडालिएको तुइनको डोरोसँगै
कालीमा बगेपछि मेरो लास
औपचारिकताका लागि निस्किए केही थान विज्ञप्तिहरू
तत्कालै पराइ ब्वाँसाले बोल्यो धम्कीको भाषा
तुइन चुड्नु संयोग मात्र हो
ब्वाँसाहरूको कुनै गल्ती छैन
थर्कमान मेरो सरकार चुप लाग्यो क्षणमै
पहिले पहिलेझैँ यसपाली पनि
आउने छ सरकारी प्रतिवेदन
एक थान सुकिलो प्रतिवेदनमा
हुने छैन तिम्रो सिउँदोको पीडा
हुने छैन छोरीको मायाको मूल्य
हुने छैन आमाको आँसुको सम्बोधन
औपचारिकताको नयाँ अध्यायसँगै
सकिने छ मेरो मृत्युको कथा

तिम्रा आँखामा आँसुको सट्टा
प्रतिरोधको ज्वाला नबगेसम्म
तुइन चुडिरहने छ च्वाट्टच्वाट्ट
बगिरहने छ कालीमा निर्दोष मान्छेको मृत्यु
सान्नानी !
शोकधुनको कुनै अर्थ छैन
नबजाऊ मेरो मृत्युमा शोकधुन
बरू फुक विद्रोहको शंख
र ब्युँझाऊ
सुतेको समाज
मरेको सरकार

मौन मान्छेहरू
जिन्दगीको कुनै भर छैन सान्नानी
फेरि पनि च्वाट्टै चुड्न सक्छ तुइन

मर्न सक्छ मजस्तै निर्दोष मान्छे


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको