३१ आश्विन २०७८, आईतवार

अर्थमन्त्री जनार्दन शर्मासँग कर्णालीका अपेक्षा



१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग आम जनताको धेरै अपेक्षाहरू छन् । विशेषतः उनी उर्जामन्त्री हुँदा गरिएको लोडसेडिङ् अन्त्यलाई मानिसहरू सम्झिन्छन् । कुलमान घिसिङको क्षमतालाई प्रयोग गरी उज्यालो अभियान सफल बनाएका शर्मा आफू सफल हुन ट्यालेन्ट्सहरूलाई सदुपयोग गर्न खप्पिस मानिन्छन् । गृहमन्त्री हुँदा पनि उनले गृह प्रशासन र सुशासनका लागि केही कदम चालेका थिए । यो पटक अर्थमन्त्री हुँदा सुरूकै दिनमा कोरोना केन्द्रित फाइलहरूमा साइन गरेर आफु तुरून्त एक्सनमा जाने नेताको रूपमा देखाउन खोजेका छन् ।

शर्माले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पनि विवादरहित बलियो नेताका रूपमा उभ्याएका छन् । नेकपा विभाजन पश्चात् विशाल जनउपस्थितिबाट प्रचण्ड उत्साहित भएका थिए । नेकपा माओवादी केन्द्रमा देखिन सक्न निराशालाई मध्यनजर गरी प्रचण्डले शर्मालाई अर्थमन्त्रीमा पठाएको देखिन्छ ।

अर्थमन्त्रीका रूपमा शर्माले ल्याउने पुरक बजेट कस्तो रहला भन्ने जिज्ञासाको विषय बनेको छ । सायद अघिल्लो बजेटमा रहेका केही सकारात्मक विषयहरूलाई उनले निरन्तरता दिनेछन् ।

अर्थमन्त्री जनार्दन शर्माका बारेमा कर्णाली प्रदेशले सबैभन्दा बढी अपेक्षा गरेको छ । उनी कर्णाली प्रदेशबाट संघिय सरकारको अर्थमन्त्रीको जिम्मेवारी पाउने पहिलो नेता पनि हुन् । कर्णाली करिडोर र भेरी करिडोर र केही महत्वपूर्ण ऊर्जा परियोजनाहरू उनका समयमा अगाडी बढ्ने अपेक्षा गरिएको छ ।

सबैभन्दा पछाडी परेको कर्णाली प्रदेशमा पूर्वाधार र उर्जामा आधारित केही रूपान्तरकारी परियोजनाहरू उनले अगि बढाउन सकेमा त्यसले पश्चिम नेपाल र कर्णाली मात्र होइन नेपाल परिवर्तन हुँदैछ भन्ने बलियो सन्देश दिनेछ । कर्णाली प्रदेशका रूपान्तरकारी परियोजनाका लागि छुट्याइने यस्तो बजेटलाई आम नेपाली जनताले स्वाभाविक र न्यायोचित नै ठान्नेछन् ।

अर्थमन्त्री शर्माले सबैभन्दा बढी ध्यान दिनु पर्ने परियोजना जमुना बीरेन्द्रनगर हिल्सा फास्ट ट्रयाक हो । कैलाश मानसरोवर दक्षिण एसिया हुँदै मध्य एसियासम्म जोड्ने परम्परागत रेशम मार्गको शाखाका रूपमा परिचित यो मार्ग पश्चिम नेपालकै (कर्णाली, सुदुर पश्चिम र लुम्बिनी) आम रूपान्तरणकारी समृद्धि मार्ग हो ।

कर्णाली प्रदेश सरकारले पनि यस योजनालाई आम रूपान्तरणकारी परियोजनाका रूपमा अघि बढाउन केन्द्र सरकारसँग निरन्तर माग गर्दै आएको छ । यस परियोजनालाई नेपालकै विशेष परियोजनाका रूपमा अगि बढाउन प्रधानमन्त्री देउवा दाहिने नै बन्नेछन् । उनले यसलाई संघिय सरकारको विशेष बजेटबाट होस् या बैदेशिक सहकार्यमार्फत् अघि बढाउन सकेमा देउवाले पश्चिम नेपालको विकासका लागि जस लिन सक्नेछन् भने अर्थमन्त्री शर्मा पश्चिम नेपालबाट एक सम्भावित नयाँ नेताको रूपमा उदय हुने बाटो खुल्ला हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको