३१ आश्विन २०७८, आईतवार

नेपालबाट पहिलो पटक ओलम्पिकमा ब्रिटिश सेनाबाट चार गोर्खा सैनिकले प्रतिनिधित्व गरेका थिए



बिबिसी । पहिलो नेपाली ओलम्पियन रामप्रसाद गुरुङले झन्डै ६ दशकअघि हङकङमा गोर्खा सैनिकका रूपमा काम गरिरहँदा सन् १९६४ को टोक्यो ओलिम्पिक्समा बक्सिङ खेलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

हाल चितवनको भरतपुरस्थित बरौजीमा अवकाशप्राप्त जीवन बिताइरहेका उनले आफ्नो रोमाञ्चक ओलिम्पिक सम्झना पाँच वर्षअघि बीबीसीलाई सुनाएका थिए ।

अहिले ७६ वर्ष पुगेका उनले यसपालिको टोक्यो ओलिम्पिकमा भाग लिइरहेका नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरेको आफूले हेर्न चाहेको बताए ।

उनले भने, ‘जसरी नेपालले साग खेलकुदमा पदकहरू जितेको छ र निक्कै नाम कमाएको छ त्यसरी नै जित्ने प्रयास गर्नुहोला । नेपालको झन्डामाथि गर्ने प्रयास गर्नुहोला भन्न चाहन्छु ।’

रामप्रसादसहित छ जना नेपाली खेलाडीले पहिलो पटक सन् १९६४ को अक्टोबरमा जापानको टोक्योमा आयोजित १८ औँ ओलिम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा ब्रिटिश सेनामा काम गरेका चार नेपाली खेलाडीले बक्सिङमा भाग लिन सोझै हङकङबाट टोक्यो पुगेका थिए ।

नेपालबाट भने दुई खेलाडी एथलेटिक्समा छनौट भएका थिए ।

टोक्यो ओलिम्पिक्स स्थलमा रहेको सुविधा सम्पन्न बक्सिङ अभ्यास स्थलबाट आफू आकर्षित भएको उनले बताए ।

उनले भने, ‘हामीसँग स्यान्डब्यागमा मुक्का हानेको मात्रै अनुभव थियो । तर टोक्योमा अभ्यास स्थलमा विभिन्न उपकरणहरू पनि थिए । त्यसमा हामीले पहिलो पटक अभ्यास गर्‍यौँ । अरू ओलिम्पिक्स खेलाडीसँग अभ्यास गरेको अझै सम्झना आउँछ ।’

ब्रिटिश सेनामा ४ वर्ष काम गरेर घर बिदामा आएका बेला एक दिन रामप्रसादलाई अकस्मात तुरुन्त पल्टनमा फर्कन सन्देश आयो ।

त्यसबेला उनी चितवनको गीतानगरस्थित आफ्नो घरमा परिवारले भर्खरै किनेको ट्याक्टर लिएर खेत जोत्ने काममा तल्लीन थिए ।

पल्टनमा गाडी चलाउन सिकेका उनलाई घरमा काम गर्न बसेका एकजना ‘भारतीय हवलदार’ले ट्याक्टर चलाउन सिकाइदिएका थिए ।

कुनै कारण उल्लेख नगरी फौजले बोलाएकाले त्यसको जवाफसमेत नपठाएका रामप्रसाद बिदा सकेर काठमाण्डू फर्कने बित्तिकै उनलाई तुरुन्तै पल्टनमा पठाइयो ।

त्यस बेलाको सम्झना गर्दै उनी भन्छन्, ‘फर्कँदा त पल्टनले मलाई ओलिम्पिक खेलका लागि छानिसकेको रहेछ, त्यहाँ पुगेर लुगा फेर्ने बित्तिकै मलाई सिधै तालिम गर्ने ठाउँमा लगियो ।’

हङकङमा सैनिकका रूपमा बक्सिङ खेल्ने गरेका गुरुङलाई ओलिम्पिक्समा भाग लिन जानुअघि त्यहाँको ‘ल्यान्ड फोर्सेस सिक्स गोर्खा राइफल्सले’ वर्षको उत्कृष्ट बक्सिङ खेलाडीको उपाधि दिएको थियो ।

रामप्रसादसँगै टोक्यो ओलम्पिक्समा ब्रिटिश सेनामा कार्यरत भीमबहादुर गुरुङ, नमसिंह थापा र ओमप्रसाद पुनले भाग लिएका थिए ।

हङकङबाट हर्क्युलिस भन्ने सैनिक सामाग्री बोक्ने विमानमा जापानको ओकिनावा हुँदै ओलम्पिक्स उनीहरू टोक्यो पुगेका थिए ।

उनले भने, ‘त्यतिबेला हङकङमा २४ घण्टामा राजमुकुटको चिन्हसहितको नेपाली कोट हाम्रा लागि तयार पारिएको थियो ।’

ओकिनावामा अमेरिकी फौजहरूसँग एक हप्ता बक्सिङ अभ्यास गरेको पनि उनले सम्झिए ।

ब्रिटिश फौजले नै नेपाली खेलकुद निकायसँग समन्वय गरी ओलिम्पिक्स खेल्ने व्यवस्थापन गरिदिएको रामप्रसाद बताउँछन् ।

जापानको टोक्यो पुगेपछि चारजना नेपाली मुक्केबाजहरूलाई अस्ट्रेलियाका फ्लाइवेट च्याम्पियन बक्सर विल्ली टिङ्गल र आयरल्यान्डका बक्सिङ खेलाडीहरूले प्रशिक्षण दिएका थिए ।

माटो भरिएका बोरामा मुक्का हानेर बक्सिङको प्रशिक्षण लिने गरेका चारै खेलाडीलाई नयाँ ठाउँ र त्यहाँका खेल सामग्री प्रयोग गरी तालिम गर्न गाह्रो भएको रामप्रसादले बताए ।

त्यसबेला ओलिम्पिक्सको उद्घाटन समारोहमा बक्सिङ खेलाडी नमसिंह थापाले नेपालको झण्डा समातेको र देशको झण्डा फहराएर रङ्गशालामा हिँड्दा निकै गर्व लागेको उनी सम्झन्छन् ।

चार नेपाली बक्सरमध्ये तीन जना पहिलो खेलमा नै पराजित भएका थिए भने ओमबहादुर पुन दोस्रो चरणमा पुगेका थिए ।

लाइटवेट समूहमा भिडेका रामप्रसादले सन् २०१६ मा बीबीसी नेपालीसँग कुरा गर्दै हंगेरीका बक्सरसँग पराजित भएको बताएका थिए ।

‘जोडदार मुक्का खाएको थिइनँ, पहिलो राउन्डमा भाग्ने र छल्ने अनि दोस्रो राउन्डमा आक्रमण गर्ने मेरो योजना थियो। तर मलाई केही नभइ रेफ्रीले खेल रोकिदिएपछि म हार्न पुगेँ,’ त्यो भिडन्तबारे उनले भनेका छन् ।

टोक्यो ओलिम्पिक्समा एथलेटिक्समा भाग लिएका दुई नेपाली एथलेटिक्स खेलाडीहरू गङ्गाबहादुर थापा र भूपेन्द्र सिलवालले पनि दौड पूरा गर्न सकेनन् ।

उनीहरू दौडिएको टीभीमार्फत् हेरेको बताउँदै रामप्रसादले खाली खुट्टा दौडँदा उनीहरूलाई चोट लागेको र जापानी महिलाहरूले उनीहरूको खुट्टामा पानी हालिदिएको उल्लेख गरे ।

पहिलो पटक ओलिम्पिक्समा भाग लिएपछि सिधै फौजमा फर्किएका उनले दोस्रो पटक पनि त्यस्तै मौका पाएदेखि राम्रो प्रदर्शन गर्ने अभिलाषा आफूले पालेका थिए ।

तर त्यस्तो मौका आउनुअघि नै सन् १९६६ बाट उनले बक्सिङ खेल्न छाडे ।

अन्तिम पटक ब्रुनाई मा त्यहाँका स्थानीय सैनिकहरूलाई बक्सिङको तालिम दिएका रामप्रसादले तिनीहरूसमेत सहभागी बक्सिङ प्रतियोगिता जितेका थिए ।

सन् १९९० मा क्याप्टेनका रूपमा ब्रिटिश सेनाबाट अवकाश पाउनुअघि बेलाबेला फुटबल, भलिबललगायत खेल खेले पनि सक्रिय रूपमा खेलकुदमा सहभागिता नजनाएको उनी बताउँछन् ।

ब्रिटिश सेनामा सिग्नल अर्थात् सञ्चार क्षेत्रमा काम गरेका उनले अवकाशपछिका सात वर्ष ब्रुनाई को फौजमा काम गरे ।

सन् १९९७ मा नेपाल फर्किएका उनी त्यसयता काठमाण्डू र चितवनस्थित घरमा बसिरहेका छन् ।

आफ्नी श्रीमतीसँगै उनले चितवनको झन्डै ८ बिघा जग्गामा खेतीपाती सम्हालिरहेको बीबीसीलाई बताएका थिए ।

खेतमा बर्सेनि धान, गहुँ, तोरी, मकैलगायतका बाली लगाउने गरे पनि आफूले हिसाब किताब हेर्ने र धेरै काम आफ्नी श्रीमतीले गर्ने उनी बताउँछन् ।

‘खेतीपातीको मसँग कुनै अनुभव थिएन त्यही भएर बक्सिङको रिङमा लड्नुभन्दा खेती सम्हाल्न मलाई कठिन लाग्यो,’ आफ्नो गाउँ पुगेका बीबीसी संवाददातासँग सन् २०१६मा उनले भनेका थिए । (यो सामग्री हामीले बिबिसी नेपाली सेवाबाट साभार गरेका हौं–सम्पादक)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको