१० आश्विन २०७८, आईतवार

दैलेखको गर्भमा हामी कहाँ छौ ?



हाउडी व्याउली र महाबुको
दुख्दैन घाऊ किन ?
किनकी
उसले प्रशस्त विवेक बोकेको छ
छातीभरी !
बरु दुख्छन हातगोडा
उसको छातीमा कुल्चनेहरूको सधैं ।

भैरवीका छ्चल्किने आँसुहरू
निन्द्रामा पनि बगिरहेकैछन्,
उसको रफ्तारमा
छैन सहानुभुति कसैको पनि ।

द्वारी र छड्थानका छहराहरू
सुसेली रहेकैछन्
तिनलाई
न निन्द्राको पीर छ
न त भोकको ।

ठिङ्ग उभिएका कुइकाना र
भुर्तिका पञ्च देवलहरू
घाँस पराल राख्ने टौवा बने पनि
धुलो कसिङ्गर र कुरुपसँग
हातेमालो गर्दै
विवशता र बाध्यताको जिन्दगी जस्तै
इतिहासलाई
सरापी त रहेका हुनन ।

सतीदेवीको अङ्ग पतन भएका
पञ्चकोशीहरू
धुलो क्षितिजमा छर्दै
पानी माथि आगोको राँको बाल्दै
आँफै महादेव तल्लो डुङ्गेश्वरमा
उत्तानो परेको
असीम वेदना र पीँडा
कसले पो बुझेको छ र ?

नेपाली भाषाको शिला स्तम्भ दुल्लुमा
आँसी र बञ्चराले
धार लगाइरहँदा
भोली भैंसी बाध्ने
खाँबो बन्न सक्ने
उसको नियतिलाई
रोक्ने छेक्ने
पुस्ताको खडेरी पर्दै गयो भने
कीर्तिखम्बको यात्रा अवसानमा
उसलाई के पो पीर पर्ला र ?

पानी अविरल बगिरहेछ कर्णालीमा
निर्मल र धमिलो हुँदै
कहीँ वस्ती र
खेतमा रमाइरहेछ
मत्ता हात्ती झैं
कुलो र पनालो छैन
उसको शब्दकोषमा ।

माछा र ठण्डा पानीको
पर्याय मात्र बनेको मातमा
कर्णाली
बस्ती उज्यालो पार्ने दम्भको
दुःख छैन कत्ति पनि ।

लोहोरे रामागाड छामघाट
कानेगाड र खुनगाडहरू
धर्सिएकै त छन बेस्सरी
न तिनलाई खानको चिन्ता छ
न त लगाउनको
बरु तिनलाई
एउटै होला पीर,
कोहिले बिजुली बाल्ला कि ?
भन्ने मात्र ।

कर्णाली लोहोरे छामघाट कानेगाड र रामागाड
कुल्चने राज्मार्गहरू
गाउँ बस्ती छिचोल्दै,
धुवाँ धुलो उडाउँदै
सेती र भेरी जोड्ने पुल
राकम कर्णालीमा
बनिरहेको वेला
धुलो धुवाँरहित्
कालोपत्रे बनि हाल्छ कि ? भन्ने
कुन्ठा पालेका छन् कि त अब ?

यसैले अब त,
दैलेखका संस्कार संस्कृति र
संरचनामा लुकेका अनगिन्ति
यी अवयवहरू
धार्मिक सामाजिक पर्यटन र
पूर्वाधार विकासका लागि
कोही कसैले प्रयोग गरिदेला कि ? भन्ने
दैलेखको गर्भमा रहेका
अनगिन्ति वैभवहरूले
अब पीर मान्नु पर्ने पो
हो कि त ?

(कवि माझी नेपाल सरकारको अधिकृत पदबाट सेवा निवृत्त कर्मचारी तथा कर्णाली क्षेत्रको लोक संस्कृतिको अगुवा हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको