१० आश्विन २०७८, आईतवार

राजकुमार ह्यारीले पुस्तक लेखेवापत २९ मिलियन पाउण्ड पाउने



११ साउन, काठमाडौं । राजकुमार ह्यारीले चार पुस्तकका लागि २९ मिलियन पाउन्ड अर्थात् लगभग चार करोड डलर पाउने भएका छन् । ती चार पुस्तकमध्ये एउटा पुस्तक भने तयार भइसकेको र अर्को एक पुस्तक भने महारानी एलिजाबेथ द्वितीयाको निधनपछि मात्र प्रकाशन हुने कुरा बताइएको छ ।

तेस्रो पुस्तक राजकुमार ह्यारीकी पत्नी मेगन मर्केलले ‘वेलनेस’ (स्वस्थ जीवनशैली) माथि लेख्ने तय भएको र चौथो पुस्तकका बारे भने कुनै नयाँ जानकारी गराइएको छैन । ३६ वर्षे राजकुमारको पहिलो पुस्तक तयार हुन झण्डै एक वर्ष लाग्यो । यसका लागि उनले पुरस्कार विजेता गोस्टराइटर जेआर मोएरिङ्गरसँग काम गरिरहेका थिए ।

ह्यारीले भनेका छन्, ‘यो आत्मकथा मैले राजकुमारका रूपमा लिएको जन्मका रूपमा होइन, म मानिस कसरी बनेँ भन्ने विषयमा हो । मैले यत्तिका वर्षमा विभिन्न किसिमको भूमिका निभाएँ । ती भूमिकामा मेरो उन्नति र अवनतिका दिन, मेरा गल्ती र कमजोरी तथा यसबाट मैले सिकेका पाठहरूका बारेमा उल्लेख हुनेछ ।’

उनले आफू राजकुमार भए पनि अरू सामान्य मानिसभन्दा कुनै फरक नभएको बताएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेसिटोमा सुविधासम्पन्न घर किनेर बसिरहेका हयारीले आफ्नो पहिलो पुस्तक डाक बढाबढमा राखेका थिए । सुरुवातको मूल्य नै उनले १ करोड १० लाख तोकेका थिए ।

यसअघि यो घर किन्नका लागि उनले नेटफ्लिक्सका लागि डकुमेन्ट्री बनाउने सम्झौता गरेका उनले स्पोटिफाई नामक अडियो स्ट्रिमिङ कम्पनीसँग पनि मोटो रकम लिएका थिए । ह्यारीका पुस्तकहरू प्रकाशन गर्न भनेर बेलायतबाट दुई प्रकाशक उनलाई भेट्न गएका थिए भने अन्यसँग भने उनले भिडियो कलमार्फत् डाक बढाबढको काम हेरेका थिए ।

उनले आफ्नो पुस्तक कम्तीमा पनि १ करोड ८० लाखमा बिक्री गर्न चाहेका भए पनि डाक बढाबढमा कुरा मिल्न नसकेको बताए । अन्ततः पेइन्गुइन रेन्डम हाउस प्रकाशकले यो डाक बढाबढमा बाजी मारेको थियो । उनको पुस्तक आउँदो वर्ष बजारमा आउने अपेक्षा गरिएको छ ।

पुस्तकबाट आएको केही रकम भने राजकुमार ह्यारीको समाजसेवी संस्थालाई दान दिइने बताइएको छ । यही पहिलो पुस्तकको दोस्रो भाग दरबारमा भएको तिक्ततापूर्ण सम्बन्धका बारेमा लेखिने भएकाले हजुरआमाका लागि पीडादायी हुनसक्ने भएकाले एलिजाबेथको निधनसम्म दोस्रो पुस्तक ननिकाल्न सम्झौता गरेका छन् ।

यसअघि नै मेघन मर्केलको बालपुस्तक द बेन्च बजारमा आइसकेको छ र सो पुस्तकले न्यु योर्क टाइम्स बेस्टसेलरको सूचीमा स्थान ओगटिसकेको छ । यस हिसाबले ह्यारीको सन् २०२२ मा निस्कने पुस्तक बेस्ट सेलर हुने लोभका कारण थप पुस्तकहरू लेख्ने शर्तमा २९ मिलियन पाउण्ड तिर्न प्रकाशक राजी भएको बताइएको छ ।

किताबको डाक बढाबढमा भाग लिएका प्रकाशकहरूले राजकुमार ह्यारी पैसाको मामिलामा निकै कडा देखिएको र उनी लिने भए लेऊ नत्र बाटो तताऊ शैलीमा प्रस्तुत भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको