१ आश्विन २०७८, शुक्रबार

संसदीय समितिमै एमाले सांसदहरूबीच भनाभन




१० साउन, काठमाडौं । विवादै विवादमा फसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद नारदमुनि रानाबीच आइतवार संसदीय समितिको बैठकमै भनाभन भएको छ । सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एमालेको विवाद छताछुल्ल भएको हो ।

नेकपा एमालेको विवाद संसदीय समितिमा पनि देखिन थालेको छ । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेभित्रको विवादको असर छताछुल्ल भएको हो ।

समितिको बैठकमा ओलीनिकट सांसद नारदमुनि रानालाई सत्ता गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनको मतियार भनेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रानाले नेपालप्रति लक्षित गर्दै आफ्नै पार्टीको सरकार ढाल्ने काममा संलग्न भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । जनताबाट निर्वाचित भएर आउनुपर्ने प्रतिनिधिसभा अदालतको परमादेशबाट पुनर्स्थापित भएको भन्दै उनले अदालतको फैसलाप्रति विरोध जनाएका थिए ।

त्यसपछि नेता माधवकुमार नेपालले उनीप्रति प्रतिगमनको मतियार भन्दै आक्रोश व्यक्त गरे । उनले रानालाई राजीनामा दिन भनेका छन् । ‘प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस्, राजीनामा दिएर निस्कनुस्,’ नेता नेपालले भने ।

रानाले आफ्ना भनाइ राख्ने क्रममा नेता नेपालतर्फ पनि उनले हेर्ने गरेका थिए । त्यही क्रममा रानाले संसद विघटनको जिम्मेवारी वरिष्ठ नेताहरुले पनि लिनुपर्ने भन्दै नेता नेपालतिर दोष थोपर्न खोजे । ‘दुई दुई पटक संसद विघटन गर्न बाध्य पार्नेहरूले वरिष्ठ नेताहरुले यसको जिम्मेवारी लिनुपर्छ,’ माधव नेपालतिर हेर्दै उनले भने,‘संसद विघटन राजनीतिक निर्णय हो । यो जिम्मेवारी वरिष्ठ नेताहरुले लिनैपर्छ ।’

उनले नेपाललाई अझै आक्रोशित बनाउने गरी एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा उनीहरु घरमा गएर सुतेको टिप्पणी गरे । ‘संसद चाहियो भनेर कराउने नेताहरु बैठक बस्दा बस्दै कहाँ गएर सुते ? आफ्नै पार्टी अध्यक्षले विश्वासको मत लिने बेला किन अनुपस्थित भए ? आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुत्ने अनि अहिले यस्ता कुरा गर्ने ?’

नारदमुनिले चिढ्याएपछि माधव पक्षीय सांसद दीपकप्रकाश भट्ट जंगिए । उनले आक्रोशित मुद्रामा सांसद रानालाई प्रतिगमनका मतियार भन्दै बाहिर जान चेतावनी दिए । ‘यो त अति भयो । प्रतिगमनका मतियारहरु बाहिर जानुस्’, उनले भने । भट्टसँगै नेता नेपाल पनि आक्रोशमा आए ।

‘जनादेश प्राप्त संसद दुई दुई पटक विघटन गर्ने अनि अहिले यहाँ यस्ता कुरा ? प्रतिगमनमा मतियारहरु बाहिर जानुस्’, सांसद भट्ट र नेता नेपालले नारदमुनितिर लक्षित गर्दै भने । रानामाथि नेपाल र भट्ट मात्रै खनिएनन् कांग्रेस सांसद पनि जाइलागे । कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले पनि रानमाथि आक्रोश पोखे । ‘तिमी प्रतिगमनका मतियार संसदमा के बोल्ने थाहा छैन ?’, उनले भने, ‘यो संसद र सरकार जनताले ल्याएको हो । प्रधानमन्त्रीलाई पनि जनताले बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको