३ आश्विन २०८०, बुधबार

ललितपुरमा राति १० बजेसम्म कर्फ्यु, सडकमै मच्छिन्द्रनाथको क्षमा पूजा गरियो



१९ भाद्र, काठमाडौं । ललितपुरको रिङरोड क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश लागु गरेको छ । निषेधाज्ञालाई उल्लङ्घन गर्दै बिहिबार स्थानीय गुठियारहरूले मच्छिन्द्रनाथको रथ तानेपछि तनावग्रस्त बनेको ललितपुर क्षेत्रमा शुक्रबार राति १० बजेसम्म कर्फ्यु लागु गरिएको हो ।

एकाएक असामान्य बनेको स्थितिलाई सामान्य बनाउन ज्यापु समाज, गुठी संस्थान र जिल्ला प्रशासन कार्यालय लगायतका प्रतिनिधिहरू सम्मिलित बैठकले छोटो विधिबाट रथयात्रा गर्ने सहमति गरेको छ ।

सोही अनुरूप कर्फ्युकाबीच पनि पुल्चोकमा सिमित मान्छेहरू जम्मा भएर रातो मच्छिन्द्रको क्षमा पूजा गरिएको छ । बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार शुक्रबार क्षमा पूजा गर्ने र ज्योतिसहरूको सल्लाहमा छोटो बिधिबाट मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको छ । उनले भने, ‘भदौ २२ गते ज्योतिषले शुभ साइत हेरेपछि मच्छिन्द्रनाथलाई सिधै बुङ्मती लगिनेछ ।’

मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएको चौंथो दिन जाउलाखेलमा भोटो देखाउने प्रचालन भएपनि यसपालि भोटो नदेखाइने भएको छ । छोटो प्रक्रियाबाट रथलाई बुङ्मती पुर्याउने सहमति भएसँगै बीचका सबै प्रक्रियाहरू स्वत स्थगित भएको प्रवक्ता थपलियाले बताए ।

पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्याएर गुरूपूजा गर्ने, दोस्रो दिन मंगलबजार पुर्याएर पूजा र तेस्रो दिन मंगलबजारबाट सुन्धार पुर्याएर बाराही पूजा गरी सुन्धाराबाट लगनखेल पुर्याएर उपयुक्त दिनमा महाबली दिने परम्परागत विधि रहदै आएको छ ।

कोरोना महामारीका कारण छोटो विधिबाट मच्छिन्द्रनाथको पूजाआजा टुङ्ग्याउने सहमति भएसँगै बीचका सबै कार्यक्रमहरू स्थगित भएका छन् । उपत्यकामा दुई साता अघिदेखि चलिरहेको निषेधाज्ञा र त्यसमाथिको कर्फ्युुले आज ललितपुर पूणतः शुन्य प्राय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको