१ आश्विन २०७८, शुक्रबार

चिउँडी साँघु अर्थात् राजारानी पुल



देशले गणतन्त्र पाए पछि कतिपय राजारानीका सालिक नव गणतन्त्रवादीको निशानामा परे पनि एउटा दुर्गम गाउँमा भने एउटा काठे पुलमा राजारानीको सालिक ठिङ्ग उभिएको छ ।

सबै पुलहरू बिशेषता बोकेका हुदैनन् । तर कुनै कुनै पुल भने विश्वमा नै बिशेष रूपले चिनिने हुन्छन् । देशले गणतन्त्र पाए पछि कतिपय राजारानीका सालिक नव गणतन्त्रवादीको निशानामा परे पनि एउटा दुर्गम गाउँमा भने एउटा काठे पुलमा राजारानीको सालिक ठिङ्ग उभिएको छ । यो पुलमा राजारानीको काठको सालिक मात्र होइन राजारानीलाई सुरक्षा दिने सुरक्षाकर्मीको पनि सालिक बनाइएको छ । शायद यिनै सुरक्षाकर्मीको सुरक्षाले होला गणतन्त्रको आगमनले देशका बिभिन्न क्षेत्रका राजारानीका सालिक ध्वस्त भएपनि यि सालिक भने ध्वस्त हुन पाएनन् ।

जुम्ला जिल्लाको पश्चिममा रहेको हिमा गाउँपालिकामा रहेको तिला नदीमा रहेको पुलमा राजारानीको मुर्ती कुँडिएको छ । हिमा गाउँपालिका गठन पूर्व यो ठाउँ महावैपाथरखोला गाविसमा रहेको थियो । हुन त जुम्लाका पुलहरूमा काष्ठकलाका नमुनाहरू प्राय भेटिन्छ । यहाँ पुलहरूमा मात्र होइन घरका लिस्नोहरूमा पनि काठका कला देख्न सकिन्छ । जुम्लाको बिशेषता नै काष्ठकलामा देख्न सक्छौं । प्राचिन मुर्तिहरू पनि काष्ठकलाका नमुनाको रूपमा देख्न पाइन्छ ।

जुम्लाको हिमा नदीमा रहेको यो काठेसाँघु चिउँडी साँघुको रुपमा प्रख्यात थियो । महाबैपाथरखोला गाउँबाट रारालिही गाउँ जोड्ने सडकमा रहेको यो साँघु चिउँडीमा रहेको हुँदा चिउडी साँघु भनिन्थ्यो । २०५७ सालको फागुनमा गाउँलेको भेलाले यस साँघुमा केही बिशेषता झल्काउने उद्देश्य स्वरुपमा राजारानीको काठको मुर्ति बनाउने निर्णय भएको थियो ।

फागुनमा निर्णय भए पछि स्थानीय कालीबहादुर तिरुवाले मुर्ति बनाउने जिम्मा पाए । एकातर्फ काँचो काठमा मुर्ति कुद्नु निकै कठिन कार्य थियो भने अर्को तर्फ माओवादी आन्दोलनको उत्कर्षमा राजारानीको मुर्ति बनाउने आँट गर्नु मुर्ख्याइ पनि थियो । चार महिना लाग्यो सगोल मुर्ति तैयार बनाउन । राजारानी तथा सुरक्षाकर्मी सहितको मुर्ति तैयार हुँदा २०५८ सालको जेठ महिना भयो । पुलमा सालिक ठड्याउने निर्णय भएपछि सबै तयारी तर्फ लागे । यहिँ समय माओवादीको २०–२५ जनाको समुह तिरुवाको घर आइपुग्यो ।

आरन चलाउने कामी, काली तिरुवाले गाउँमा आवश्यक सबै मुर्ति बनाउथेँ । भुन्या देउता, लाटीबजु, मर्काट्टा सबै बनाउँथे । यहाँ राजारानीको मुर्ति पनि सबैका चाहनाले बनाएका थिए । माओवादीको समुहले काली तिरुवालाई समाएर लग्यो । उनलाई कमाण्डर सामु लगेर निकै सोधपुछ गरियो । जनकारवाही गरिने भन्दै लगिए पनि अन्तमा हाम्रो सत्ता आए पछि हाम्रो काम पनि गरिदिनुपर्छ भन्दै छोडिदिए । उनलाई कुनै कारवाही गरिएन ।

यता राजारानी तथा सुरक्षाकर्मीको मुर्ती पुलमा राख्ने तयारी हुदै थियो । उता राजधानीमा राजपरिवारको हत्या भयो । राजारानीको हत्या भए पनि गाउँलेले राजारानीको सालिक राख्ने नै निधो गरे । तिरुवाको कला ठडियो । राजधानीमा ढलेका राजारानी चिउडी साघुँमा ठडिए ।

यता राजारानी तथा सुरक्षाकर्मीको मुर्ती पुलमा राख्ने तयारी हुदै थियो । उता राजधानीमा राजपरिवारको हत्या भयो । राजारानीको हत्या भए पनि गाउँलेले राजारानीको सालिक राख्ने नै निधो गरे । तिरुवाको कला ठडियो । राजधानीमा ढलेका राजारानी चिउडी साघुँमा ठडिए । राजारानी प्रतिको आस्था चिउडीका गाउँलेमा अझ बढि भयो । वास्तविक राजारानीले संसार छोडेर गए तर चिउडीका राजारानी सधैका लागी ठडिए ।

यहाँ राखिएको तस्विरमा पुल पुरानै भए पनि यसमा राखिएको काठको मुर्तिहरू मात्र नयाँ हुन् । यी मुर्तिहरू २०५८ सालमा राखिएका हुन् ।

(सुनिल उलाकको फेसबुकबाट)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको