३१ आश्विन २०७८, आईतवार

अधुरो प्रेम


रामकृष्ण आचार्य ‘विशेष्य’
१४ श्रावण २०७८, बिहीबार

असोजमा छामघाट खोला आफ्नै गतिमा बगिरहेको थियो सुसाउँदै सुसाउँदै । साँझको पाँच बजेको थियो । आकाश र म चुप्रा बजारबाट अगाडि बढ्यौँ । छामघाट खोला तर्न थाल्यौँ हात समातेर । काइ लागेकाले छामघाटका ढुङ्गा चिप्ला थिए । पानी तीव्र गतिमा बगिरहेको थियो । उसले हामीलाई बगाउन खोज्यो । खोला तर्दै थियौँ खोलाको बीचमा पुग्दा आकाशले मलाई अँगालो मा¥यो र भन्यो, “ म बग्न लागेँ, मलाई बचाऊ ।” मलाई पनि छामघाटले बगाउन खोजिहेको थियो । कम्मर डुबाएर पानी छातीसम्म आइपुगेको थियो । आकाशलाई मैले जसरी तसरी खोला पारि पु¥याएँ । आफू पनि पुगेँ । हामीले शरीरमा लगाएका कपडा पूरै भिजेका थिए । भिजेका कपडा फुकाल्यौँ । छामघाटको बगरमा बसेर अरू कपडा लगायौँ । भिजेको पाइन्टको गोजीबाट आकाशले भिजेको कागज निकाल्यो ।

मितिः २०६३/११/०१
प्रिय आकाश,
सप्रेम सम्झना ।

घाइते तुल्याइएको यो अभागी मित्रको तर्फबाट अटुट माया केवल तिमीलाई मात्र । म तिम्रो प्रेममा तड्पिरहेकी तिम्रो प्रेम पाउन असफल मान्छेबाट । मेरो सहाराहीन जीवन भए पनि तिम्रो सहाराको जीवन सधैँ फुलिरहोस् । गुलाफ जस्तो फक्रिएको जीवनमा सधैँभरि सुख नै सुख छाओस् । तिम्रो सुखद जीवनका लागि यो दुःखी र अभागीको हार्दिक बधाई एवम् शुभकामना । तिमीले मलाई लत्याइसकेका छौ । तिम्रो व्यक्तिगत जीवनको शुभकामना दिने अधिकार मलाई छैन । त्यो अधिकारको परिधिलाई तोडेर ओइलिएको जीवनभित्र लुकेर बसेका वेदनाका भावलाई सकी नसकी खुम्चिएका औँलाहरू चलाएर मनलाई हलुङ्गो पार्न खोजेकी छु पत्र कोरेर ।

प्रिय, यो पत्र लेख्दा आँखाबाट झरनासरी आँसु बगेका छन् । केही कुरा गुमाउँदा केही कुरा पाउनु पर्ने हो तर पाउन चाहिँ केही सकिनँ । तिमीलाई सुख, शान्ति मिलोस् । खण्डित मलाई जे जस्तो भए पनि ।

तिमी परिवर्तन भइसकेछौ आफ्नो नयाँ जीवनको सुरुवात गर्नलाई । मलाई थाहा भएन तिमी यस्तो मान्छे रहेछौ भन्ने । थाहा पाएपछि त प्रियको शब्दले नसिगार्नु पर्ने हो तर के गर्ने ? भइसकेको प्रेम छुटाउन साह्रै गाह्रो र कष्टकर हुँदो रहेछ । त्यसैले तिम्रो तरेली नयनमा हाजिर हुन विवश छु । प्रिय पत्र पाउँदा पनि अब त तिमीलाई रिस उठ्ला, क्षमाको भीख माग्छु । भिखारीलाई मानवीय नाताले अवश्य भीख दिन्छौ होला नि ।
तिमी र म बीच भएको प्रेमालाप झन् पछि झन् मेरो आँखा अगाडि घुमिरहेको छ । मैले तिमीलाई बुझेर वा नबुझेर धोकेबाज नभनी प्रियको संज्ञा दिएकी छु । मैले तिमीलाई पहिले पनि माया गरेकी थिएँ । अहिले पनि माया गरेकी छु । भोलि पनि माया गर्न चाहन्छु ।

मित्र, यस जुनीमा तिमीले अब रोज्ने मानिससँग माया ममता बढ्दै जाओस् । अर्को जुनी यदि हुँदो रहेछ भने त्यस जुनीमा तिम्रो माया पाउने आशा लिएकी छु । सधैँसधैँ तिमीलाई माया गरिरहनेछु । तिमीले मलाई माया गर या नगर त्यो त तिम्रो अधिकारको कुरा हो । मलाई थाहा छ । मायाको त के कुरा तिमीले मलाई फुटेका आँखाले पनि हेर्न चाहदैनौ । बरु यसको बदलामा तिमीले मलाई घृणाको सागरमा चुर्लुम्म डुबाएर नाना थरीका अपशब्दले गाली गर्नेछौ, जसबाट तिमीलाई पूर्ण रूपमा शान्ति मिल्नेछ ।

तिमीले मलाई बिर्सिएर टाढा भए पनि युगौँ युगसम्म नबिर्सिने कसम खाएको सम्झिरहेकी छु । कहिल्यै बिर्सिने पनि छैन । मेरो एउटा इच्छा एउटै उद्देश्य थियो तिमीलाई पाउने । तिमीलाई पाउन नसकेपछि बाँच्नुको के अर्थ छ र ?

विश्वासको भरमा अडेको यस संसारमा कसैलाई विश्वास गर्नु ठूलो गल्ती हुँदो रहेछ । यात्रालाई सहज तरिकाले पूरा गर्न एउटा लौरीको सहारा लिँदा के थाहा थियो र ? यात्राको सुरुवात नहुँदै त्यही लौरी भाँचिौर जन्म र मृत्युको दोसाँधमा पुगिन्छ भन्ने । मरणासन्न हुने अवस्थामा यसरी भारी जीवन जिउनुपर्छ भनेर ।

साथी सुख, दुःखको जञ्जिरमा जीवनको एक किनारा खोला वारि र अर्को खोला पारि भइदिए । सुनौलो भविष्यको चाहनामा हाँस्न खोज्दा नयनभरि आँसु भरिए । बिहानीको उज्यालो क्षितिजमा कुहिरोको घुम्टो ओढेर भौतारिदै हिँडिरहेकी छु ।

आफूले सजाएका सुन्दर सपना एकाएक सिसासरी फुट्दा कसको मन दुख्दैन र ? कोसिस कहिल्यै गरेनौ तिमीले मेरो मन बुझ्ने । पु¥यायौ चोट चाहनामाथि । यस्तो लाग्छ चाहना फेरि अब मौलाउदैनन् । फक्रिन नपाउँदै ओइलिए आँकुराहरू ।

तिम्रो आभास पाउन मेरा सुकोमल हात तिमी सामु थाप्नु ठूलो मूर्खता भइदियो । मित्रताको लागि तिमीले गरेको प्रयासलाई निरन्तरता दिनु पनि गल्ती मेरै भयो हैन ? हो मलाई थाहा छ; तिमी विज्ञ छौ अनि म भन्दा धेरै बुझेको पनि । तिमी सहरिया, म परेँ गाउँले । मेरो के महŒव छ र ? न त रूप नै, न त धन नै, न त जागिर नै । बगरको ढुङ्गाजस्तै मूल्यहीन । धन नभए पनि मसँग मन त थियो नि ।

