कार्यकाल सकिन १ दिन बाँकी, अर्थमन्त्री खतिवडाले दिए राजिनामा
१९ भाद्र, काठमाडौं । कार्यकाल सकिन १ दिन बाँकी रहदा अर्थमन्त्री युवराज खतिवडाले राजिनामा दिएका छन् । मुख्यसचिवमार्फत् प्रधानमन्त्री केपी ओलीलाई खतिवडाले शुक्रबार राजिनामा पठाएका हुन् ।
मन्त्रिपरिषदको बैठकमा आजै खतिवडाले राजिनामा दिने जानकारी गराइसकेका थिए । उक्त बैठकमा उनले कार्यकालभरी आफूले गरेका कामबारे समेत करिब १ घण्टा जानकारी गराएका थिए ।
अर्थ र सञ्चार मन्त्रालयका कर्मचारीहरूसँग बिदा भएर बालुवाटार गएका खतिवडा आजै मन्त्री निवास छोडेर निजि निवास सरेको प्रेस संयोजक यमन पौडेलले जानकारी गराए ।
खतिवडाको २ वर्षे कार्यकाल फागुन २० मा सकिएपनि मन्त्री परिषदले कार्यकाल थप गरेको थियो । संघीय सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने संवैधानिक प्रावधान भएकाले उनले राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई नै पुनः दोहोर्याउन कोशिष गरेका थिए । तर नेकपा सचिवालयका बहुमत सदस्यहरू उपाध्यक्ष वामदेव गौतमका पक्षमा देखिएपछि ओलिले नै सचिवालयमा राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमको नाम प्रस्ताव गरेका थिए ।