यदि धोका दिनु थियो भने पहिले नै मसँग प्रेम नगरेको भए पनि त हुन्थ्यो । यसरी घर न घाटको बनाएर छोड्नु थियो भने । मेरो जीवनमा खेलवाड गरी छिनछिनमा बदलिरह्यौ छेपारोले रङ फेरेझँै । झुटो रहेछ तिम्रो माया । सोचाइ पनि गलत । भनेका कुरा वनावटी मात्र । मञ्चन गर्यौ नाटक केवल मेरो मासुको लागि । खोस्यौ मेरो नारी सतीत्वलाई । म कहिल्यै बिर्सिन सक्ने छैन ती तिम्रा क्रियाकलापलाई ।

जसलाई विश्वास गरेर आफ्नो सम्झिएँ । शरीर सुम्पिएँ । उही टाढा भयो नाटकीय ढङ्गले । देहको मिलन सम्भव भए पनि असम्भव भयो दुई आत्माको मिलन । बर्बाद पारेर गयौ मेरो जीवन । तिमी त आफैमा पूर्ण छौ । हरेक चुनौतीको सामना गर्न सक्छौ । म भन्दा विश्वासिली, सुन्दरी, धनी र स्तर मिल्ने अरू कोही पाउछौ । अब तिमीलाई मेरो आवश्यकता पर्ने छैन; गरिसक्यौ आफ्नो स्वार्थ पूरा ।

पाउनु मात्र प्रेम नभएर गुमाउनु पनि प्रेम रहेछ साथी । लेख्नु पर्ने त धेरै थियो । मेरा झ्याउरे शब्दले अनेक अर्थ लगाउन सक्लान त्यसका लागि क्षमाप्रार्थी छु ।

तिम्रो जीवन फलोस् फुलोस् सहज रूपमा अगाडि बढोस् यही कामना । कही कतै भेट भएमा रिसालु आँखाले भए पनि मतिर नजर लगाएर मुसुक्क हाँसिदिनू । तिमी सफलताको शिखर चुम्न सफल भए यही मेरो चाहना । यस जुनीमा तिमीलाई पाउन नसके पनि अर्को जुनीमा तिमीलाई पाउने आशा लिएर तिमीबाट सदा सदाका लागि टाढा………टाढा……….बिदा………. ।

उही तिम्री अति घृणित साथी
स्मृति

“धौलागिरिकी स्मृतिसँग मेरो भेट बागमतीमा भयो । त्यहीँ माया ममता बढ्यो । प्रेम उत्कर्षमा पुग्यो । के गर्ने ? भने जस्तो भएन । स्मृति धौलागिरिझैँ अटल रही । मैले आफ्नो धार परिवर्तन गरेँ भेरीझैँ । आज म बगेको भए मेरो प्रेमको निशानी यो पत्र पनि बग्ने थियो ।” आकाशले भन्यो ।

“आफू नै बगेपछि प्रेमपत्रको के काम ?” मैले भने ।

“सँगै हुँदा उसको मायालाई चिन्न सकिनँ । अहिले टाढा हुँदा मायाको महŒव बुझेको थिएँ, तर बुझेर के गर्ने ? बाघ गयो बुद्धि आयो भनेझैँ भएको छ । उसले अर्कै बाटो रोजिसकेकी छ । झस्काइरहन्छ उसको मायाले सधैँभरि ।” आँसु पुछ्यो आकाशले ।

आकाशले फेरि भन्यो, “म पखेटा काटिएको चरी जस्तै भएको छु । सम्झाइदियो यो प्रेमपत्रले मेरो विगतलाई । छर्किदियो निको नभएको घाउमा नुन चुक ।” बस्यो खोली किनारमा । सुस्केरा हाल्यो । रोयो केहीबेर । पुछिदिएँ मैले आँसु । मुख धोयो । पानी खायो खोलाको, अञ्जुली थापेर । दिएँ सल्लाह विगतलाई बिर्सिएर सुनौलो भविष्यका लागि अगाडि बढ्ने ।

आचार्य आदिबिम्ब (राउटे बस्तीका कथा) कथासङ्ग्रहका लेखक हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको